मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १६ सोमबार ०८:४०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निराश व्यवसायीको आत्महत्याले निजी क्षेत्र चिन्तित

उद्योगी–व्यवसायीको मनोबल उच्च राख्न सरकार र सरोकारवालासँग निजी क्षेत्रका संस्थाहरूको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १६ सोमबार ०८:४०:००

असफलताबाट हतोत्साहित भई व्यवसायीहरूले आत्महत्या गर्न थालेको घटनाप्रति निजी क्षेत्र चिन्तित भएको छ । निजी क्षेत्रका छाता संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, उद्योग संगठन मोरङलगायतले विज्ञप्ति जारी गरेर उद्योगी–व्यवसायीको मनोबल उच्च राख्न सरकार तथा सरोकारवालासँग आग्रह गरेका छन् । 

पछिल्लो एक सातामा इलामका व्यवसायी प्रेमप्रसाद आचार्य र विराटनगरका व्यवसायी मोहन न्यौपानेले व्यावसायिक असफलताबाट हतोत्साहित भएर आत्महत्या गरेका छन् । दुईवटा घटना सेलाउन नपाउँदै आइतबार पोखरा–१३, काहुँखोलामा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । भाडामा बस्दै अएका युवाले शरीरमा पेट्रोल छर्किएर आगो लगाएपछि घरबेटीले आगो निभाउन जाँदा उनी पनि घाइते भएको प्रहरीले बताएको छ । दुवैजनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

आत्मदाहका घटनाले सम्पूर्ण उद्योगी–व्यवसायीका साथै देशलाई नै स्तब्ध पारेको उद्योग संगठन मोरङको विज्ञप्तिमा उल्लेख छ । ‘देशमै उद्यम–व्यवसाय गरी आत्मसम्मानका साथ जीवनयापन गर्ने चाहना राख्ने व्यवसायीको दुःखद आत्मदाहले राज्य र राज्यका सञ्चालक, नीति र नियमलाई परिपालना गराउने संयन्त्रलाई गिज्याइरहेको छ,’ संगठनको विज्ञप्तिमा भनिएको छ ।  

अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र निजी क्षेत्र दुवै पक्षबाट केही सुधारका प्रयास सुरु भएका वेलामा भएका घटनाले सरोकार राख्ने सबैलाई झकझक्याएको परिसंघले जनाएको छ । ‘अर्थतन्त्र शिथिल हुँदा र उद्योगी–व्यवसायी निराश हुँदा राजस्वमा मात्रै नभई देशको प्रगतिमा नै नकारात्मक असर पर्छ,’ परिसंघको विज्ञप्तिमा भनिएको छ, ‘उद्योगी–व्यवसायीको मनोबल उच्च राख्ने र अर्थतन्त्रलाई चलायमान बनाउने सबैको दायित्व हो, अर्थतन्त्र नाजुक परिस्थितिबाट गुज्रिरहेका वेलामा सबै सरोकारवालालाई संयमता अपनाई उद्योगी–व्यवसायीलाई यो परिस्थितिबाट माथि उकास्न मद्दत गर्न जरुरी छ ।’ आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पात्र र प्रणाली दुवैमा प्रभावकारी ढंगबाट सुधारका काम तत्काल थाल्न सरकारसहित मुख्य सरोकारवालालाई परिसंघले अपिल गरेको छ ।

व्यवसायीको आत्मदाहपछि उद्योग वाणिज्य महासंघले व्यावसायिक उधारोका कारण व्यवसायीले देहत्याग गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेको छ । तरलता अभावका कारण सिर्जित समस्या, अस्थिर ब्याजदर, बजारमा उधारो नउठ्ने समस्या, बजार अभाव, प्रविधिको कमी, नीतिगत अस्पष्टता र सरकारी निकायको बेवास्ताका कारण लाखौँ लघु, घरेलु, साना एवं मझौला उद्यमी आहत भएको महासंघको भनाइ छ । व्यावसायिक समस्याका कारण व्यवसायीहरू देहत्याग गर्नुपर्ने अवस्थामा पुग्नु निकै दुःखदायी भएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।  

‘लघु, घरेलु, साना एवं मझौला उद्यमीका समस्या तत्काल सम्बोधन गर्न सरकार, राष्ट्र बैंक र अन्य सरोकारवालालाई ध्यानाकर्षण गराउन चाहन्छौँ’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ सदस्य र सदस्य नरहेका सम्पूर्ण उद्यमी–व्यवसायीलाई आफ्ना समस्याबारे महासंघलाई जानकारी गराउन अनुरोध गर्छौँ, समस्या समाधानका लागि महासंघले भरपूर प्रयास गर्नेछ ।’

चेम्बर अफ कमर्सले पनि विज्ञप्तिमार्फत व्यावसायिक गतिविधि सहज बनाउन सरकार र सम्बन्धित सरोकारवालालाई ध्यानाकर्षण गराएको छ । देशमा पछिल्लो समय व्यावसायिक गतिविधि सहज हुन नसक्दा व्यवसायीका आत्मदाहका घटना घटेको चेम्बरको ठहर छ । ‘व्यावसायिक कठिनाइका कारण व्यवसायीले आत्मदाह गर्ने अवस्था आउनु देशकै लागि दुर्भाग्य हो,’ चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वित्तीय संस्थामा लामो समयदेखि सिर्जित समस्याले उद्योगी र व्यावसायिक क्षेत्रमा गम्भीर असर गरेको छ ।’ देशमा नै केही गर्न खोज्ने युवाका लागि राज्य संयन्त्रबाट नीतिगत झन्झट अन्त्य गर्न र बैंक वित्तीय संस्थाले पनि ऋण लिने–दिने प्रक्रियालाई सेवामुखी बनाउनुपर्ने चेम्बरले आग्रह गरेको छ । उधारो कारोबारलाई निरुत्साहित गरी नगद कारोबारलाई प्रोत्साहन एवं डिजिटल प्रणालीमा लैजान पनि चेम्बरको आग्रह छ ।