संघीय संसद् सचिवालयले सभामुख चयनका लागि निर्वाचनको तयारी थालेको छ । प्रतिनिधिसभाले आफ्नो सभामुख चुन्न ५ माघमा निर्वाचन तोकेको छ । सभाध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले ३ माघमा निर्वाचनको सूचना प्रकाशित गर्न महासचिव भरतराज गौतमलाई निर्देशन दिइसकेका छन् । सभामुख चुन्न बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सूचना प्रकाशन, निर्वाचन कार्यालय स्थापनालगायतको आन्तरिक तयारी भइरहेको बताए । २६ पुसमा बसेको प्रतिनिधिसभा बैठकले ५ माघमा निर्वाचन गर्ने गरी मिति तोकेको थियो । संसद्को पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । २५ पुसमा पहिलो बैठक बसेकाले प्रतिनिधिसभाले ९ माघभित्र सभामुख र उपसभामुख पाइसक्नुपर्छ ।
संसद् सचिवालयका प्रवक्ता गिरीका अनुसार सभामुखको निर्वाचनका लागि महासचिवले मंगलबार मनोनयन दर्ताको समय दिएर सूचना प्रकाशित गर्नेछन् । ‘प्रस्तावक र समर्थकसहित सभामुखको उम्मेदवारले उक्त पदमा निर्वाचित भएमा काम गर्न मेरो मञ्जुरी छ भनेर प्रतिनिधिसभा नियमावलीबमोजिम फाराम भर्नुपर्छ,’ उनले भने ।
सोमबार सार्वजनिक बिदा भएकाले मंगलबार सूचना प्रकाशित हुँदा सोही दिन मनोनयनको कार्यक्रम व्यवस्थापन व्यावहारिक रूपमा सहज नहुने भएकाले मनोनयनको समय बुधबार तोकिने सम्भावना छ । सभामुखका आकांक्षीले प्रस्तावक र समर्थकसहित मनोनयन दर्ता गराउनुपर्नेछ ।
मनोनयन दर्ता गराउन सचिवालयले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको लोत्से हलमा कार्यालय खोल्ने तयारी गरेको छ । ‘उम्मेदवारले भरेको मनोनयन फाराम लोत्से हलमै लिएर दर्ता गर्छाैँ,’ प्रवक्ता गिरीले भने, ‘दर्ता भइसकेपछि त्यही दिन बेलुका कस–कसको उम्मेदवारी पर्यो भनेर सूचना प्रकाशित गर्छाैँ ।’ सूचना प्रकाशित भएपछि बिहीबारको बैठकमा प्रक्रिया अघि बढ्नेछ ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन् ‘उम्मेदवारले भरेको मनोनयन फाराम लोत्से हलमै लिएर दर्ता गर्छाैँ । दर्ता भइसकेपछि त्यही दिन बेलुका क–कसको उम्मेदवारी पर्यो भनेर सूचना प्रकाशित गर्छाैँ ।’
एउटा मात्रै मनोनयन परेमा छलफल भएर ज्येष्ठ सदस्यले निर्विरोध निर्वाचित घोषणा गर्छन् । तर, अहिले विपक्षी दल कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवारी दिन छलफल चलाएकाले प्रतिस्पर्धा हुने देखिन्छ । दुइटा वा त्यसभन्दा बढी उम्मेदवारी परे पनि दर्ताको क्रमअनुसार प्रस्तावक र समर्थकहरूले बोल्ने र त्यसपछि छलफलमा जान्छ । ‘त्यसपछि सभाध्यक्षले प्रस्तावलाई क्रमशः एक नम्बरलाई पहिला, दुई नम्बरलाई त्यसपछि गर्दै क्रमशः निर्णयार्थ प्रस्तुत गर्नुहुन्छ । सभामा कायम रहेको सम्पूर्ण सदस्य संख्या (२७४) को बहुमत (१३८) बाट पारित हुने प्रस्तावको उम्मेदवार सभामुख निर्वाचित हुन्छ,’ प्रवक्ता गिरीले भने ।
एनका अनुसार पहिलो बैठकमा बहुमत प्राप्त नगरेमा दोस्रो तथा तेस्रो बैठकबाट बहुमत पुर्याएर निर्वाचित गर्ने प्रयास गरिन्छ । अहिले सुदूरपश्चिम प्रदेश सभाको सभामुखका लागि प्रदेश सभाको कुल संख्याको बहुमत नपुग्दा दुईपटक बैठक प्रभावित भएको छ ।
सभामुखको निर्वाचन हरेक सदस्यको मत विभाजनबाट हुन्छ । पक्ष, विपक्ष र तटस्थ गरी तीनवटा विकल्प दिएर छुट्टाछुट्टै लबीमा सांसदहरूले दस्तखत गरेर आफ्नो मत राख्छन् । बहुमत प्राप्त निर्वाचित सभामुखले पदभार ग्रहणअगाडि राष्ट्रपतिसमक्ष शपथग्रहण गर्छन् ।
सभामुखको निर्वाचन सकिएपछि प्रतिनिधिसभाले उपसभामुखको निर्वाचन मिति तोक्छ । ‘सभामुख निर्वाचित भइसकेपछि बस्ने अर्काे बैठकले उपसभामुखको निर्वाचन मिति तोक्ने हो । संविधानले तोकेको १५ दिनभित्रै उपसभामुख पनि चयन भइसक्छ । उपसभामुखको निर्वाचनमा पनि माथिकै प्रक्रिया हुन्छ,’ सहसचिव गिरीले भने ।