मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७९ माघ ९ सोमबार ०६:२०:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मामाघर हिँडेका जनकपुरका दुई युवाको भारतमा अपहरणपछि हत्या

Read Time : > 3 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७९ माघ ९ सोमबार ०६:२०:००

भारतको बिहार मामाघर गएका जनकपुरधामका दुई युवाको अपहरणपश्चात् हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका– ८ का रामबाबु साहका २२ वर्षीय छोरा रोहितकुमार र जनकपुरधाम– १३ का गणेश साहका २० वर्षीय छोरा विष्णुकुमारको बिहारको सीतामाढी जिल्ला परिहार गाउँमा अपहरणपछि हत्या भएको हो । 

परिवारका अनुसार दुवैजना २७ पुसमा जनकपुरस्थित घरबाट मोटरसाइकलमा निस्किएका थिए । सोही दिन उनीहरू अपहरणमा परेका हुन् । अपहरणमा परेको १२ दिनपछि उनीहरूको शव आइतबार नेपाल र भारतका प्रहरीको संयुक्त टोलीले सीतामाढी जिल्लाको पर्साग्राम थानाअन्तर्गत पर्सा गाउँको चौरीमा भेटाएको हो ।

बोरामा बाँधेर गाडिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्काले बताए । दुवैको शव सडेको अवस्थामा भेटिएको धनुषा प्रहरीले जनाएको छ । शवको अवस्था हेर्दा उनीहरूलाई अपहरणको दुई–चार दिनपछि नै मारेर गाडेको हुन सक्ने प्रहरी आकलन छ । मृतकमध्ये रोहितको शव बढी सडेकाले उनको पहिला हत्या भएको हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । दुवैको शव सीतामाढीस्थित सरकारी अस्पतालमा पोस्टमार्टमपश्चात् जनकपुरधाम ल्याउन लागिएको छ । 

घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ, तर अपहरण र हत्याको कारण खुल्न सकेको छैन । प्रहरीले भारतमा चार र नेपालमा दुईजनालाई पक्राउ गरेको हो । बिहारको आपराधिक समूहले उनीहरूलाई योजनाबद्ध रूपमा अपहरण गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

रोहितले जनकपुरधामस्थित मिटमा कक्षा १२ को परीक्षा दिएका थिए भने विष्णु जनकपुरको एक स्कुलमा कक्षा १२ मा अध्ययनरत थिए । विष्णु विवाहित हुन्, उनकी एक छोरी छिन् । दुवैजना परिवारका एक्ला छोरा थिए । अपहरणपछि हत्या गरिएका युवा सामान्य आर्थिक अवस्था भएका परिवारका हुन् । 

मृतक रोहितले जनकपुरधामस्थित मिट क्याम्पसमा कक्षा १२ को परीक्षा दिएका थिए भने विष्णु जनकपुरको एक क्याम्पसमा कक्षा १२ मा अध्ययनरत थिए । विष्णु विवाहित हुन्, उनकी एक छोरी छिन् । दुवैजना परिवारका एक्ला छोरा थिए । 
अपहरणपछि हत्या गरिएका युवा सामान्य आर्थिक अवस्था भएका परिवारका हुन् । प्रहरीले विष्णु चढेर गएको मोटरसाइकलमा भारतीय नम्बरको प्लेट लगाएको अवस्थामा बरामद गरेको छ । 

फिरौती बुझाउन फोन कुर्दाकुर्दै शव भेटियो 
रोहित र विष्णु नाताले दाजुभाइ पर्छन् । रोहितले विष्णुलाई परिहारमा आफ्नो मामाको घरमा छठियारको भोज रहेको र त्यहाँ सँगै जाने प्रस्ताव गरेका थिए । त्यसपछि उनीहरू २७ पुसमा परिहार जान मोटरसाइकलमा निस्के । तर, परिहारस्थित रोहितको मामाघर नपुग्दै दुवै अपहरणमा परे । अपहरणमा परेको दुई दिनपछि विष्णुका बुबा गणेशको मोबाइलमा भारतीय फोन नम्बरबाट एक अपरिचित व्यक्तिको कल आयो । उनले छोरा अपहरणमा परेको भन्दै छुटाउन १० लाख रुपैयाँ फिरौती मागे । 

न्यायको पहल गरिदिन जनकपुरधामका उपमेयर किशोरी साहसँग आग्रह गर्दै विष्णुका हजुरबुबा राजकिशोर (बायाँ)

छोरा अपहरणमा परेको जानकारी पाएलगत्तै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, धनुषामा घटनाबारे जानकारी गराए । त्यसको दुई दिनपछि पुनः अपहरणकारीले गणेशको मोबाइलमा फोन गरी ५० लाख रुपैयाँ मागे । यसपालि अपहरणकारीले पैसा नदिए छोरालाई मार्ने धम्की दिए । 

पीडित परिवार हरहालतमा छोरा बचाउन चाहन्थे । त्यसैले अपहरणकारीसँग संवाद गर्नुको विकल्प थिएन । विष्णुका हजुरबुबा राजकिशोर साह भन्छन्, ‘त्यसपछि ५० लाख दिने क्षमता नभएको हुँदा बढीमा २० लाख दिन सक्छौँ भनेर हारगुहार गर्‍यौँ । उनीहरू २० लाखमा सहमत भए । पैसा लिएर मलंगवा नाकाको सोनबसावरिपरि आउन भने । त्यति पैसा आफूसँग नरहेको, अरूसँग सरसापटी लिनुपर्ने र बिदा भएकाले बैंक पनि बन्द हुने हुँदा एक–दुई दिन लाग्ने भन्दै पर्खिन आग्रह गर्‍यौँ ।’ 

अपहरणकारीले २० लाखमा सहमति जनाए । परिवारले विष्णुसँग फोन संवाद गराउन आग्रह गरे, तर अपहरणकारीले कुरा गराएनन् । राजकिशोरका अनुसार अपहरणकारीले विष्णुको अडियो मात्र सुनाए । ‘उनीहरू बोलेको अडियो मात्रै सुनाए, अडियोमा पापा यिनीहरूले जे भनिरहेका छन्, त्यो दिइहाल्नुस्, नत्र मलाई मारिदिन्छ भन्यो । त्यसपछि मेरो छोरा (गणेश) सबै नातेदारहरू, गाउँपरोसका साहुमहाजनसँग सरसापटी गरी २० लाख पु¥याउने जोहोमा लागे,’ राजकिशोरले सुनाए ।

छोरा अपहरण भएको दिन थपिँदै थिए, तर पीडित परिवारसँग विकल्प साँघुरिँदै गए । त्यसैले परिवारजन छिमेकीलाई लिएर जनकपुरधाम गए, मेयर मनोज साह र सांसदहरू रघुवीर महासेठ तथा जुली महतोलाई भेटे । घटनाको बेलीविस्तार सुनाए र सहयोगको याचना गरे ।

राजकिशोर भन्छन्, ‘उहाँहरूले मेरैसामुन्नेमा एसपी सा’बलाई फोन पनि गर्नुभयो । तैपनि प्रहरीले घटनामा खासै चासो लिएन ।’ प्रहरीले अनुसन्धानका लागि खर्च मागेको पीडितको आरोप छ । गाडीमा तेल हाल्नुपर्छ भनेर ६ हजार र खानपिनका लागि भनेर थप ६ हजार मागिएको राजकिशोरको भनाइ छ । 

विष्णुका बुबा २० लाख रुपैयाँको बन्दोबस्त गरी अपहरणकारीको फोनको प्रतीक्षा गरिरहेका थिए । अपहरणकारीको फोन आएपछि पैसा लिएर जान्छु भनेर तयारी अवस्थामा थिए, तर फोन आएन । राजकिशोर भन्छन्, ‘अपहरणकारीले गरेको नम्बरमा फोन गर्दा स्विच्ड अफ थियो । त्यसपछि झन् हाम्रो चिन्ता बढ्यो ।’ 

आइतबार बिहान करिब ३–४ बजे भारतबाट एक्कासि फोन आयो– छोरा भेटियो भनेर । साह परिवार खुसी भयो । ‘छोरा ४ बजे नै मोटरसाइकलमा निस्किए । त्यहाँ पुग्दा त विष्णुको लास पो भेटियो,’ ६५ वर्षका राजकिशोरले भने, ‘छोराले फोनमै जानकारी दिएपछि घरमा रुवाबासी भयो ।’

सुरुमा प्रहरीले अनुसन्धानमा बेवास्ता गरेको पीडित परिवारको गुनासो छ । ‘एकजना शंकास्पद व्यक्तिलाई अपहरण भएको दुई दिनपछि नै नियन्त्रणमा लिई अनुसन्धान गर्न पनि प्रहरीलाई भन्यौँ,’ राजकिशोर भन्छन्, ‘तर, प्रहरीले उनलाई समात्न आनाकानी गरिरह्यो । शनिबार मात्रै त्यो व्यक्तिलाई प्रहरीले पक्राउ गर्‍यो । अनि मात्रै घटना बाहिर आयो ।’ 

धनुषाका एसपी खड्का भने घटनाको जानकारी पाएलगत्तै आफूहरूले भारतीय प्रहरीसँग समन्वय गरी अनुसन्धान थालेको बताउँछन् । प्रहरीले अनुसन्धानमा कुनै चुक नगरेको दाबी गर्दै उनले भने, ‘भारतीय प्रहरीको समन्वयविना खोजतलास वा छापामारी गर्न सक्दैनौँ, त्यसकारण अनुसन्धानमा केही कठिनाइ आउनु स्वाभाविक नै हो । तर, त्यस्तो कुनै लापरबाही भएको छैन ।’