
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरूको कमी नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले यस्तो बताएका हुन् ।
पूर्वप्रधानमन्त्री खनालले नेपालमा दलाल पुँजीपति, शोषकहरु, कमिसनखोरहरु, भ्रष्टाचारी, मुनाफाखोरी र विदेशीका दलालहरू रहेको दाबी गरे । यस्ता, व्यक्ति नेपालीका शत्रु रहेको उल्लेख गर्दै उनले यिनीहरूले गरेको क्रियाकलापले राष्ट्रलाई विनाश गर्ने बताए ।
‘अहिले हामीसँग दलाल पुँजीपतिहरू छन्, शोषकहरू छन्, कमिसनखोरहरू छन्, भ्रष्टाचारीहरू छन्, मुनाफाखोरीहरू छन्, विदेशीहरूका दलालहरू छन् । यी हाम्रा शत्रुहरू हुन् । यिनीहरूले जे क्रियाकलाप गरिरहेका छन्, यो राष्ट्रलाई विनाश गर्ने, जनतालाई भुलाउने, राष्ट्रलाई लुट्ने काम गरिरहेका छन्,’ उनले भने ।
जनतालाई भुलाउने र राष्ट्रलाई लुट्ने काम भइरहेको भन्दै नेता खनालले यस्ता लुटपाटको विरोध र भण्डाफोर गर्ने काममा लाग्नुपर्ने बताए । समाजवादी सांस्कृतिक आन्दोलनलाई अघि बढाएर मात्रै समाजमा भएका विकृति र विसंगतिलाई हटाउन सकिने उनको धारणा छ ।