१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:४६:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सगरमाथा चौधरी आँखा अस्पतालको ४०औँ वार्षिकोत्सव

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:४६:oo

पौने सात लाख बिरामीको शल्यक्रिया, एक करोड १४ लाख जनाले पाए उज्यालो

सिराहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालबाट स्थापनाको ४०औँ वर्षको अवधिसम्ममा पौने सात लाख बिरामीको आँखाको शल्यक्रियासहित एक करोड १४ लाखभन्दा बढी बिरामीले उपचारपछि उज्यालो पाएका छन् ।

अस्पतालको ४०औँ वार्षिकोत्सव तथा नवनिर्मित ओपिडी भवनको उद्घाटनअन्तर्गत अस्पताल परिसरमा शनिबार आयोजित कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय सिंहले अस्पतालले स्थापनादेखि हालसम्म एक करोड १४ लाख आठ सय आँखाको बिरामीको उपचार र ६ लाख ६७ हजार जनाको आँखाको शल्यक्रिया गरिएको जानकारी दिए । 

मे.सु. सिंहका अनुसार सन् २०२२ मा पाँच लाख ५७ हजार ६ सय ६२ जनाको आँखाको उपचार र ६० हजार आठ सय आठजनाको शल्यक्रिया गरिएको छ जुन ४० वर्षको अवधिमा सबैभन्दा बढी हो । 

नेपाल नेत्रज्योति संघको सहयोगमा सञ्चालित लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गत अस्पतलले आधारभूत दृष्टि जाँचदेखि विश्वको अति विकसित अस्पतालमा मात्र उपलब्ध जटिल शल्यक्रियासमेत गर्दै आएको डा. सिंहले बताए । 

डा. सिंहका अनुसार अस्पतालले मोतियाबिन्दु, जलविन्दु, पर्दा (रेटिना) सम्बन्धी रोग, कोर्निया (नानी) प्रत्यारोपण, अकुलोप्लास्टिक (आँखाको ढिक्कासम्बन्धी रोग), अकुलोप्रोस्थेसिस (कृत्रिम आँखा राख्ने), बालबालिकाको मोतियाविन्दु र आँखाको डेढोपन (स्विकन्ट)सम्बन्धी शल्यक्रिया, बच्चाको आँखासम्बन्धी सघन शल्यक्रिया गर्दै आएको छ । 

कानको उपचार पनि अस्पताल परिसरमा सञ्चालन गरिएको छ । कान उपचार केन्द्रमा एक लाख नौ हजार तीन सय ७१ जनाको कान जाँच र दुई हजार चार सय १५ जना बिरामी कानको शल्यक्रियामार्फत सुन्न सक्ने भएर घर फर्किएको डा. सिंहले बताए । 

‘कानसम्बन्धी बिरामीको उपचारका लागि छुट्टै युनिट, चिकित्सक, स्वास्थ्यकर्मीले काम गरिरहेका छन्,’ उनले भने, ‘न्यून शुल्कमा गुणस्तरीय सेवा उपलब्ध भएकाले आँखाको उपचारका लागि आउने बिरामीसँगै कानका बिरामीको संख्या पनि बढ्ने गरेको छ ।’ 

त्यसबाहेक आँखा अस्पतालले सप्तरीको राजविराजस्थित आँखा उपचार केन्द्रलाई स्तरोन्नति गरी सर्जिकल केन्द्र बनाएको छ जहाँ मोतियाबिन्दुका बिरामीको पनि शल्यक्रिया हुन्छ । ‘स्थानीय स्तरमै सर्जिकल सेवा उपलब्ध भएपछि शल्यक्रियाका लागि लहान आवत-जावत गर्दा लाग्ने यातायातसहित अन्य खर्च र समय पनि बचत भएको छ,’ उनले भने । 

‘आँखा बा’ ले गरे अत्याधुनिक भवनको उद्घाटन
सन् १९८१ मा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको कोठा लिएर १२ बेडबाट सुरु गरिएको आँखा अस्पतालका लागि स्थानीय दानवीरहरू छविलाल चौधरी, सरोवर चौधरी र रन्द्रीलाल चौधरीले १२ बिघाभन्दा बढी जग्गा दान गरेपछि नेपाल नेत्र ज्योति संघको पहलमा क्रिस्टाेफर ब्लाइन्ड मिसन (सिबिएम) जर्मनीको सहयोगमा ५० बेड क्षमताको भवन निर्माण गरी सञ्चालन गरिएको थियो । पछिल्लो समयमा मोतियाविन्दुको उपचारको क्षेत्रमा फिसहुक, फेकोजस्ता नवीन प्रविधि आविष्कार गरी आँखाको उपचार गर्दै आएको छ ।  

४०औँ वार्षिकोत्सवको अवसरमा अस्पतालले आफ्नै स्रोत परिचालन गरी ४८ करोडको लागतमा निर्माण गरेको चारतले अत्याधुनिक भवनको ‘आँखा बा’को नामले चिनिने नेत्रविशेषज्ञ प्राध्यापक डा. रामप्रसाद पोखरेलले विधिवत् उद्घाटन गरे । भवनमा सशुल्क फस्टट्रयाकसहित आँखासम्बन्धी विभिन्न रोगको उपचारका लागि आएकामध्ये खर्च गर्न सक्ने बिरामी बस्नका लागि २८ वटा डिलक्स कोठाको सुविधा रहेको अस्पतालका प्रबन्धक अभिषेक रोशनले बताए । 

‘आँखा बा’सहितलाई कदरपत्र
वार्षिकोत्सवको अवसरमा ‘आँखा बा’ डा. पोखरेल, पछिल्लो अस्पतालमा ३८ वर्षदेखि सेवा गर्दै आएका देवनारयण चौधरी, श्रीमती रेखाकुमारी कर्ण, सुगालाल चौधरीसहित १३ जना कर्मचारीलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

त्यस्तै, पछिल्लो २५ वर्षदेखि अस्पताल व्यवस्थापन समितिको सदस्यको रूपमा काम गर्दै आएका विश्वनाथ महतो, प्याकेज टुरअन्तर्गत भारतीय बिरामीलाई ल्याउन सहयोग गर्ने पवनकुमार गुप्ता, पप्पु शर्मा, ओमप्रकाश साह, समुदायस्तरमा आँखा शिविर सञ्चालन गरी अधिक बिरामीको पहिचान र उपचार गर्न भूमिका खेलेका ग्रामीण जनजागरण उत्थान केन्द्र, इन्द्रेणी पोलिटेक्निक, जीवन विकास लघुवित्त वित्तीय संस्था सप्तरीलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय राजेन्द्रप्रसाद चौधरी, ललिता दास विद्रोही, नेपाल नेत्र ज्योति संघका पूर्वअध्यक्ष डा. तीर्थप्रसाद मिश्र, श्याम पोखरेल, महासचिव भरतबहादुर चन्द, लहान नगरका मेयर महेशप्रसाद चौधरी, लुम्बिनी आँखा अस्पतालका डा. ज्ञानेन्द्र लामिछाने, भरतपुर आँखा अस्पतालका प्रा.डा. सोनु दुलाल, गेटा आँखा अस्पतालका प्रा. डा. सुरेश पन्तलगायतले अस्पतालको प्रगतिको कामना गरे । 

ad
ad