
अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पाेरेसनको छोटकरी रूप हो, एमसिसी । यसअन्तर्गत अमेरिकी सरकारले नेपालजस्ता मुलुकहरूमा पूर्वाधार निर्माण गर्न अनुदान दिँदै आएको छ ।
नेपालले पनि सोही अनुदान लिएर प्रसारण लाइन तथा सडक मर्मत गर्ने गरी सेप्टेम्बर २०१७ मा अमेरिकासँग सम्झौता गरेको थियो । साथै, गत १५ फागुन (फेब्रुअरी २०२२) मा यो सम्झौता नेपालको संसद्बाट अनुमोदन भएको थियो ।
यसअन्तर्गत अमेरिकाले नेपाललाई ५० करोड डलर अनुदान दिनेछ । त्यसमा नेपालले १३ करोड डलर थप गरेर यसअन्तर्गतका परियोजनाहरू बनाउने सहमति छ । एमसिसीअन्तर्गत चार विद्युत् प्रसारण लाइन, न्यु बुटवल–गोरखपुर (१८ किमि), लप्सेफेदी–रातमाटे–न्यु हेटौँडा (११७ किमि), रातमाटे–न्यु दमौली (९० किमि), न्यु दमौली–न्यु बुटवल (९० किमि) गरी चार प्रसारण लाइन बन्नेछन् ।
यो प्रसारण लाइनको कुल लम्बाइ तीन सय १५ किलोमिटर हुनेछ भने आठ सय ५६ वटा टावर बन्नेछन् । यीसहित पूर्व–पश्चिम राजमार्गको ९९ किमि सडकखण्ड मर्मत गर्ने परियोजना पनि एमसिसीमा समावेश छन् ।