मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रतिनिधिसभाको उपसभामुखमा उम्मेदवारी दिएका सत्तागठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र विपक्षी गठबन्धनबाट कांग्रेसकी मुक्ताकुमारी यादव । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ७ शनिबार ०६:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपसभामुखमा दुईजनाको उम्मेदवारी, आज मतदान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ७ शनिबार ०६:३५:००

प्रतिनिधिसभाको उपसभामुखमा दुईजनाको उम्मेदवारी परेको छ । सत्तागठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र विपक्षी गठबन्धनबाट कांग्रेसकी मुक्ताकुमारी यादवले शुक्रबार मनोनयन दर्ता गराएका हुन् । 

उपसभामुखको निर्वाचनका लागि शनिबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । उपसभामुख पदको निर्वाचन मत विभाजनबाटै हुने संसद् सचिवालयले जनाएको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा उपसभामुख चुन्न बहुमत अर्थात् एक सय ३८ संख्या आवश्यक पर्छ । 

अर्जुनधारा– ८ निवासी समानुपातिकतर्फबाट निर्वाचित रानालाई एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपा २०, राप्रपा १४, जसपाको १२, जनमत पार्टी ६ सांसदको समर्थन निश्चित छ । सहिदनगर– १ धनुषानिवासी समानुपातिक सांसद यादवलाई कांग्रेसका ८८, एकीकृत समाजवादीको १०, लोसपाका चार र जनमोर्चाका एक सांसदको समर्थन पक्का छ । 

एक सिट भएको नेमकिपाले कसलाई मत दिने भन्ने तय गरिसकेको छैन । सभामुखमा सत्तापक्षलाई समर्थन गरेका स्वतन्त्र तीनजना सांसदले पनि उपसभामुखको मतबारे टुंगो गरिसकेका छैनन् । 

सत्तागठबन्धनकी उम्मेदवार रानालाई रास्वपाकी सोविता गौतमले उपसभामुखमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेकी थिइन् भने एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादीका नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन गरेका थिए । 

विपक्षी गठबन्धनबाट कांग्रेस महामन्त्री बद्री पाण्डेले उपसभामुखमा यादवलाई प्रस्ताव गरेका थिए भने एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्लाले समर्थन गरेका थिए ।

सत्तागठबन्धनकी उम्मेदवार राना समाजसेवामा क्रियाशील छिन् । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गरिरहेकी इन्दिरा बन्दी सहायता नेपाल नामक संस्थाको संस्थापक हुन् । उनले दुई दशक लामो मानवीय सेवा अभियानमा अभिभावकत्व गुमाएका हजारौँ बालबालिकालाई आश्रय दिएकी छिन् । सन् २०१७ मा बिबिसीको एक सयजना प्रेरणादायी महिलाको सूचीमा परेकी उनले कैदीबन्दीका रूपमा रहेका आमाबुबाका छोराछोरीलाई शिक्षामा सहयोग गरेकी छिन् । 

विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी यादव ०५३ सालदेखि राजनीतिमा सक्रिय छिन् । कांग्रेसनिकट नेपाल महिला संघ जिल्ला कार्यसमिति सदस्यबाट राजनीति थालेकी मुक्ता ०५७ सालमा शिक्षक संघको केन्द्रीय प्रतिनिधि भएकी थिइन् ।

०७० मा दोस्रो संविधानसभामा धनुषाबाट समानुपातिक सांसद रहेकी मुक्ता ०७४ मा मधेसबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी थिइन् । राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल पूरा गरेकी मुक्ताको चर्चा कांग्रेसको १४औँ महाधिवेशनमा भएको थियो । महाधिवेशनबाट केन्द्रीय कमिटीमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी मुक्तालाई कांग्रेसले ४ मंसिरमा सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य मनोनीत गरेको छ । 

सत्तागठबन्धनबाट उम्मेदवारी दिएकी रानाले आमजनता र देशलाई भलो हुने भूमिका खेल्ने प्रतिबद्धता जनाइन् । उम्मेदवारी दिँदै यादवले आफू उपसभामुख पदका लागि सक्षम भएकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरिन् । आफू मधेसको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेकाले सबै दलको मत पाउने उनले विश्वास गरिन् । आफू निर्वाचित भए तटस्थ भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता थियो । दलभन्दा माथि उठेर मत पाउने उनको दाबी छ ।