
एमाले अध्यक्ष केपी ओली र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच बालकोटस्थित ओलीनिवासमा छलफल चलिरहेको छ ।
झन्डै चार घण्टादेखि जारी छलफल सुदूरपश्चिम प्रदेश सरकारको भविष्यको विषयमा केन्द्रित रहेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोलिसम्ममा विश्वासको मत नपाए स्वतः ढल्नेछ । तर, सरकार बचाउन मुख्य शक्तिको रूपमा रहेको नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय लिएको छ ।
एमाले संसदीय दलका नेतासमेत रहेका रावल नेतृत्वको सरकार ढल्ने सम्भावना बढेपछि एमाले अध्यक्ष ओली समाधानका लागि निर्णायक वार्तामा बसेका हुन् । स्रोतका अनुसार उनले श्रेष्ठलाई जेलमा रहेका रेशम चौधरीको रिहाइका लागि आफू सकारात्मक नै रहेको भन्दै सरकारले आवश्यक प्रक्रिया पूरा गर्ने विश्वास दिलाउने प्रयास गरिरहेका छन् ।
श्रेष्ठले भने चौधरीलाई रिहा नगरेसम्म विश्वासको मत नदिने अडान राखेकी छिन् ।