मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ २० शुक्रबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका कञ्चनपुर
२o७९ माघ २० शुक्रबार १५:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नदीमाथि काठको पुल, वारपार गर्न शुल्क

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ माघ २० शुक्रबार १५:२o:oo

कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे बिहानदेखि अबेर रातिसम्म दोदानदी किनारमा बस्छिन्। 

नदी तर्नका लागि उनले अस्थायी काठको पुल बनाएकी छिन्। पुलमार्फत ओहाेरदोहाेर गर्ने मोटरसाइकल र साइकल सवारबाट उनी शुःल्क उठाउँछिन्। 

पुलमार्फत नदी वारपार गर्ने मोटरसाइकल सवारले रु. ४० र साइकल सवारले रु. पाँच बुझाउँछन्। रानाको यो पछिल्लो तीन वर्षदेखिको दिनचर्या हो। 

नदीछेउमै काठको वेरियरछेउ सानो पसल पनि छ उनको। पुल भएर ओहाेरदोहाेर गर्ने साइकल तथा मोटरसाइकल सवार यात्रुबाट हुने आम्दानीले  उनले घरखर्च चलाउँछिन्। 

पुल प्रयोग गर्नेहरूबाट उनले दैनिक रु. एक हजारदेखि रु. दुई हजार पाँच सयसम्म रकम उठाउँछिन्। श्रीमानको निधन भएपछि छोरा–बुहारी, नाति–नातिनाको खर्चको जोहो गर्न उनले नदीमा अस्थायी पुल राखिदिएकी हुन्। 

‘रोजगारी छैन। खेती गर्न जग्गा छैन। नदीले जग्गा बगाएपछि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएका छौँ,’ उनले भनिन्, ‘हरेक वर्ष बर्खा सकिएपछि कात्तिकदेखि नदीमा अस्थायी पुल राख्ने गरेकी छु।’ 

उनले कात्तिकमा राखेको पुल जेठतिर निकालेर घरमा राख्छिन्। नदीमा सात महिना राखिने पुलबाट हुने आम्दानीले रानाको परिवार चलेको छ।

रानाले अस्थायी रूपमा  काठको पुल राखेको स्थानभन्दा छेवैमा पक्की पुल निर्माणका लागि पिलर ठड्याइएका छन्। तर, एक दशकअघिदेखि यसैगरी उभिएका पिलरले कहिले मूर्तरूप कहिले लिने हो टुंगो छैन।

स्थानीय बोटसिंह राना भने, ‘कृष्णपुर नगरपालिकाको वाणी हुँदै लालझाडी गाउँपालिकासम्म पुग्न नदीमा पुल निर्माण थालिएको हो। निर्माण अलपत्र परेपछि अस्थायी पुलमा शुःल्क तिरेर तर्न बाध्य छौँ।’ 

दोदा नदीनजिकैको वनहरा नदीमा पनि अस्थायी काठको पुल निर्माण गरिएको छ। नदी तर्नेबाट त्यस ठाउँमा समेत शुल्क लिइने गरिएको छ।

नदीमा निर्माण गरिएको झोलुङे पुल गत भदौको अन्तिम साता आएको बाढीले ढालेपछि स्थानीय शुल्क तिरेर काठको अस्थायी पुल तर्दै आएका छन्। 

नदीमा काठको अस्थायी पुल राखेर शुल्क उठाउँदै आएका रामबहादुर रानाले १५ जना मिलेर अस्थायी पुल राखेको बताए। 

पुलबाट उठेको केही रकम स्थानीय विपत् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने र बचेको रकम १५ जनाले बाँडेर लिने गरेको उनले सुनाए।  

दुवै नदीमा बनाइएका अस्थायी पुलमार्फत पैदल यात्रु, साइकल र मोटरसाइकल आवतजावतका लागि प्रयोग हुने गरेको छ। 

‘अस्थायी भए पनि निर्माणकर्ताले काठको व्यवस्था गरी पुल राख्दा थोरै समयका लागि भए पनि सुविधा पुगेको छ,’ स्थानीय प्रकाश खुनाले भने, ‘थोरै शुःल्क लिँदा चित्त दुखाएका छैनौँ, बरु सेवा पाएका छौँ।’
तस्बिर : रासस