१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ जेठ १ मंगलबार o७:४३:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चार जीवन बिमा कम्पनीले पुँजी थप गर्ने

हकप्रद र आइपिओ गरी दुई अर्ब ७५ करोडको सेयर जारी गर्न पाउने

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:४३:oo

नेपाल बिमा प्राधिकरणले तोकेको पुँजी जुटाउन नयाँ चारवटा जीवन बिमा कम्पनीका सञ्चालकहरूले पुँजी जुटाउने भएका छन् । सिटिजन्स लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, आइएमई लाइफ र रिलायबल लाइफ इन्स्योरेन्सले दुई अर्ब ७५ करोडबराबरको प्राथमिक र हकप्रद सेयर जारी गर्न पाउनेछन् । 

प्राधिकरणको निर्देशनअनुसार जीवन बिमा कम्पनीहरूले पाँच अर्ब चुक्ता पुँजी कायम गर्नुपर्नेछ । प्राधिकरणको तथ्यांकअनुसार सिटिजन्स लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ७५ करोड छ । त्यस्तै, सन नेपाल इन्स्योरेन्सको दुई अर्ब २४ करोड, आइएमई लाइफ इन्स्योरेन्सको दुई अर्ब ८० करोड, रिलायबल लाइफ इन्स्योरेन्सको दुई अर्ब ८० करोड चुक्ता पुँजी कायम छ । 

चार कम्पनीका सञ्चालकले एक अर्ब ४० करोडबराबरको पुँजी थप गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ । त्यस्तै, कम्पनीहरूले सर्वसाधारणका लागि ३० प्रतिशत प्राथमिक सेयर जारी गर्न पाउनेछन् । कम्पनीहरूले डेढ अर्बबराबरको आइपिओ जारी गर्न पाउनेछन् । आइपिओ र हकप्रदपछि कम्पनीको पुँजी पुग्ने प्राधिकरणको दाबी छ । 

एलआइसीमा पुँजी थप गर्न भारत तयार, थप्ने भयो एक अर्ब २९ करोड 
नेपाल बिमा प्राधिकरणको निर्देशनअनुसार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)मा भारत सरकार पुँजी थप गर्न तयार भएको छ । कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६५ करोड रुपैयाँ छ । जसमा अब दुई अर्ब ३४ करोड थप गर्नुपर्छ । भारतीय सरकारले एक अर्ब २९ करोड रुपैयाँ थप गर्ने भएको छ । भारत सरकारले आगामी चैत महिनासम्ममा रकम कम्पनीमा हस्तान्तरण गरिसक्ने प्राधिकरणले जनाएको छ । 

एलआइसी नेपालमा भारत सरकारको स्वामित्वमा सञ्चालित भारतीय जीवन बिमा निगमको ५५ प्रतिशत लगानी छ । त्यस्तै, नेपाली विशाल समूहको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत लगानी छ । अर्थात्, कम्पनीमा भारतीय जीवन बिमा निगमको एक अर्ब ४५ करोड ९२ लाख रुपैयाँ लगानी छ । विशाल समूहको ६६ करोड ३३ लाख छ भने सर्वसाधारणको ५५ करोड पाँच लाख रुपैयाँ छ । 

प्राधिकरणले पुँजी कायम गर्न कम्पनीहरूलाई बोनस, मर्जर र सञ्चालकले पुँजी थप गर्न पाउने विकल्प दिएको थियो । नगद लाभांश वितरणमा भने रोक लगाएको छ । तर, एलआइसी नेपालको हकमा भने प्राधिकरणले नगद लाभांश वितरणमा छुट दिएको छ । एलआइसी जोइन्ट भेन्चरमा खोलिएको कम्पनी भएकै कारण नगद लाभांशको सुविधा दिइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता राजुरमण पौडेलले बताए । 

प्राधिकरणले दिएको सुविधाको प्रयोग गर्दै एलआइसी नेपालले ८८.४५१६ प्रतिशत (दुई अर्ब ३४ करोड ६८ लाख) हकप्रद जारी गर्ने भएको छ । यसका लागि प्राधिकरणबाट अनुमतिसमेत पाइसकेको छ । भारत सरकारले सोही हकप्रदबापत लगानी गर्ने भएको हो । त्यस्तै, विशाल समूहले ५८ करोड ६७ लाख रुपैयाँ थप्नेछ भने सर्वसाधारणबाट ४६ करोड ९३ लाख ५९ हजार रुपैयाँ संकलन गर्नेछ । हकप्रदपछि कम्पनीको चुक्ता पुँजी पाँच अर्ब पुग्नेछ ।

 मर्जरपछि पनि बिमा कम्पनीका चुक्ता पुँजी पुगेन 
चुक्ता पुँजी कायम गर्न मर्ज भएका बिमा कम्पनीहरूको समेत चुक्ता पुँजी कायम हुन सकेको छैन । भदौदेखि हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्ज भएर एकीकृत कारोबार सुरु भइसकेको छ । मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी दुई अर्ब २३ करोड पुगेको छ । त्यस्तै, कम्पनीले ६ करोड १५ लाख २.७५ बोनस वितरण गर्ने भएको छ । यद्यपि, कम्पनीको २४ करोड पुँजी थप गर्नुपर्नेछ । 

त्यस्तै, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्जर भएर कात्तिकदेखि सानिमा जनरल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको छ । मर्जरपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब पुगेको छ । कम्पनीले अझै ५० करोड रुपैयाँ गर्नुपर्नेछ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जर भएर सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत पुसदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । मर्जरपछि कम्पनीको पुँजी चार अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । कम्पनीले अझै ४६ करोड रुपैयाँ थप गर्नुपर्नेछ । उसो त कम्पनीहरूले २५ प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न पाउनेछन् । 

पुँजी नजुटाउने कम्पनीको हकमा प्राधिकरणले निर्णय गर्छ 
राजुरमण पौडेल, प्रवक्ता एवं प्रमुख कार्यकारी अधिकृत, नेपाल बिमा प्राधिकरण

पुँजी थप गर्ने विषयमा प्राधिकरणले कम्पनीअनुसारको व्यवस्था गरेको छ । नेपालमा सञ्चालित कम्पनीहरूको प्रकृति फरक खालको छ ।

फरक खालका कम्पनीलाई एउटै नियम लागू गर्न सम्भव हुँदैन । त्यसैले कम्पनीअनुसारको ट्रिट गरिएको छ । यद्यपि, तोकिएको समयमा पुँजी जुटाउन नसक्ने कम्पनीको हकमा प्राधिकरण आफैँले निर्णय लिन सक्छ । पुँजी कायम गर्न कम्पनीहरूलाई बोनस, मर्जर र सञ्चालकले पुँजी थप गर्न पाउने विकल्प दिएको थियो । 

ad
ad