मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
देश/विदेश
२०७९ माघ ६ शुक्रबार ०८:२३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विश्व चीन–अमेरिका सम्बन्धमा सुधार चाहन्छ

वासिंगटनको विदेशनीति अमेरिकी एवं चिनियाँ जनताको इच्छामा आधारित हुनुपर्छ, एउटालाई सिध्याएर अर्काले जित्ने नभई परस्पर हित हुने नीति लागू गर्नुपर्छ

Read Time : > 2 मिनेट
देश/विदेश
२०७९ माघ ६ शुक्रबार ०८:२३:००

अमेरिकी अर्थमन्त्री जेनेट येलेनले अफ्रिका भ्रमण गर्नुअघि बुधबार स्विट्जरल्यान्डमा चिनियाँ उपप्रधानमन्त्री लिउ हेसँग वार्ता गरेका छन् । उपप्रधानमन्त्री लिउ चीन–अमेरिका बृहत् आर्थिक संवादका चिनियाँ पक्षका प्रमुख पनि हुन् र उनी वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा भाग लिन डाभोस जाँदै छन् ।

यो प्रत्यक्ष वार्ता तीनपटकको अनलाइन भिडियो वार्तापछि गरिएको हो । यसबाहेक यो वार्ता यस वर्षको चीन र अमेरिकाका शीर्षस्तरका नेताको पहिलो हो । तसर्थ, यस वार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोसाथ हेरेका छन् । त्यसैगरी, अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेन यही ५ फेब्रुअरीमा चीनको राजकीय भ्रमणमा आउँदै छन् । स्मरण रहोस्, अमेरिकी विदेशमन्त्रीको चीन भ्रमण पाँच वर्षपछि हुँदै छ । 

स्विट्जरल्यान्डमा भएको अढाई घन्टाको वार्तामा व्यावसायिक, गम्भीर, व्यावहारिक एवं रचनात्मक विषयमा छलफल भएको थियो । बृहत् नीति सञ्चार र समन्वयमा सुधार गर्न र आर्थिक तथा वित्तीय क्षेत्रका समस्यालाई सम्बोधन गर्न मिलेर काम गर्नु आ–आफ्नो राष्ट्रका साथै सम्पूर्ण विश्वको हितमा रहेको भन्नेमा दुवै पक्ष सहमत भएका थिए । यसबाहेक चिनियाँ पक्षले अमेरिकाको चीनविरुद्ध लक्षित आर्थिक, व्यापार र प्रविधि नीतिप्रति चिन्ता व्यक्त गर्दै यी नीतिले दुवै पक्षलाई असर गर्नेछ भन्नेमा अमेरिकी पक्षले विचार गर्ने आशा चिनियाँ पक्षले व्यक्त गरेको छ ।

येलेनले चाँडै नै गर्ने चीन भ्रमणका लागि उत्साहित भएको बताएकी थिइन्, जसलाई चिनियाँ पक्षले स्वागत गरेको थियो । चीन र अमेरिकाले बाली शिखर सम्मेलनका लक्ष्य पूरा गरिरहेका छन् र क्रमशः कूटनीति, व्यापार र वाणिज्य क्षेत्रमा उच्चस्तरीय सञ्चार सुचारु गर्दै छन् भन्ने पनि पुष्टि हुन्छ ।

नयाँ वर्षको सुरुवातमा सामान्यतया परिस्थितिअनुकूल देखिन्छ अर्थात् लामो समयदेखिको तनावपूर्ण अमेरिका–चीन सम्बन्धमा सुधार आउँदै छ । विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धका रूपमा हामी चीन–अमेरिका सम्बन्धबाट द्वन्द्व र टकरावका नकारात्मक समाचारभन्दा शान्ति र विकासबारे सकारात्मक समाचार सुन्न चाहन्छौँ । सन् २०२३ मा हामी विवाद व्यवस्थापनका साथै दुवै राष्ट्रका पारस्परिक लाभकारी सहयोगको सुदृढीकरणमा केही प्रगति हुने आशा गर्छौं । लिउ र येलेनबीचको वार्ताले दुई पक्षले वित्त, अर्थतन्त्र र व्यापारका क्षेत्रमा साझेदारी गर्नुपर्ने स्पष्ट संकेत दिएको छ । 

द्विपक्षीय सम्बन्धमा सामना गर्नुपरेका महत्वपूर्ण चुनौतीका बाबजुद चीन र अमेरिकाबीचको व्यापारले सन् २०२२ मा कीर्तिमान कायम गरेको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिका आर्थिक एवं वित्तीय नीतिको समन्वयमा सुधार गर्न र व्यापार एवं वाणिज्य क्षेत्रमा साझेदारी गर्न जिम्मेवार छन् । उसो त यो काम गर्न यी दुई ठूला राष्ट्रका लागि कठिन छ तर यो अपरिहार्य काम हो ।

वास्तवमा यी माग एवं अपेक्षा बाँकी विश्वका मात्रै नभई स्वयं चिनियाँ र अमेरिकी नागरिकका पनि हुन् । चीनविरोधी विचारधारा निर्माण गर्ने र जनमतलाई प्रभावित पार्ने अमेरिकामा रहेका चीनविरोधी नेताबाहेक अधिकांश अमेरिकीलाई भूराजनीतिक विषयमा चासो छैन । आखिरमा चीन र अमेरिकाका जनता आफ्नो जीवन सुखी होस् भन्ने नै चाहन्छन् । वासिंगटनको विदेश नीति अमेरिकी एवं चिनियाँ जनताको इच्छामा आधारित हुनुपर्छ अर्थात् एउटालाई सिध्याएर अर्काले जित्ने नभई परस्पर हित हुने नीति लागू गर्नुपर्छ ।

उच्च मुद्रास्फीति अमेरिकामा अझै पनि विकराल समस्याका रूपमा रहेको छ र मन्दी अवश्यम्भावी देखिन्छ । चीनले महामारी रोकथाम र व्यवस्थापनका लागि आफ्नो नीतिलाई अनुकूलन र परिमार्जन गर्दै आर्थिक विकासमा थप प्रयास गरिरहेको छ । राजनीतिक मुद्दालाई एकातिर राख्ने हो भने चीन र अमेरिकाबीचको पारस्परिक लाभकारी सहयोगका क्षेत्र बढेका छन् ।

वासिंगटनले हालैका वर्षमा अन्तर्राष्ट्रिय सुरक्षा क्षेत्रमा शिविर खडा गर्ने काम गरेको छ र विश्वव्यापी अर्थतन्त्र एवं व्यापारमा ‘डिकपलिङ र ब्रेकिङ चेन्स’ (सम्बन्ध तोड्ने र छुट्टिने) लाई प्रोत्साहन गरेको छ, जसले सम्पूर्ण अन्तर्राष्ट्रिय वातावरणलाई उत्तेजित गरेको छ । यो अवस्था निम्त्याउन अमेरिका दोषी छ र अमेरिकाले नै यसको समाधान गर्नुपर्छ । अमेरिकाकै मात्र भर पर्न सकिने अवस्था छैन । ‘युएस निमिट्ज क्यारियर स्ट्राइक’ समूह लिउ र येलेनको वार्ताअघि साउथ चाइना सीमा सञ्चालन भइरहेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्ताको अघिल्लो दिन डच प्रधानमन्त्री मार्क रुटेलाई चीनविरुद्ध अमेरिकाको ‘चिप’ बहिष्कार अभियानलाई समर्थन गर्न मनाउने प्रयास गरिरहेका थिए । वार्तापछि येलेनले ‘चिनियाँ प्रभावको विरोध’ गर्ने उद्देश्यले अफ्रिकाको यात्रा गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । चीनप्रति अमेरिकी नीति पनि धेरै हदसम्म नकारात्मक छ र यसलाई तुरुन्तै सम्बोधन गर्न आवश्यक छ । वास्तवमा चीन–अमेरिका सम्बन्ध जटिल छ ।

यद्यपि अमेरिकी पक्षले चीनसँग सम्बन्ध सुधार गर्ने इच्छा राखेको देखिन्छ, तर सुधारको कदम चाल्नुअघि वासिंगटनमा केही तप्का दुई पक्षबीचको सम्बन्ध बिगार्न अघि सरिहाल्छन् । वासिंगटनका उग्र–राजनीतिक शक्तिले चीन–अमेरिका सम्बन्धको भविष्यलाई निकै कमजोर बनाएका छन् । चीन–अमेरिका सम्बन्ध केही हदसम्म स्थिर छ र पछाडि फर्कने ठाउँ छैन किनभने फर्किने हो भने भयानक द्वन्द्व निम्तिनेछ । तर, यसमा वासिंगटनकै पहलकदमी आवश्यक छ । दुई राष्ट्रको वार्षिक द्विपक्षीय व्यापार ७० खर्ब डलरबराबरको छ र यसलाई जोगाउन ‘नो वार’ अर्थात् ‘युद्ध छैन’ भन्ने अवस्थाबाट मात्रै चित्त बुझाउन सकिँदैन । यस अर्थमा वासिंगटनले अझै धेरै पहल लिन र धेरै गर्न आवश्यक छ । 

(चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सको १९ जनवरीको सम्पादकीय)