१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १८:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चन्दाकाे भरमा गाउँमै सामुदायिक क्याम्पस सञ्चालन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:२७:oo

सप्तरीको पश्चिम उत्तरी क्षेत्रमा पर्ने सुरुंगा नगरपालिका १ शिशुवारीवासीले चन्दाको भरमा स्नातक तहसम्मको सामुदायिक क्याम्पस सञ्चालन गरिरहेका छन्। 

गाउँमा क्याम्पस सञ्चालनका लागि स्थानीयले व्यक्तिगत रूपमा १० हजार रुपैयाँ नगददेखि तीन लाख रुपैयाँसम्मको जग्गा दान दिएका छन्। 

स्थानीय नारायणप्रसाद पराजुलीले अहिलेको बजार मूल्यअनुसार करिब तीन लाख रुपैयाँबराबरको दुई कठ्ठा जग्गा क्याम्पसको नाममा रजिस्ट्रेसन गरिदिएका छन् भने स्थानीय गाउँले, सांसद, छिमेकी उदयपुर र सिराहाका मनकारीहरूले क्याम्पसलाई १० हजार रुपैयाँदेखि ५१ हजार रुपैयाँसम्म नगद सहयोग गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष छत्रबहादुर राउतले बताए। 

अध्यक्ष राउतका अनुसार गाउँमा स्नातक तहसम्मको क्याम्पस सञ्चालन गर्न सुरुंगा नगरपालिकासहित नगर क्षेत्रका सामान्य किसानदेखि सरकारी सेवामा रहेका कर्मचारी, सर्वसाधारण, शिक्षक, विद्यालयहरूले सहयोग गरेका छन्।

क्याम्पसका लेखापाल ज्ञानेन्द्र धमलाका अनुसार स्थानीयले नौ वर्षको अवधिमा क्याम्पस सञ्चालनका लिग १७ लाख नगद सहयोग गरेका छन्। 

आर्थिक वर्ष ०७८-७९ मा सुरुंगा नगरपालिका कार्यालयबाट दुई लाख ५० हजार, त्रिभुवन विश्वविद्यालयबाट नियमित अनुदान नौ लाख ६ हजार र पुस्तक खरिदका लिग दुई लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको लेखापाल धमलाले बताए। 

‘क्याम्पसको आफ्नै भवन नहुँदा स्थानीय जनता मा.वि.को स्वामित्वमा रहेको भवनमा दाताहरूले गरेको आर्थिक सहयोगको भरमा क्याम्पस चलाउँदै आएका थियौँ’। क्याम्पस प्रमुख कृष्णप्रसाद तिम्सिनाले भने, ‘शिक्षकहरूले कैयौँ महिना तलब नपाए पनि कक्षा सञ्चालन रोकिएन।’ 

पछिल्लो समय क्याम्पसमा सहयोग गर्नेहरूको संख्या बढ्दै गएपछि शिक्षकहरूलाई नियमित तलब खुवाउन सहज हुनुका साथै तराई मधेस समृद्धि कार्यक्रममार्फत चारकोठे पक्की भवन निर्माण भएपछि आफ्नै भवनमा नियमित कक्षा सञ्चालन भइरहेको क्याम्पस प्रमुख तिम्सिनाले उल्लेख गरे। 

उनका अनुसार त्रिविको सम्बन्धनमा उक्त क्याम्पसमा चारवर्षे स्नातकतर्फ नेपाली, अंग्रेजी र जनसंख्या विषय र १०+२ तर्फ शिक्षा र व्यवस्थापन संकायको कक्षा चलाउन तीन कर्मचारी तथा पूर्णकालीन र आंशिक गरी १० जना शिक्षकहरूले अध्यापन गरिरहेका छन्। 

उदयपुरको रौतामाई, उदयपुुरगढी, त्रियुगा र सप्तरीको सुरुंगा नगर क्षेत्रका १०+२ र स्नातक तहमा गरी दुई सय १६ जना विद्यार्थीहरू पढिरहेको उनले बताए। 

जिल्ला सदरमुकाम राजविराज, सिराहाको लहान र उदयपुरको गाईघाट तीनवटै ठाउँमा विपन्न विद्यार्थीहरूले आर्थिक रूपले पढ्न नसक्ने भएपछि गाउँमै चन्दा उठाएर क्याम्पस सञ्चालन गरिएको स्थानीय अभिभावकहरू बताउँछन्। 

गाउँलेहरूका अनुसार उदयपुरका विद्यार्थीहरू शिशुवारीमा रहेका आफन्तको घरमा र कतिपय गाउँमै डेरा लिएर क्याम्पस पढिरहेका छन्। 

तेस्रो कार्यकालका लागि अध्यक्षमा पुनः राउत 

२०६९ सालमा स्थानीयले स्थापना गरेको क्याम्पस सञ्चालक समितिको अध्यक्षमा तेस्रो तीनवर्षे कार्यकालका लागि पुनः छत्रबहादुर राउत (राजकुमार) चयन भएका छन्।

क्याम्पस परिसरमा सोमबार भेला भएका जग्गादाता, अभिभावकहरूको भेलाले सर्वसम्मत रूपमा राउतलाई पुनः तेस्रो कार्यकालका लागि सञ्चालक समिति अध्यक्ष चयन भएका हुन्। 

समितिका काशीकुमार कार्की, निर्मला खत्री, मानबहादुर खत्री, मीनाकुमारी मगर, प्रेमकुमारी थापामगर, दुर्गबहादुर भुजेल, टेकबहादुर राउत र सदस्यसचिवमा क्याम्पस प्रमुख तिम्सिना तोकिएका छन्। 

‘क्याम्पसको शैक्षिक विकास र भौतिक पूर्वाधार विकास गर्न जनप्रतिनिधिसमेत रहेका युवा समाजसेवी राउतको विशेष भूमिकाको कदर गर्दै तेस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरिएको हो,’ स्थानीय अभिभावकसमेत क्याम्पसका जग्गादाता पराजुलीले भने। 

पछिल्लो नौ वर्षदेखि सञ्चालन भइरहेको स्नातक तहसम्म अध्यापन हुने क्याम्पसको विकासका लागि राउतको समन्वयकारी भूमिका प्रशंसनीय रहेको क्याम्पसका संस्थापक अध्यक्ष रामबहादुर राउतले बताए। 

सिराहा र उदयपुर जिल्लाको छिमेकीसमेत रहेको शिशुवारी गाउँका बहुसंख्यक विपन्न परिवारका विद्यार्थीहरूले आर्थिक अभावमा उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नौ वर्षदेखि गाउँमा चन्दा उठाएरै स्नातक तहसम्मको नियमित कक्षा सञ्चालन गरिरहेको संस्थापक अध्यक्ष राउतले उल्लेख गरे। 


 

ad
ad