Skip This
मेयर साहको कार्यशैलीप्रति आपत्ति जनाउँदै विरोध प्रदर्शन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १६ सोमबार
  • Saturday, 27 July, 2024
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको कार्यशैलीको विरोध गर्दै माइतीघर मण्डलामा आइतबार भएको विरोध प्रदर्शन । तस्बिर : संजित परियार/ नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १६ सोमबार o७:o७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेयर साहको कार्यशैलीप्रति आपत्ति जनाउँदै विरोध प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १६ सोमबार o७:o७:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको कार्यशैलीको विरोध जनाउँदै अभियन्ता, विभिन्न संघसंस्था र स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा आइतबार आयोजित प्रदर्शनमा उनीहरूले अध्ययन र विकल्पविनाको योजनाका कारण सर्वसाधारणले पीडा भोग्नुपरेको आरोप लगाएका छन् । त्यस्ता गतिविधि तत्काल बन्द गर्न दबाब दिने उद्देश्यले शान्तिपूर्ण खबरदारीसभा गरिएको सहभागीहरूको भनाइ छ । 

मेयर साहले नागरिकको निजी सम्पत्तिमा आफूखुसी डोजर लगाएको आरोप पनि धर्ना र प्रदर्शनमा सहभागीहरूले लगाएका छन् । उनीहरूले ‘ज्यादती बन्द गर, डोजर आतंक बन्द गर, सडक विस्तारका क्रममा उठीबास लगाउन पाइँदैन, आदिवासीको भूमिको अधिकार सुनिश्चित गर, उठीबास गर्ने विकास चाहिँदैन, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर’जस्ता नारा लेखिएको प्लेकार्डसहित विरोध गरेका थिए ।

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी भन्छन् -मेयर साहले जथाभावी रहेको पार्किङ हटाउने, फुटपाथ खुलाउने, टुकुचा खोल्नेलगायत धेरै राम्रो काम गर्नुभयो । तर, योजना मात्र बनाएर भएन नि । अध्ययन गर्नुपर्‍यो नि । विनाअध्ययनको योजना बनाएर जनताले दुःख मात्रै पाए । विनापूर्वाधार पार्किङ हटाउनुभयो । तर, विकल्प दिनुभएन । उहाँ जनताको प्रतिनिधि हो कि जनतालाई दुःख दिन प्रतिनिधि भएको ? त्यसका विरुद्धमा हाम्रो प्रदर्शन हो । आजको हाम्रो सांकेतिक खबरदारी मात्र हो ।

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष सुमन सायमीका अनुसार कामपाका प्रमुख बालेन्द्र साह राम्रो काम गर्ने उद्देश्यका साथ निर्वाचित भए पनि अहिले उनको कार्यशैली नागरिकको पक्षमा नरहेकाले धर्ना कार्यक्रम गरेको हो । मेयर साहको प्रतिस्पर्धीसमेत रहेका सायमीले गैरकानुनी रूपमा गरेको ज्यादती बन्द गर्न शान्तिपूर्ण खबरदारीसभा गरेको बताए । 

आगामी दिनमा कामपाबाट यस्ता कामले निरन्तरता पाए आन्दोलनका कार्यक्रम चर्काउने पनि उनले चेतावनी दिए । कामपाले पूर्वसूचनाविना निजी घरमा डोजर चलाएको भन्दै यसअघि पनि मेयर साहविरुद्ध आन्दोलन भएको थियो । धर्ना कार्यक्रममा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, ज्यापु महागुठी नेपासहित विभिन्न संघ–संस्थाको उपस्थिति थियो । महानगरले काठमाडौंको सभ्यता र सम्पदा जोगाउने भन्दै बागमती नदी–किनार, धोबीखोला करिडोरलगायतका अव्यवस्थित बस्तीमाथि डोजर चलाउँदै आएको छ ।