१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७९ माघ १ आइतबार ०८:४१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्‍यो १० वर्षमा एक हजार मिर्गौला प्रत्यारोपण

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७९ माघ १ आइतबार ०८:४१:००

अस्पतालमा हाल दैनिक १४० सम्म डायलाइसिस र आठजनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १० वर्षमा एक हजारजनाको मिर्गौला प्रत्यारोपण गरेको छ । भक्तपुरमा रहेको केन्द्रले ६ माघ ०६९ बाट प्रत्यारोपण सेवा सुरु गरेको थियो । जटिल प्रकृतिका केसको समेत शल्यक्रिया गर्दै आएको अस्पतालले ९९ प्रतिशतभन्दा बढी प्रत्यारोपण सफल भएको जनाएको छ । नेपालमा अंग प्रत्यारोपणको लाइसेन्स लिएर प्रत्यारोपण सेवा दिइरहेकामध्ये यो संख्या सबैभन्दा धेरै हो । देशभर निजी र सरकारी गरी १५ वटा अस्पतालले अंग प्रत्यारोपणका लागि लाइसेन्स लिएका छन् । हाल देशभर २१ सयभन्दा बढी मिर्गौला प्रत्यारोपण भएका छन् । डेढ सय बेडमा सेवा दिँदै आएको अस्पतालले पछिल्लो केही वर्षयता डेढ सयदेखि दुई सयको हाराहारीमा प्रत्यारोपण गर्दै आएको छ । स्थानको अभावमा समेत नेपालमै पहिलो कलेजो प्रत्यारोपण, एकै दिन चारजनाको मिर्गौला प्रत्यारोपण र मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगबाट मिर्गौला प्रत्यारोपण सेवा दिइरहेको अस्पतालले जनाएको छ । 

अस्पतालमा हाल दैनिक एक सय ३० देखि एक सय ४० सम्म डायलाइसिस र चारदेखि आठजनासम्मको प्रत्यारोपण भइरहेको अस्पतालका निर्देशक डा. पुकार श्रेष्ठले जानकारी दिए । हाल अस्पतालमा ५० जना चिकित्सक, एक सय ३० जना नर्सिङ स्टाफ, ५० जना प्राविधिक कर्मचारी, ५० जनाजति सरसफाइकर्मी, गार्ड र अन्य कर्मचारी कार्यरत छन् । तर, अझै पनि बिरामीको भिडको तुलनामा जनशक्ति र उपकरणसहितको सेवा अपुग भएको श्रेष्ठले बताए । उनका अनुसार भौतिक पूर्वाधार विस्तार गरी केन्द्रलाई पाँच सय शड्ढया विस्तार गरी प्रत्यारोपण सेवालाई सबैको पहुँचमा पुर्‍याउने योजनालाई पूर्ण रूप दिन सकेमा अस्पतालमा वर्षौँ पालो कुर्नुपर्ने बिरामीको चाप घटाउन सकिन्छ । 

यसबाहेक प्रत्यारोपण क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्ने लक्ष्यअनुरूप काम गर्न सकेमा मिर्गौलारोगीले समयमै उपचार पाउने चिकित्सकहरूको भनाइ छ । 

यस्तै, नातेदारले अंगदान गर्ने व्यवस्था गरिए पनि दाताको अभावमा प्रत्यारोपण गर्न नसक्नेको चापसमेत अस्पतालमा छ । तर, कानुनले मान्यता दिएका नातेदारको दायरा फराकिलो रहेकाले अंग पाउनै असम्भव नरहेको डा. श्रेष्ठ बताउँछन् । ‘अंगदाता पाउन असहजभन्दा पनि हाम्रो नियतमा खोट छ, किनभने नातेदारबाट अंग लिनुको साटो गरिबको मिर्गौला किनेर प्रत्यारोपण गर्ने प्रवृत्ति रहेकाले कानुन संशोधन उपयुक्त हुँदैन । अंगदानबारे जानकारी नहुनुले समस्या भइरहेको छ,’ उनले भने । 

बिरामीको चाप हेर्दा हाल प्रत्यारोपण भइरहेको संख्या निकै न्यून हो : डा. पुकार श्रेष्ठ, निर्देशक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र 
प्रत्येक वर्ष हजारौँको संख्यामा बढ्दै गएका मिर्गौलाका बिरामीका आधारमा १० वर्षमा हजार मिर्गौला प्रत्यारोपण पर्याप्त हो ? 

यो संख्या बिल्कुलै पर्याप्त होइन । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक १० मध्ये एकजनालाई कुनै न कुनै किसिमको मिर्गौला रोग लाग्ने अनुमान छ । जसको आधारमा नेपालमा बर्सेनि करिब तीन हजारजनाको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । तर, तीमध्ये अधिकांश समयमा उपचार नपाएर अकालमा मरिरहेका छन् । अहिले झन्डै सात हजारजना नियमित डायलाइसिसमा छन्, जसमध्ये पनि समयमा अंगदाता पाएमा वा स्वास्थ्य अवस्था अनुकूल भएमा तत्काल प्रत्यारोपण गर्नुपर्ने अवस्थामा छन् । प्रत्येक वर्ष थपिने बिरामीको अनुपात हेर्दा हाल प्रत्यारोपण भइरहेको संख्या निकै न्यून हो । हामीले शून्यबाट सुरु गरेर अहिले वर्षमा दुई सय मिर्गौला प्रत्यारोपण गरिरहेका छौँ, जुन हाल देशभर भइरहेको प्रत्यारोपणको लगभग ५० प्रतिशत हुन जान्छ ।

सुरुमा मिर्गौला प्रत्यारोपण गर्दा के–कस्ता चुनौती व्यहोर्नुभयो ?
१० वर्षअघि भक्तपुर अस्पतालबाट एउटा टेबुल र दुईवटा कुर्सी मागेर ल्याएर डा. कल्पना श्रेष्ठ र मैले शून्यबाट प्रत्यारोपण सुरु गरेका हौँ । हामीसँग आवश्यक उपकरण मात्रै होइन, जनशक्ति पनि थिएन । एउटा कोठाबाट ओपिडी सुरु गरेका हौँ । पहिलोपटक डायलाइसिस २० वटा मेसिनसहित आवश्यक सामग्रीको खरिद प्रक्रिया अगाडि बढाइएको थियो । त्यतिवेला टेन्डर नपरेका कम्पनीले अख्तियारमा कमसल गुणस्तरका मेसिन किनिएको भन्दै उजुरीसमेत दिए ।

तर, त्यतिवेला मेसिन नै खरिद गरिसकेको थिएन, पछि अख्तियारले सफाइ दियो । सुरुमा ११ वैशाख ०६९ बाट ओपिडीलगायत सेवा सुरु गरेको अस्पतालले सोही असोजबाट २० वटा डायलाइसिस मेसिनबाट डायलाइसिस सेवा सुरु भएको थियो । ०६८ फागुनमा ओपिडी सेवा सुरु गर्दा संस्थाको गठन आदेशसमेत बनेको थिएन । केही चिकित्सक र अन्य स्वास्थ्यकर्मी मात्रै उपलब्ध भएकाले समयमा प्रत्यारोपण गर्न सकिँदैनथ्यो । शल्यक्रियाका लागि एनेस्थेसियोलोजिस्ट, रेडियोलोजिस्ट नहुँदा अन्यन्त्रबाट चिकित्सक बोलाएर बिहान ४ बजे पनि शल्यक्रिया गरेका छौँ ।

बाहिरका चिकित्सकलाई हात जोडेर अनुरोध गरेर उहाँहरूले काम गरिरहनुभएको संस्थाको समयबाहेक प्रत्यारोपणका लागि बोलाउने गथ्र्याैँ । प्रत्यारोपणपछि पनि बिरामीमा केही समस्या देखिएमा तत्काल अल्ट्रासाउन्ड गर्ने चिकित्सक नपाइएला कि भनेर चिन्ता लिएर बस्नुपर्ने अवस्था थियो । यस्तो अनिश्चितता र तनावका बीच सुरु गरेको वर्षमा १३ र त्यसपश्चात् प्रत्येक वर्ष ३२, ५२, १०५, १५२ गर्दै अहिले बर्सेनि झन्डै दुई सयजनाको प्रत्यारोपण भइरहेको छ । 

अंग प्रत्यारोपणमा कानुनी झन्झटले कतिको असर गरेको छ ?
नेपालको प्रत्यारोपण कानुन सन् २०१६ देखि व्यापक परिवर्तन भएको छ । पहिले अंगदाताको दायरा परिवारमा मात्रै सीमित थियो भने अहिले नातेदार पर्नेजति सबैले अंगदान गर्न मिल्ने बनाइएको छ । त्यसैले अहिले अंगदाताको अभाव छ भन्न सकिने अवस्था छैन ।