
युरोपेली संघ (इयू) र विश्वका समृद्ध अर्थतन्त्रहरूको समूह (जी–७)ले रुसी इन्धन खरिदमा कर वृद्धि गर्ने भएको छ।
इयू र जी–७ ले समुद्रबाट हुने रुसी पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणका लागि सम्झौता गरेको युरोपेली आयोग (इसी) ले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सम्झौतामा डिजेल, मट्टितेल र पेट्रोलजस्ता ‘प्रिमियम–टू–क्रुड’ पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर तोकिएको छ भने ‘डिस्काउन्ट टू क्रुड’ जस्ता पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल ४५ अमेरिकी डलर तोकिएको इसीले जनाएको छ।
मूल्य सीमा आइतबारदेखि लागू हुने र यसमा मूल्य सीमाभन्दा माथि खरिद गरिएको समुद्री रुसी पेट्रोलियम पदार्थका लागि ५५ दिनको ‘विन्ड–डाउन पिरियड’ समावेश गरिएको छ।
यसैबीच, रुसी पेट्रोलियम पदार्थको आयातमा सन् २०२२ को जुनमा इयूले लगाएको प्रतिबन्ध पनि आइतबारदेखि लागू हुनेछ।
सन् २०२२ को डिसेम्बरमा इयूले रुसी समुद्री कच्चा तेलको मूल्य प्रतिब्यारेल ६० अमेरिकी डलर तोकेको थियो।
गत डिसेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी तेल र पेट्रोलियम पदार्थको आपूर्तिमा प्रत्यक्ष वा परोक्ष रूपमा सम्झौता भएमा त्यसको आपूर्तिमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका थिए।