मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १७ मंगलबार
  • Friday, 14 August, 2026
आफैंले तयार गरेको विद्युतीय गाडी परीक्षण गर्दै तीन छात्र ।
२o७९ माघ १७ मंगलबार १७:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

७ कक्षामा पढ्ने तीन विद्यार्थीले बनाए विद्युतीय गाडी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १७ मंगलबार १७:१o:oo

झापाको शिवसताक्षी–११ दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको कक्षा ७ का तीन छात्रले विद्युतीय गाडी बनाएका छन्। कक्षा ७ का सन्देश बराल, निशान शंकर र प्रशन्न दवाडीले गाडी बनाएका हुन्।

विद्यालयको ५४औँ वार्षिक उत्सवको अवसर पारेर मंगलबार उक्त विद्युतीय गाडी परीक्षण गरिएको छ। शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेघाहाङ थोप्रालाई चढाएर उक्त गाडी परीक्षण गरिएको हो। गत वर्षको सरस्वती पूजाका दिन गाडी बनाउने उद्घोष गरेका छात्रहरूले एक महिनाअघि मात्रै बनाउन सुरु गरेका थिए।

‘हामी सामान जुटाउन लाग्यौँ। एक वर्षअघि नै उद्घोष गरिएको भए पनि सामान प्राप्त भएपछि एक महिनाअघिबाट बनाउन सुरु गरेका हौँ,’ निशान शंकरले भने, ‘सुरुमा पैसा अभावमा काम गर्न सकेनौँ।’ प्रशन्नका हजुरबुवा छविलाल दवाडीले सामान ल्याइदिएपछि गाडी बनाएको निशानले बताए।

उक्त गाडी बनाउन झन्डै डेढ लाख खर्च भएको सन्देश बताउँछन्। उक्त गाडीमा तीनजना सवारी गर्न सकिने उनले बताए। प्रशन्नका अनुसार गाडीमा आठ सय वाटको डिसी मोटर, १२ भोल्टका चारवटा ब्याट्री र कन्ट्रोलर राखिएको छ। उनका अनुसार गाडी प्रतिघण्टा ३० किलोमिटरको गतिसम्म कुद्न सक्छ। गाडी बनाउन कार्टुन, प्लाइलगायतका सामान प्रयोग गरिएको छ।

उनीहरूले विगतदेखि नै विद्यालयमा स–साना सामानहरू बनाइरहन्थे। ‘हामीले कक्षा ६ मा हुँदा रकेट, वाटर पम्प, सानो रिमोट कन्ट्रोल कार बनाएका थियौँ,’ सन्देश भन्छन्, ‘विद्यालयमा पुस्तक मात्र पढाइ हुन्छ। तर, विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन यस्ता कुरामा पनि ध्यान दिइनुपर्छ ।’

यस्ता सामग्री बनाउनका लागि नगरपालिकाले बजेट उपलब्ध गराइदिनुपर्ने उनीहरूको भनाइ छ। गाडीको परीक्षणपछि शिवसताक्षीका नगरप्रमुख मेघाहाङ थोप्राले यस्ता काम गर्ने विद्यार्थीका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।