१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ माघ २९ आइतबार ०८:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरमा मेयर साह आएयता ३० करोडभन्दा बढी उठ्यो राजस्व

Read Time : > 1 मिनेट
२०७९ माघ २९ आइतबार ०८:००:००

घरबहाल कर पहिलेभन्दा घट्यो, पार्किङ ठेक्का लगाएर आम्दानीमा वृद्धि

काठमाडौं महानगरपालिकामा विगतका वर्षहरूमा भन्दा यसपटक राजस्व संकलनमा सुधार आएको छ । आर्थिक वर्ष ०७९/८० को पुस मसान्तसम्म महानगरले चार अर्ब ५६ करोड ६२ लाख ९७ हजार १२ रुपैयाँ राजस्व संकलन गरेको छ । गत आव ०७८/७९ को सोही अवधिमा महानगरले चार अर्ब २६ करोड नौ लाख १० हजार पाँच सय ७९ रुपैयाँ आम्दानी राजस्व उठाएको थियो ।

गत वर्षको साउनदेखि पुस मसान्तसम्मको तथ्यांकलाई तुलना गर्दा यो वर्ष महानगरले ३० करोड ५२ लाख ८७ हजार रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । तर, यो रकम महानगरले यो वर्ष अनुमान गरेभन्दा कम हो । यो वर्ष पुस मसान्तसम्ममा महानगरले १० अर्ब ४१ करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको थियो । तर, लक्ष्यभन्दा कम आम्दानी गरेको छ ।

गत आव ०७८/७९ मा नौ अर्ब ८७ करोडभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखिए पनि त्यति संकलन हुन सकेको थिएन । प्रक्षेपणको हिसाबले गत आवमा ४४.२६ र यो आवमा ४३.८२ राजस्व संकलन भएको महानगरले जनाएको छ । यो वर्ष महानगरले आम्दानी बढाउने लक्ष्यसहित राजस्व संकलनमा पनि कडाइ गरेको छ । मेयर बालेन्द्र साहले पटक–पटक राजस्व तिर्न ताकेका गर्दै आएका छन् । गत वर्ष विद्यासुन्दर शाक्यका पालामा पनि बाजा बजाउँदै महानगरको टोली ठूला करदाताकहाँ पुगेको थियो । 

घरबहाल कर गत वर्षभन्दा कम संकलन 
महानगरले यो वर्ष सबैभन्दा कम आम्दानी घरबहाल करबापत संकलन गरेको छ । जसबाट एक अर्ब १८ करोड १५ लाख ५१ हजार चार सय १८ रुपैयाँ संकलन गरेको छ । गत वर्ष महानगरले सोही शीर्षकमा चालू आवको भन्दा धेरै आम्दानी गरेको छ । ०७८/७९ मा एक अर्ब ४३ करोड १७ लाख दुई हजार ९१ रुपैयाँ संकलन गरेको थियो । तर, यो वर्ष भने त्यसभन्दा कम आम्दानी गरेको छ ।  

पार्किङ ठेक्का लगाएर ७५ लाख आम्दानी
काठमाडौं महानगरपालिकाले महानगरभित्र पार्किङ ठेक्का लगाएर मात्रै ६ महिनामा ७५ लाख ३९ हजार चार सय ४६ रुपैयाँ उठाएको छ । महानगरले काठमाडौं महानगरभित्र रहेका अव्यवस्थित पार्किङ हटाउँदै व्यापारीकरण गरेपछि पार्किङबाट आम्दानी बढेको हो । यो वर्ष एक करोड पार्किङ शुल्कबापतको राजस्व संकलन हुने लक्ष्य महानगरले राखेको छ ।

महानगरले गत वर्षको सोही अवधिमा पार्किङ शुल्कबापत ५५ लाख आम्दानी अनुमान गरे पनि ३६ लाख ३९ हजार चार सय ८८ रुपैयाँ संकलन गरेको थियो । तर, यो वर्ष मेयर बालेन्द्र साह आएपछि पार्किङ शुल्कबाट हुने आम्दानी बढेको छ । मेयर साहले पार्किङ व्यवस्थित गर्ने नाममा महानगरका भित्री सहरहरूमा पार्किङ ठेक्कामा लगाएका छन् ।