Skip This
टर्की–सिरिया भूकम्प : राष्ट्रसंघ भन्छ– मर्नेको संख्या अहिलेको भन्दा दोब्बर पुग्न सक्छ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
अंकारा एजेन्सी
२o८१ बैशाख २९ शनिबार o८:३८:oo
Read Time : > 4 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

टर्की–सिरिया भूकम्प : राष्ट्रसंघ भन्छ– मर्नेको संख्या अहिलेको भन्दा दोब्बर पुग्न सक्छ

Read Time : > 4 मिनेट
अंकारा एजेन्सी
नयाँ पत्रिका एजेन्सी
२o८१ बैशाख २९ शनिबार o८:३८:oo

दक्षिणपूर्वी टर्की र सिरियाको उत्तर–पश्चिम क्षेत्रमा सोमबार बिहान विनाशकारी भूकम्प गएको ६ दिन बितिसकेको छ । अहिलेसम्म यो भूकम्पमा २६ हजारभन्दा बढीको मृत्यु पुष्टि भइसकेको छ भने घाइते हुनेको संख्या एक लाखनजिक पुगेको छ । 

राष्ट्रसंघका विशेषज्ञले टर्की–सिरिया भूकम्पमा मृत्यु हुनेको संख्या यसको दोब्बर हुन सक्ने बताएका छन् । टर्कीको अदनामा स्काई न्युजसँगको कुराकानीमा राष्ट्रसंघका आपत्कालीन प्रतिकार्य संयोजक मार्टिन ग्रिफिथले भूकम्पमा मर्नेहरूको संख्या अहिलेकोभन्दा दोब्बर पुग्न सक्ने बताएका हुन् । संयुक्त राष्ट्रसंघले सिरियामा भूकम्पपछि थप ५३ लाख मानिस घरबारविहीन भएको र टर्की र सिरियाका करिब नौ लाख मानिसलाई तत्कालै तातो खाना आवश्यक रहेको बताएको छ ।

अर्काे विपत्तिको त्रास
विनाशको स्तर निकै उच्च भएका कारण भत्किएका संरचनाको भग्नावशेषमा पुरिएकाहरूको खोजी कार्य अझै केही हप्ता लाग्न सक्ने देखिएको छ । यसैबीच, तीव्र हिमपात, चिसो मौसम, पिउने पानी, सञ्चार र विद्युत्लगायत अत्यावश्यक वस्तुहरूको अभावले अर्काे ‘घातक विपत्ति’ निम्तिन सक्ने त्रास उत्पन्न भएको हो । टर्कीको भूकम्प प्रभावित क्षेत्र किलिसमा बिहानको न्यूनतम तापक्रम माइनस २, गाजियान्टेपमा माइनस ४ र मलात्यामा माइनस ६ डिग्री आसपास रहेको छ । प्रतिकूल मौसमले पनि यो विपत्तिलाई थप भयावह बनाएको छ । 

विपत्तिलाई हिमपातले थप कष्टकर बनाउँदा सिरियाका करिब एक करोड १० लाख मानिस प्रभावित हुन पुगेको संयुक्त राष्ट्रसंघका आवासीय संयोजक मुस्तफा ब्लेनलाम्लिहले बताएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार भूकम्पअघि नै यो क्षेत्रका एक करोड ५३ लाखभन्दा बढीलाई सहयोगको खाँचो थियो ।

सिरियाको अलेप्पो सहरमा मात्रै पनि कम्तीमा एक लाख मानिस बेघर बनेका छन् । तीमध्ये ३० हजारजतिले मात्रै अहिले विद्यालय र मस्जिदमा आश्रय पाएको र ७० हजारभन्दा बढी मानिस हिमपातका बीच चिसो र अप्ठ्यारो अवस्थामा रात काटिरहेको बताइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भूकम्पबाट बाँचेकाहरूको जीवनरक्षा सुनिश्चित गर्न मानवीय सहयोग संगठनहरूलाई आग्रह गरेको छ । ‘धेरै मानिस खुला आकाशमुनि, बिग्रिँदो र भयावह अवस्थामा बाँचिरहेकाले खोज तथा उद्धारकै स्तरमा सहायता र राहतका कार्यमा नलाग्ने हो भने भूकम्पले भन्दा पनि अब सिर्जना हुने विपत्तिले धेरैको ज्यान लिन सक्ने खतरा छ,’ डब्लुएचओका प्रतिकार्य व्यवस्थापक रोबर्ट होल्डेनले भने । 

यसैबीच, सिरियाको सरकारी सञ्चार माध्यम सानाले सिरिया सरकारले आफ्नो नियन्त्रणभन्दा बाहिरका क्षेत्रमा मानवीय सहयोग उपलब्ध गराउन अनुमति दिएको जनाएको छ । टर्की सरकारले पनि सिरियाका विद्रोही नियन्त्रित भागका लागि दुई नयाँ मार्ग खोल्न काम गरिरहेको बताएको छ । यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस अधानोम घेब्रेसेस सिरिया पुगेका छन् । डब्लुएचओ प्रमुख सिरियाको भूकम्प प्रभावित सहर अलेप्पो पुगेको खबर सिरियाली समाचार संस्था सानाले लेखेको छ । ‘टेड्रोस सिरियाका अस्पतालहरूको स्थिति बुझ्न अलेप्पो आइपुग्नुभएको छ र उहाँसँग सिरियाका स्वास्थ्यमन्त्री र अलेप्पोका गभर्नरले भेट गर्नुभएको छ,’ सानाले भनेको छ ।

अझै भेटिँदै छन् जीवित
पछिल्लो समयमा खोजीकार्यमा जीवितै उद्धारको संख्या पातलिँदै गएको छ, तर अझै पनि भग्नावशेषमुनि जीवित मानिस भेटिइरहेका छन् । टर्कीको हातेय सहरमा एक सय २८ घन्टा अर्थात् भग्नावशेषमा फसेको करिब साढे पाँच दिनपछि एक १३ वर्षे किशोरलाई जीवितै उद्धार गरिएको छ । शुक्रबार राति पनि टर्कीको काहरामान्मारास सहरबाट बेलायत र जर्मनीका उद्धारकर्ताले एक १५ वर्षे किशोरीलाई जीवितै उद्धार गरेका थिए । 

सिरियाको सिभिल डिफेन्स ग्रुपले विद्रोही नियन्त्रित उत्तरपश्चिमी सिरियाको अवस्था वर्णन गर्दै अवस्था निकै हृदयविदारक रहेको र यो क्षेत्र मृत्युको गन्धले भरिएको बताएको छ । साथै उसले सक्दो छिटो र पर्याप्त उद्धार एवं खोज उपकरण पठाउन आग्रह गरेको छ । उद्धार प्रयासलाई वेलावेलामा गइरहने प्ररकम्पका साथै प्रतिकूल मौसमले पनि प्रभावित गरिरहेको छ । अमेरिकी भौगर्भिक केन्द्रका अनुसार अहिलेसम्म यो क्षेत्रमा चार म्याग्निच्युडमाथिका १३० भन्दा धेरै परकम्प गइसकेका छन् । 

विश्वमा गएका केही शक्तिशाली भूकम्प

भाल्दिभिया भूकम्प  : (१९६०) ९.५ म्याग्निच्युड
ग्रेट चिली भूकम्प अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प हो । यो भूकम्प सन् १९६० को मे २२ मा स्थानीय समयअनुसार दिउँसो ३ बजेर ११ मिनेटमा गएको थियो । चिलीको तटबाट लगभग एक सय ६० किलोमिटर टाढा भाल्दिभिया सहरमा गएको सो भूकम्पपछि विशाल सुनामी आएको थियो । सुनामीले चिलीको तटलाई गम्भीर असर गर्‍यो । भाल्दिभिया भूकम्पमा मृत्यु हुनेको संख्या यकिन छैन । भूकम्प र सुनामीका कारण एकदेखि ६ हजारसम्मको मृत्यु भएको हुन सक्ने अनुमान छ । 

 ग्रेट अलास्का भूकम्प  : (१९६४) ९.२ म्याग्निच्युड
सन् १९६४ को ग्रेट अलास्का भूकम्पलाई गुड फ्राइडे भूकम्प पनि भनिन्छ । अलास्काको प्रिन्स विलियम साउन्ड क्षेत्रमा मार्च २७ शुक्रबार स्थानीय समयअनुसार साँझ साढे पाँच बजे भूकम्प गएको थियो । भूकम्प लगभग साढे चार मिनेट गएको थियो । यो अमेरिकी इतिहासमा दर्ज गरिएको सबैभन्दा शक्तिशालीे भूकम्प हो । भूकम्पले चेनेगा गाउँ ध्वस्त भएको थियो । भूकम्पका कारण २७ फुट अग्लो सामुद्रिक लहरसहितको सुनामी आएको थियो । भूकम्प र सुनामीका कारण कुल एक सय ३९ जनाको मृत्यु भएको आँकडा छ । 

सुमात्रा भूकम्प  : (२००४) ९.१ म्याग्निच्युड
पछिल्लो समयको सबैभन्दा घातक प्राकृतिक प्रकोपमध्ये सन् २००४ को सुमात्रा भूकम्प पनि पर्छ । यसलाई सन् २००४ हिन्द महासागर भूकम्प पनि भनिन्छ । सन् २००४ को २६ डिसेम्बरमा इन्डोनेसियाको पश्चिमी तट सुमात्रालाई केन्द्रबिन्दु बनाएर यो भूकम्प गएको थियो । १५ सय किलोमिटर परसम्म फैलिएको यो भूकम्पबाट दुई लाख ५० हजारको मृत्यु भएको थियो । भूकम्पपछि ३० मिटर (१०० फिट) अग्लो छालसहित सुनामी आएको थियो । भूकम्पले सम्पूर्ण ग्रहलाई एक सेन्टिमिटर कम्पन गराएको उल्लेख छ । यसको ऊर्जा हिरोसिमा आणविक बमको १५ सय गुणाबराबर थियो ।

टोहोकु भूकम्प : (सन् २०११) ९.१ म्याग्निच्युड
सन् २०११ को ११ मार्चमा जापानको तटमा महाभूकम्प गएको थियो । भूकम्पले ४०.५ मिटर (१३३ फिट) उचाइसम्मका छालहरूसहित ठूलो सुनामी निम्त्यायो । यो मानव इतिहासमा सबैभन्दा घातक भूकम्पमध्येमा पर्छ । छालहरूले ६ माइलसम्म भित्री यात्रा गरेको थियो भने उत्तर–पूर्वी जापानमा व्यापक भौतिक क्षति गरेको थियो । भूकम्पले विमानस्थल, सडक र रेलमार्ग ध्वस्त गरेको थियो । भूकम्पपछि एक लाख २७ हजार दुई सय ९० भवन पूर्ण रूपमा र सात लाख ४७ हजार नौ सय ८९ भवन आंशिक रूपमा क्षतिग्रस्त भएका थिए । भूकम्पमा १५ हजार आठ सय ९४ को मृत्यु भएको थियो भने ६ हजारभन्दा बढी घाइते भएका थिए । 

कामचट्का रुसी भूकम्प : (१९५२) ९ म्याग्निच्युड
सन् १९५२ को नोभेम्बरमा एउटा ठूलो भूकम्पले रुसको सुदूरपूर्वमा अवस्थित कामचट्का प्रायद्वीपको तटमा प्रहार गर्‍यो । यसले १५ मिटर (५० फिट) अग्लो छाल उत्पन्न गरेको थियो, जसले कामचट्का प्रायद्वीप र कुरिल टापुहरूमा ठूलो क्षति गर्‍यो । यो भूकम्पबाट १० देखि १५ हजार मानिसको मृत्यु भएको अनुमान छ । भूकम्पपछि उठेको सुनामीको छाल पेरु, चिली र न्युजिल्यान्डसम्म पुगेको थिए ।

माउली भूकम्प : (२०१०) ८.८ म्याग्निच्युड
सन् २०१० मा गएको माउली भूकम्पलाई चिलीको भूकम्प पनि भनिन्छ । सन् २०१० को २७ फेब्रुअरीमा मध्यचिलीस्थित पेल्लुहु कम्युनको तटबाट करिब तीन किलोमिटर (१.९ माइल) टाढा यो भूकम्प गएको थियो । भूकम्पको तीव्र कम्पन करिब तीन मिनेटसम्म महसुस गरिएको थियो । दक्षिण–मध्य चिलीका धेरैजसो तटीय सहरलाई भूकम्पपछिको सुनामीले बढारेको थियो । सुनामीले तालकाहुआनो बन्दरगाहमा पनि क्षति पुर्‍याएको थियो । निकै लामो समय गएको यो भूकम्पमा धेरै ठूलो हताहती भने भएन । भूकम्प र त्यसपछिको सुनामीबाट केवल पाँच सय २५ जनाको मात्रै मृत्यु भएको थियो भने २५ जना बेपत्ता भएका थिए ।

इक्वेडर–कोलम्बिया भूकम्प  : (१९०६) ८.८ म्याग्निच्युड
यो भूकम्प १९०६ को जनवरी ३१ मा उत्तर पश्चिमी इक्वेडरको तटीय सहरनजिकै गएको थियो । यसले ६ मिटर अग्ला छालहरूसहितको सुनामी निम्त्याएको थियो । भूकम्पका कारण ठूलो जनधनको क्षति भएको थियो ।

असाम–तिब्बत भूकम्प : (१९५०) ८.६ म्याग्निच्युड
सन् १९५० को अगस्ट १५ मा सिजाङ–भारत सीमा क्षेत्रलाई केन्द्र बनाएर गएको यो महाभूकम्पमा तीन हजार मानिसको मृत्यु भएको अनुमान छ । भूकम्पको केन्द्रबिन्दु रिमा भन्ने ठाउँनजिकै थियो । भूकम्पपछि चलेको ठूलो पहिरोले सुबनसिरी नदी अवरुद्ध गर्नुका साथै बाँधलाई पनि भत्काएको थियो । बाँध भत्किँदा थुप्रै गाउँ डुबानमा परेका थिए भने पाँच सय ३६ को मृत्यु भएको थियो । यो भूकम्पबाट पाँच लाख मानिस घरबारविहीन भएका थिए ।

हैटी भूकम्प : (सन् २०१०) ७ म्याग्निच्युड
सन् २०१० को १२ जनवरीमा हैटीमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प राजधानी पोर्ट औ प्रिन्सबाट २५ किलोमिटर पश्चिममा रहेको लियोगाने सहरलाई केन्द्रबिन्दु बनाएर गएको थियो । भूकम्पपछि १२ दिनसम्म ४.५ म्याग्निच्युडमाथिका ५२ वटा परकम्प गएका थिए । भूकम्पका कारण एक लाख ६० हजारको मृत्यु भएको अनुमान छ ।

नेपाल भूकम्प : (२०७२) ७.६ म्याग्निच्युड
नेपालमा २०७२ को वैशाख १२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्प पनि पछिल्लो समयका विनाशकारी भूकम्पमा पर्छ । यो भूकम्पमा परेर नौ हजारभन्दा धेरैको मृत्यु भएको थियो भने ६ लाखभन्दा धेरै घर भत्किएका थिए । पाँच अर्ब डलरभन्दा बढीको क्षति गरेको थियो । 

ad
ad