मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ १२ बिहीबार ०७:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मन्त्री पाण्डे भन्छन्- राप्रपाले संघीयता स्विकारेको छैन

Read Time : < 1 मिनेट
२०७९ माघ १२ बिहीबार ०७:५३:००

धर्मनिरपेक्षता र राजतन्त्रको अडानबाट पछि हट्दैनौँ

सहरी विकासमन्त्री एवं राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले आफ्नो पार्टीले संघीयता स्वीकार नगरेको दाबी गरेका छन् । उनले संघीयता र गणतन्त्रविरुद्ध अभिव्यक्ति दिने कानुनमन्त्रीलाई स्पष्टीकरण सोध्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चेतावनी दिए पनि राप्रपाले त्यसलाई नमान्ने चेतावनी दिएका छन् ।

सहरी विकासमन्त्री बनेपछि पहिलोपटक बुधबार गृहजिल्ला चितवन आएका पाण्डेले पार्टीको सिद्धान्तअनुसार नै मन्त्री र नेताहरूले आ–आफ्ना धारणा राख्ने बताए । ‘हाम्रो पार्टीको अडान छ, हामीले संघीयता स्वीकार गरेको छैनौँ । राजतन्त्रबारे हामीले कुराकानी गरेका छौँ, धर्मनिरपेक्षतालाई विरोध गरेका छौँ । हाम्रो अडान यथावत् छ । जुन किसिमले हामीले सोचेका छौँ, त्यसैअनुसार अघि बढ्ने लक्ष्य छ,’ उनले भने ।

संविधानसँगै आफ्ना एजेन्डा राखेर राप्रपा अघि बढ्ने पाण्डेले बताए । ‘यहीँ भित्र रहेर हाम्रा कुरा राख्छौँ, किनभने लोकतन्त्रमा यो अधिकार छ,’ उनले भने । संविधानविरोधी कार्य हरेक दिन संसद्भित्र भएको भन्दै उनले प्रधानमन्त्रीले कारबाही र स्पष्टीकरण सोध्ने अवस्था आएमा पार्टीले एउटा निर्णय लिने स्पष्ट पारे । संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदनमाथि मंगलबार राष्ट्रिय सभामा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संघीयताविरुद्ध बोल्ने मन्त्रीलाई कारबाही गर्ने बताएका थिए ।

कालिका कन्स्ट्रक्सनका मालिक रहेका पाण्डेले अहिले आफू कुनै पनि निर्माण कम्पनीमा नरहेको दाबी गरे । सबै कम्पनीबाट राजीनामा दिएर मन्त्रीको जिम्मेवारी लिएको बताउँदै उनले स्वार्थ बाझिने गरी मन्त्री बनाएको कुरा आश्चर्यजनक भएको बताए । उनले विगतमा दुईवटा मन्त्रालय सम्हालेको अनुभव भएका कारण राम्रो ढंगले सहरी विकास मन्त्रालयको जिम्मेवारी पूरा गर्ने दाबी गरे । उनले सिक्टा सिँचाइ आयोजनामा नेपालको सबैभन्दा गुणस्तरयुक्त काम भएको बताए ।