मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ माघ ६ शुक्रबार ०८:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बोतलको खानेपानी मूल्य समायोजन गर्न माग : ०७७ मै संसदीय समितिले दिएको सुझाव हालसम्म कार्यान्वयन भएन

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ माघ ६ शुक्रबार ०८:११:००

नेपाल बोटल वाटर उद्योग संघले बोतलको खानेपानीको मूल्य घटाउन माग गरेको छ । संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले तयार पारेको प्रतिवेदनका आधारमा संघले बोतलको पानीको मूल्य पुनः समायोजन गर्न वाणिज्य विभागसँग माग राखेको हो । 

०७७ मा समितिअन्तर्गतको बजार अनुगमन उपसमितिले बोतल र जारको पानीको मूल्य घटाउन सरकारलाई सिफारिस गरेको थियो । तर, हालसम्म बोतलको पानीको मूल्य समायोजन भएको छैन । यसलाई कार्यान्वयन गर्न वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई संघले घच्घच्याइरहेको संघका अध्यक्ष ध्रुव गौतमले बताए । बोतलको पानीको उपभोक्ता मूल्य १६ रुपैयाँ कायम रहने गरी घटाउन पहल गरिएकोे उनको भनाइ छ ।

‘हाल बोतलको पानीको मूल्य घटाउन पहल गरिरहेका छौँ,’ उनले भने, ‘तर, संघ एक्लैले मूल्य घटाएर कार्यान्वयन गर्न सक्दैन, यसमा सरकारी निकायको पनि सहयोग चाहिन्छ,’ गौतमले भने । उनले आफ्नै उद्योगले उत्पादन गरेको बोतलको पानी महँगो मूल्यमा किनेर पिउनुपर्ने अवस्था आएको बताए । उनका अनुसार जारको पानीको उत्पादन मूल्य महँगी र अन्य अवस्था हेर्दा सस्तो मानिन्छ । संघले जारको पानीको उपभोक्ता मूल्य ४७ रुपैयाँ तोके पनि सप्लायर्स र पसलेले ५० रुपैयाँसम्म लिने गरेका छन् । 

समितिको प्रतिवेदनले जारको पानीको मूल्यसमेत समायोजन गर्नुपर्ने औँल्याएको छ । तर, बजारमा सप्लायर्स र पसलेहरूले आफूखुसी गरेको संघको आरोप छ । उनीहरूले संघले तोकेभन्दा बढी मूल्यमा बोतल तथा जारको मूल्य लिने गरेका छन् । यसमा वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन र कारबाही गर्न सकेको छैन ।

हाल उद्योगहरूले प्रतिजार १८ रुपैयाँका दरले डिपो तथा सप्लायर्सलाई खानेपानी दिन्छन् । सप्लायर्सले पसलेलाई प्रतिजार २५–३० रुपैयाँले दिन्छन् । तर, पसलेले २० रुपैयाँ कमिसन खाएर प्रतिजार ५० रुपैयाँसम्ममा उपभोक्तालाई बेच्ने गरेका छन् । 

खानेपानी उद्योगहरूले प्रतिबोतल ११ रुपैयाँमा सप्लायर्स कम्पनीलाई पानी उपलब्ध गराउँछन् । सप्लायर्सले १६–२० रुपैयाँ र पसलले ३० रुपैयाँसम्म बेच्ने गरेका छन् । संघले पानी उद्योगहरूलाई १२ वटा बोतलसहितको पानीको कार्टुनलाई एक सय २० रुपैयाँभन्दा बढी नलिन निर्देशन दिँदै आएको छ । तर, संघसँग नजोडिएका कतिपय बिचौलियाले बोतल र जार तोकेभन्दा महँगोमा बेचेको अध्यक्ष गौतमले आरोप लगाए । हाल बिचौलियाका कारण जार र बोतलको खानेपानी दोब्बर महँगो भएको छ । पानी उद्योगहरूले सप्लायर्सलाई सस्तोमा पानी दिए पनि उनीहरूले झन्डै तेब्बर कमिसन खाँदा बोतल र जारको पानीमा उपभोक्ता मारमा परेका हुन् । देशभर वितरण गरिने जार र बोतलको पानी सोझै उद्योगबाट उपभोक्ताकहाँ पुग्दैन ।

पानी उद्योग छ्यापछ्याप्ती, छैन अनुगमन 
हाल उपत्यकामा एक सय ५० वटा निजी पानी उद्योग संघसँग आबद्ध छन् । यी उद्योगहरूले सिंहदरबारदेखि मुख्य सरकारी कार्यालय, होटेल, रेस्टुराँलगायत उपत्यकाभर जार र बोतलको पानी सप्लाई गर्छन् । यसबाहेक गैरकानुनी तवरले खुलेका पानी उद्योगले पनि लुकीछिपी उपत्यकामा पानी सप्लाई गर्छन् । पछिल्लो समय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग विभागले आफूखुसी पानी उद्योग दर्ताको अनुमति दिँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको संघले जनाएको छ । 

विभागको तथ्यांकअनुसार हाल नेपालमा दर्ता भएका खानेपानी उद्योग पाँच सयभन्दा बढी छन् । यीमध्ये केही करको दायरामा आएका छैनन् भने केही उद्योगले कर छली गरेका छन् । दर्तैविना सञ्चालन भइरहेका उद्योग पनि थुप्रै रहेको संघले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्यले खानेपानी उद्योग दर्ता प्रक्रियामा कडाइ गरिएको र गल्ती गर्नेलाई विभागले कारबाही गरेको दाबी गरिन् । ‘हामीकहाँ दर्ता भएका उद्योगहरू नियमसंगत रूपमा चलेका छन् र चल्नुपर्छ,’ उनले भनिन्, ‘उनीहरूले पानीको मुख्य र गुणस्तरीयतामा ध्यान पनि दिनुपर्छ, तर बजार अनुगमन गर्ने हाम्रो दायित्व होइन ।’