
स्वास्थ्य तथा जनस्वास्थ्यमन्त्री पदम गिरीले सिकलसेल एनिमियाका बिरामीलाई आवश्यक पर्ने औषधि स्वास्थ्य बिमा कार्यक्रममा समावेश गर्ने बताएका छन्। बाँकेमा फैलिएको दादुरा रोगको बारेमा जानकारी लिन नेपालगन्ज आएका मन्त्री गिरीले सिकलसेल एनिमियाका बिरामीले पाउँदै आएको उपचार सुविधालाई सर्वसुलभ बनाउन स्वास्थ्य बिमा कार्यक्रममा समावेश गरिने बताए।
‘सिकलसेलका बिरामीलाई एक लाख रुपैयाँ दिनुभन्दा बिमा कार्यक्रममा समेट्दा उपचार प्रभावकारी हुने देखिन्छ,’ पत्रकारले सोधेको जिज्ञासामा उनले भने, ‘ब्लड प्रेसर, सुगरको औषधिजस्तै सिकलसेलको औषधि पनि बिमामा समेट्न निर्देशन दिइसकिएको छ।’
उनले धार्मिक तथा सामाजिक कारणले आफ्ना बालबालिकालाई दादुराविरुद्धको खोप नलगाएका कारण दादुरा फैलिएको बताए। लक्षित समूहका बालबालिकाको घरदैलोमै गएर खोप लगाउने व्यवस्था मिलाइएको बताए। ‘सबै बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने प्रबन्ध गरिएको छ। आवश्यक पर्ने खोप तथा स्रोत, साधनको व्यवस्था सरकारले गर्नेछ,’ मन्त्री गिरीले भने।
अर्को एक कार्यक्रममा मन्त्री गिरीले भेरी अस्पताललाई सुविधा सम्पन्न बनाउन राज्यले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता गरे। भेरी अस्पतालमा जडान भएका थप डायलाइसिस मेसिनको आइतबार उद्घाटन गर्दै उनले भेरी अस्पताललाई भौतिक पूर्वाधार तथा प्रविधियुक्त बनाउने योजना सुनाए।
उनले सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न राज्यले नीति बनाएको बताए। ‘औषधि उपचारको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ राज्य अगाडि बढेको छ,’ उनले भने। उनले स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउने बताउँदै बिमाबापत भेरी अस्पतालले पाउनुपर्ने रकम उपलब्ध गराउन पहल गर्ने आश्वासन दिए।