१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टेकराज थामी काठमाडौं
२०७९ माघ १० मंगलबार ०८:३६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘स्पट फिक्सिङ’मा १० खेलाडी संलग्न, दुई पक्राउ

आइसिसीको प्रतिवेदनसँग सिआइबीको अनुसन्धान ९० प्रतिशत मिल्यो

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
२०७९ माघ १० मंगलबार ०८:३६:००

गत पुसमा भएको नेपाल टी–२० लिगको क्रिकेट ‘स्पट फिक्सिङ’मा नेपाली र विदेशी गरी १० खेलाडी संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । जसमध्ये आदिल अन्सारी र मेहबुब आलमलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । अन्सारी राष्ट्रिय टोलीका खेलाडी हुन् भने आलम पनि राष्ट्रिय टोलीकै पूर्वखेलाडी हुन् । 

क्रिकेटमा फिक्सिङ भएको शंकापछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले डिएसपी सुन्दर तिवारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएर घटनाको अनुसन्धान गरेको थियो । अनुसन्धानबाट फिक्सिङमा नेपाली र विदेशीसहित १० खेलाडी संलग्न देखिएकोमा विदेशी खेलाडी खेल सम्पन्न भएलगत्तै स्वदेश फर्किएका छन् । नेपाली खेलाडी फरार छन् । २७ पुसमा लिग सम्पन्न भएको थियो । 

‘टी–२० क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको र यसमा नेपाली तथा विदेशी गरी १० खेलाडी संलग्न भएको देखिन्छ । दुईजना पक्राउ परेका छन्, आठजनाविरुद्ध खोजी जारी छ,’ सिआइबीका एसएसपी दिनेश आचार्यले भने, ‘घटनाको विस्तृत विवरण मंगलबारसम्म आउला ।’ 

सिआइबीका अनुसार फिक्सिङको ‘मास्टर माइन्ड’ भारतीय नागरिक जितिन आहुवालिया हुन् । जितिनले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्बाट नेपाल टी–२० लिगको प्रसारण अधिकार लिएका छन् । लिगको आगामी आठ वर्षसम्मको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मा सेभेन थ्री स्पोर्टस्ले लिएको छ । यसबापत उसले नेपाल क्रिकेट संघलाई ३२ करोड रुपैयाँ बुझाउने सम्झौतामा उल्लेख छ । 

सिआइबीका अनुसार प्रसारण अधिकार लिएका उनै जितिनमार्फत आलमले फिक्सिङको प्रस्ताव सकारेका थिए । अन्सारीलगायत खेलाडी त्यसपछि जोडिएका थिए । जितिन लिग जारी रहेकै वेला भागेर भारत गएका थिए । पक्राउ पर्ने भएपछि उनी रातारात भागेको प्रहरीको भनाइ छ । 

फिक्सिङको छानबिन गर्न नेपाल आएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को ‘एन्टिकरप्सन टिम’ले पनि फिक्सिङमा जितिन, अन्सारी, आलमलगायत खेलाडी संलग्न भएको सूचना सिआइबीलाई दिएको थियो । सँगै फिक्सिङको प्राविधिक जाँच पनि गरिरहेको थियो । जाँचका क्रममा देखिएका संदिग्ध खेलाडीको नाम समावेश गरी आइसिसीले सिआइबीलाई शुक्रबार नै प्रतिवेदन बुझाएको थियो । 

आइसिसीले प्रतिवेदनमा उल्लेख गरेको संदिग्ध खेलाडीको नाम र सिआइबीले अनुसन्धान गरिरहेको संदिग्ध खेलाडी एकै रहेको सिआइबीको भनाइ छ । सिआइबी प्रमुख एआइजी उत्तमराज सुवेदीले आइसिसीको प्रतिवेदनसँग र सिआइबी अनुसन्धान ९० प्रतिशत मेल खाएको बताए । 

उनले भने, ‘स्पट फिक्सिङको सन्दर्भमा सिआइबी अनुसन्धानरत छ । यस क्रममा हामीले आइसिसीबाट भएको छानबिनको प्रतिवेदन पनि पाएका छौँ । प्रतिवेदनमा उल्लेख भएका विवरण र हाम्रो अनुसन्धान ९० प्रतिशत मिलेको छ । आइसिसीले जहाँ–जहाँ शंका गरेको छ, त्यहाँ हाम्रो पनि शंका थियो । हामीले त्यसैमा अनुसन्धान गरिरहेका छौँ । यसबाट लिगमा फिक्सिङ भएको पुष्टि हुन्छ ।’

यसरी गर्‍यो सिबिआईले अनुसन्धान
‘स्पट फिक्सिङ’ गर्दा खेलाडीसँग विकेट, रन र बलिङका क्रममा व्यक्तिगत तवरले ‘डिल’ हुन्छ । जसको जानकारी टिम क्याप्टेनलाई समेत थाहा हुँदैन । प्रहरीले यसैलाई आधार बनाएर अनुसन्धान प्रक्रियालाई साँघुरो बनाएको थियो ।

यसक्रममा प्रहरीले संदिग्ध खेलाडीले विगतका खेलमा गरेको बलिङ, लिएको रन र विकेटलाई गत २७ पुसमा सम्पन्न लिगका क्रममा भएको बलिङ, लिएको रन र विकेटसँग तुलना गरेको थियो । यसका लागि प्रहरीले खेलका क्रममा खिचिएका भिडियोलाई आधार बनाएको थियो । तुलना गर्दा खेलाडीले गरेको बलिङ, लिएको रन र विकेट स्पष्ट बुझिने गरी फरक देखिएको सिआइबी प्रमुख एआइजी सुवेदीले बताए । 

उनले भने, ‘स्पट फिक्सिङ अनुसन्धान सिआइबीका लागि नौलो र चुनौतीपूर्ण थियो । यस्तोमा घटना प्रमाणित गर्न मुस्किल हुन्छ । हामीले यसमा खेलाडीले विगतका खेलमा देखाएको ‘पर्फर्मेन्स’लाई भिडियोमा हेर्‍यौँ । २७ पुसमा सम्पन्न खेलको ‘पर्फर्मेन्स’ पनि हेर्‍यौँ । तुलना गर्दा देखिने गरी फरक पायौँ । त्यसबाहेक पनि हामीले विविध ‘टेक्निक’ अनुसन्धानका क्रममा प्रयोग गरेका छौँ । जसले फिक्सिङ भएको पुष्टि गर्छ ।’