१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पहिलोपटक एकैचोटि ६ हजार सैनिक शान्ति मिसनमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:o८:oo

शान्ति स्थापनामा एकैपटक खटिने नेपाली सैनिकको तैनाथी संख्या पहिलोपटक ६ हजार नाघेको छ । गत महिना मध्यअफ्रिकी गणतन्त्र (कार)मा लाइट इन्फेन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका दुई सय दुईजना शान्ति सैनिकको तैनाथीसँगै शान्ति मिसनमा नेपाली फौजको तैनाथी संख्या ६ हजार ५९ पुगेको हो । जसमध्ये पाँच सय १३ जना महिला रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । 

नेपाली सेना हाल १३ वटा मिसनमा खटिएको छ । जसमध्ये ११ वटा कन्टिन्जेन्ट छन् । सिरियामा फोर्स कमान्डर, लेबनानमा डेपुटी फोर्स कमान्डर तथा माली र दक्षिण सुडानमा सेक्सन कमान्डरजस्ता उच्च पदमा सैनिक अधिकृत कार्यरत छन् । मिसनमा उत्कृष्ट काम गर्दै आएकाले यसरी नेपाली सेनाको सहभागिता बढेको सैनिक प्रवक्ता भण्डारी बताउँछन् । 

सन् १९५८ मा ‘मिलिटरी अब्जर्भरहरू’ लेबनान मिसनमा तैनाथ गरेसँगै सुरु भएको नेपाली सेनाको शान्ति मिसन यात्राले ६ दशकभन्दा बढी अवधि पूरा गरिसकेको छ । हालसम्म नेपाली सेनाले ४४ वटा संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागिता जनाइसकेको छ । यस क्रममा नेपाली सेनाका एक लाख ४४ हजार सात सय ८० जना मिसनमा सहभागी भइसकेका छन् । 

नेपाली सेनाले शान्ति मिसनमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि सघाउँदै आएको छ । उसले बन्दोबस्तीका सामान तथा हतियार पनि सापटी दिने गरेको छ । सशस्त्र प्रहरीको मिसन मालीमा खटिन लागेकामा सेनाले एपिभीलगायत सामान सापटी दिएको छ । नेपाल प्रहरीले पनि नयाँ मिसनका लागि सेनासँग बन्दोबस्तीका सामान लिने सहमति गरेको छ ।

नयाँ मिसनमा खटिँदै सशस्त्र प्रहरी 

सशस्त्र प्रहरीले मात्र एक वर्षमा करिब एक करोड डलर भित्र्याउने गरेको छ । उसले गत आर्थिक वर्षमा ९७ लाख १६ हजार डलर भित्र्याएको थियो । अब मालीमा नयाँ मिसन तैनाथी हुन लागेकाले आगामी दिनमा राष्ट्रसंघबाट आउने शोधभर्ना बढ्ने सशस्त्र प्रहरी प्रवक्ता एसएसपी पुरुषोत्तम थापा बताउँछन् । 

सशस्त्र प्रहरीबाट एक सय ८० जनाको टोली दक्षिण सुडानमा खटिएको छ । यसबाहेक १४ जना अधिकृत अनपोल मिसनमा विभिन्न देशमा छन् । सशस्त्रको टोली केही दिनपछि मालीमा खटिने तयारी छ । जहाँ एक सय ४० जना खटिनेछन् । शान्ति मिसनमा सहभागिता बढाउन सशस्त्र प्रहरी नेतृत्वबाट पहल भइरहेको एसएसपी थापा बताउँछन् । 

एफपियू फर्काउने प्रयासमा नेपाल प्रहरी 
नेपाल प्रहरीबाट हाल विभिन्न देशमा ४६ जना प्रहरी अधिकृत कार्यरत छन् । उनीहरूमध्ये तीन उच्च अन्य देशका प्रहरी अधिकारीसँगको प्रतिस्पर्धामा छनोट भई प्रोफेसनल तहमा खटिएका छन् । एसपी अमरेन्द्रकुमार सिंह राष्ट्रसंघको मुख्यालयमा, एसपी गंगा पन्त लिबिया तथा डिएसपी किरणजंग कुँवर सुडानमा कार्यरत छन् । 

अन्य ४३ जना अनपोल मिसनमा खटिएका छन् । उनीहरूले मासिक करिब तीन हजार डलर भत्ता पाउँछन् । जस आधारमा प्रहरी अधिकारीले करिब २० लाख डलर वार्षिक ल्याउँछन् । यसअघि प्रहरीको दुईवटा एफपियू मिसन रहेकोमा हाल बन्द भइसकेको छ । नयाँ एफपियू मिसनका लागि प्रक्रिया अघि बढिसकेको प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलले बताए । 

नेपाल प्रहरीको एफपियू मिसन यसअघि हाइटी र सुडानमा रहेकामा राष्ट्रसंघको निर्णयअनुुसार दुवै मिसन बन्द भइसकेका छन् । पछि अवसर पाउँदा पनि समयमा बन्दोबस्तीका सामान खरिद गर्न नसक्दा प्रहरीले मिसन गुमाएको थियो । शान्ति मिसनमा सहभागिता बढाउन राज्यको तर्फबाट पहल र पर्याप्त सहयोग हुन नसक्दा समस्या भएको प्रहरी अधिकारीहरू बताउँछन् । 

सन् १९५५ मा संयुक्त राष्ट्रसंघ (युएन)को सदस्य बनेको तीन वर्षपछि नेपाली सुरक्षाकर्मी शान्ति स्थापनार्थ खटिन थालेका हुन् । सन् १९५८ मा पहिलोपटक नेपाल शान्ति मिसनमा खटिएको हो । त्यतिवेला लेबनानमा पाँचजना सैन्य पर्यवेक्षकका रूपमा खटिएका थिए । अहिलेसम्म लेबनानमा नेपाली सैनिक खटिँदै आएका छन् ।

ad
ad