१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
श्रवण थापा सर्लाही
२०७९ माघ २१ शनिबार १५:२२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तरकारी ढुवानी गर्न नदिएको भन्दै सर्लाहीका व्यापारी आन्दोलित

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ माघ २१ शनिबार १५:२२:००

ट्राफिक प्रहरीले तरकारी ढुवानीमा अवरोध गरेको भन्दै सर्लाहीको लालबन्दीका व्यापारी आन्दोलित बनेका छन् ।

शुक्रबार राति लालबन्दी बजारबाट व्यापारीले बसमा तरकारी लोड गरेर काठमाडौं पठाएका थिए । तर, जिल्लाको बागमतीस्थित ट्राफिक प्रहरी पोस्टबाट बस पुनः लालबन्दी फर्काएर तरकारी ओराल्न लगाएको भन्दै उनीहरू आन्दोलित बनेका हुन् । आन्दोलित व्यापारीहरूले शनिबार बिहान सडकमै सिमी, भन्टालगायतका तरकारी पोखेका थिए ।

यसअघि ट्राफिक प्रहरीले महिनावारी पैसा उठाएर तरकारी ढुवानी गर्न दिएको उनीहरूको आरोप छ । तर, पछिल्लो समय थप पैसा मागेर दुःख दिएको व्यापारीहरूले गुनासो गरे । व्यापारीहरू सडकमै तरकारी पोखेर आन्दोलनमा उत्रिएपछि केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको थियो । पछि सुरक्षा अधिकारीहरूको अनुरोधमा छलफलबाट निकास निकाल्ने गरी सडक भने सुचारु भएको छ ।

ट्राफिक प्रहरीले ढुवानी गर्न नदिएपछि तरकारी नष्ट भएको व्यापारीहरूले बताए । ‘नष्ट भएको तरकारीको पैसा कसले दिन्छ ?’ स्थानीय व्यापारी राम गोपालले भने, ‘अरू ठाउँबाट तरकारी निर्वाध रूपमा जान दिने, हाम्रो मात्र रोक्ने किन ?’ तरकारी किसानहरूलाई समेत ट्राफिक प्रहरीले दु:ख दिन खोजेको उनीहरूको आरोप छ । बजारमा तरकारीको मूल्य लगातार ओरालो लागेको अवस्थामा यसरी जरिवाना तिर्न नसकिने उनीहरूले बताए ।

जिल्लाको लालबन्दी, हरिवनलगायतका स्थानमा थोक व्यापारीहरूले संकलन गरेको तरकारी बसको छतमा लोड गरेर ढुवानी गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । यसरी बसमा सामान ढुवानी गर्दा दुर्घटना बढेको भन्दै प्रहरीले कडाई गरेको जिल्ला ट्राफिक प्रहरी सर्लाहीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

ट्राफिक प्रहरी निरीक्षक कार्कीले भने, ‘एकपटकलाई जरिवाना गरेर छोड्दा, पटक–पटक बसमा तरकारी ढुवानी हुन थालेपछि फर्काएर अनलोड गर्न लगाइएको हो ।’ व्यापारी र सवारीचालकले जबर्जस्ती गरेर तरकारी बसमा ढुवानी गर्ने गरेको उनले दाबी गरे । ‘पैसा लिने गरेको आरोपमा सत्यता छैन,’ उनले भने, ‘कसले कसरी पैसा लिएको हो ? भन्नुपर्यो हामी कारबाही गर्छौं । तर, नियमविपरीत गतिविधि नियन्त्रण हुन्छ ।’