Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
न्युयोर्क
२०७९ माघ १५ आइतबार १०:४०:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

एसियाकै धनी गौतम अडानीले एकै दिन गुमाए २० अर्ब डलर 

Read Time : > 1 मिनेट
न्युयोर्क
२०७९ माघ १५ आइतबार १०:४०:००

अडानी ग्रुपअन्तर्गतका सूचीकृत कम्पनीले शुक्रबार एकै दिन बजार मूल्यमा करिब ५० अर्ब डलर गिरावटको सामना गर्दा गौतम अडानीले २० अर्ब डलर गुमाएका हुन्

एक अनुसन्धान एवं लगानी कम्पनीले भारतीय व्यावसायिक समूह अडानी ग्रुपलाई दशकाैँदेखि गलत हिसाबकिताब एवं सेयर मूल्यको चलखेलमा संलग्न रहेको आरोप लगाएपछि एसियाकै घनाढ्य एवं विश्वको चौथो धनी व्यक्ति गौतम अडानीले एकैदिन २० अर्ब अमेरिकी डलरको सम्पत्ति गुमाएका छन् । यससँगै, फेर्ब्सको विश्वका धनाढ्यहरूको सूचीमा अडानी एकैदिन चौथो स्थानबाट सातौँ स्थानमा झरे । उनको कुल सम्पत्ति एक सय १९ अर्ब ३० करोड डलरबाट ९६ अर्ब डलरमा ओर्लिएको छ । 

अमेरिकाको न्युयोर्कस्थित लगानी कम्पनी हिन्डेनवर्ग रिसर्चले आफ्नो ‘सर्ट–सेलर रिपोर्ट’मा भारतीय व्यावसायिक समूह अडानी ग्रुप सुरुवातदेखि नै व्यावसायिक छलकपट एवं धोखाधडीमा संलग्न रहेको दाबी सार्वजनिक गरेपछि पुँजीबजारका लगानीकर्ता आत्तिँदा अडानी र उनको व्यावसायिक समूहले एकैदिन ऐतिहासिक नोक्सानी साक्षात्कार गरेको हो । समूहअन्तर्गतका सूचीकृत कम्पनीहरूले बजार मूल्यमा शुक्रबार मात्रै करिब ५० अर्ब डलर गिरावटको सामना गरेका छन् । यसबाट गौतम अडानीले २० अर्ब डलर गुमाए । समूहअन्तर्गतको अडानी इन्टरप्राइजेजको सेयर मूल्य शुक्रबार झन्डै २० प्रतिशतले घटेको थियो भने उसका अन्य केही सूचीकृत कम्पनी दैनिक अधिकतम सीमा २० प्रतिशतको गिरावट साक्षात्कार गर्न पुगे ।

रिपोर्ट हिन्डनवर्गले बिहीबार सार्वजनिक गरेको हो । सार्वजनिक भएलगत्तै अडानी ग्रुपले सो रिपोर्ट दुराशययुक्त, बासी र तथ्यहीन भएको भनेर तत्कालै खारेज गरेको थियो । तर, अडानी ग्रुपको अभिव्यक्तिले लगानीकर्तालाई आश्वस्त पार्न सकेन । लगानीकर्ता अत्तालिएर धमाधम अडानी कम्पनीका सेयर बिक्रीका लागि राख्न थाले, जसले गर्दा ती कम्पनीको सेयर मूल्यमा स्टक एक्सचेन्जको दैनिक अधिकतम सीमासम्म घटे । जसका कारण मुम्बई स्टक एक्सचेन्जमा ६ घन्टाको कारोबार अवधिमा यो समूहका कम्पनीले ५० अर्ब डलरभन्दा बढीको नोक्सानी व्यहोर्नुपर्‍यो ।

विभिन्न प्रयोजनका लागि लिइएका ऋण तिर्न र पुँजव्गत खर्च जुटाउन अडानी इन्टरप्राइजले दुई अर्ब ५० करोड डलरबराबरको सेयर बेच्न लागेको समय पारेर सार्वजनिक हिन्डनवर्गको रिपोर्टले कम्पनीको साखमा निकै ठूलो धक्का महसुस गराएको छ । अडानी इन्टरप्राइज शुक्रबारदेखि सेयर बिक्री गर्ने तयारीमा थियो । तर, रिपोर्टका कारण लगानीकर्ता आकर्षित हुन नसक्दा इन्टरप्राइजको सेयरले खासै खरिदकर्ता पाउन सकेन । उसले शुक्रबार सर्वसाधारण सबैका लागि बिक्री खुला गरिएको सेयरको एक प्रतिशत र कम्पनीका कर्मचारीका लागि छुट्याइएको सेयरको चार प्रतिशत मात्रै बिक्री गर्न सक्यो । हिन्डेनवर्गको रिपोर्टका कारण भारतीय व्यापारिक समूह अडानी ग्रुपको व्यापारिक स्वार्थमा निकै ठूलो झड्का लाग्न पुगेको छ । 

अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमवर्गले यो घटनालाई एसियाका कुनै पनि व्यक्तिको इतिहासकै सबैभन्दा ठूलो र ठाडो गिरावट भनेको छ । यो रिपोर्टले एक भारतीय परिवारले खडा गरेको एक शक्तिशाली कंग्लोमरेट्सको स्वामित्व, सञ्चालन र ऋणबारे थुप्रै कुरामा प्रकाश पारेको कुरालाई ब्लुमवर्गले जोड दिएको छ ।

‘रिपोर्टले भारतीय सेयर बजारमा सिर्जना गरेको उतारचढाव ठूलो चिन्ताको विषय हो । यसले भारतीय नागरिकलाई अनपेक्षित पीडा दिएको,’ अडानीका वकिलले बिहीबार विज्ञप्तिमार्फत प्रतिक्रिया दिएका छन् । विज्ञप्तिमा रिपोर्टलाई दुराशयपूर्ण, सतही र आधारहीन भनिएको छ । अडानी ग्रुपले हिन्डेनवर्गविरुद्ध कानुनी उपचार खोज्ने अभिव्यक्ति दिएको छ भने हिन्डेनवर्गले अडानीले धाकधम्कीको सहारा लिएको टिप्पणी गरेको छ । हिन्डनवर्ग सर्ट–सेलिङमा विज्ञता हासिल गरेको लगानी कम्पनी हो ।