हेर देशको हालत कस्तो छ, छाती पिटीपिटी चिच्याउनु जस्तो छ ।’ लोकगायक प्रचण्ड बुढाथोकीको गीतले धेरैको हालतलाई व्याख्या गर्न सक्छ । मलाई आजभोलि खासै राजनीतिक विश्लेषण गर्न मन लाग्दैन । हामी यस्तो संक्रमणकालबाट गुज्रिरहेका छौँ की राजनीति कता जान्छ थाहा छैन । प्रविधिको जबर्जस्त हस्तक्षेप, नयाँ पुस्ताको राजनीतिमा उदय, नयाँ मतदाताको हस्तक्षेप, निराशाको चरम उत्कर्ष, अर्थ–भूराजनीतिको नयाँ मोडलगायत विषयले जुन हस्तक्षेप गरिरहेका छन्, त्यसले कस्तो मोड लिन्छ, बताउन कठिन छ ।
कांग्रेसमा भोलि के हुन्छ, देउवाले नै भन्न सक्दैनन् । एमालेले राष्ट्रपति निर्वाचनपछि के गर्छ, ओलीलाई नै थाहा छैन । माओवादीको अवस्था कुर्सी गएपछि के हुन्छ, प्रचण्डलाई नै थाहा छैन भने आज कुनै पनि व्यक्तिले कुन आधारमा विश्लेषण गर्छ ? विश्लेषण गर्न सूत्र र सिद्धान्त चाहिन्छ, आज कुनै पनि दल सिद्धान्तमा हिँडेका छैनन् ।
निश्चय नै म पनि निर्वाचनअघि नयाँ पुस्ताले देशको नेतृत्व गरोस् भन्ने चाहन्थेँ । ‘नो नट अगेन’ को आक्रोश र भावसँग सहमत थिएँ । म पनि नागरिकले फेरि त्यही खेल हेर्न नपरोस् भन्ने अपेक्षामा थिएँ । तर, फेरि देश त्यही तीन पात्रकै वरिपरि पुग्यो । अब हामीसँग रहेको विकल्प भनेको यही परिस्थितिबाट सक्दो आशा गर्नु हो ।
प्रचण्ड ‘डेरा’ सरेरै भए पनि प्रधानमन्त्री बने । दुई महिनाअघि मात्र कांग्रेससँग मिलेर काम गर्छु भनेर मागेको भोटको मसी सुक्न नपाउँदै ‘डेरा’ सरेर उनले नागरिक मतको अपमान गरे । सबै दोष शेरबहादुरको टाउकामा हालेर प्रधानमन्त्री बनेकामा प्रचण्डको टिमले यसलाई ‘भयंकर’ रणनीतिक मानिरहेको छ । संसदीय व्यवस्थाको हिमायती भन्ने कांग्रेस फेरि प्रचण्ड, ओलीलाई समेत माथ दिएर प्रचण्डलाई विश्वासको मत दिन्छ, जुन आफैँमा अर्को मजाक हो, ‘स्टन्ट’ हो । मैले कांग्रेसका एकजना शीर्ष नेतालाई सोधेँ, यस्तो किन गरेको ? उनको उत्तर थियो, ‘त्यसो नगरेको भए त यो पाँच वर्षमा राज्यका विभिन्न अंगमा ओलीले आफ्ना मात्र मान्छे भर्ती गर्थे । कांग्रेस ‘निल’ हुन्थ्यो ।’ यसबाट थाहा हुन्छ, कांग्रेसका लागि सिद्धान्तभन्दा सत्ता प्यारो छ ।
आज देशका प्रधानमन्त्री प्रचण्ड छन् । उनले अन्तिमपल्टका लागि त्यो अवसर पाएका छन् । उनी ‘गर वा मर’ को अवस्थामा रहेको हुनाले केही गर्छन् कि भन्ने झिनो आशा देखाएका पनि छन् । तर, उनी र हामी सबैले के बुझ्न जरुरी छ भने यदि यसपालि प्रचण्ड असफल भए भने हाम्रो व्यवस्थामै प्रश्न उठाइनेछ । यो व्यवस्था ल्याउन एउटा प्रमुख नेतृत्व गरेको माओवादी सुप्रिमोको असफलताले संविधानविरोधी शक्ति हाबी हुनेछन् । देशमा विद्यमान बेरोजगारी र निराशा आन्दोलनमा परिणत हुन सक्छ ।
अहिले हामी टिकटक र रिल हेरेर आफ्नो धारणा बनाइरहेका छौँ । हाम्रा धेरै कुरा सामाजिक सञ्जालले निर्देशित गरिरहेको छ । सञ्जाल आफैँमा ‘अलोकतान्त्रिक’ छ । हामीलाई लागिरहेको छ, सबैले लेख्न पाएका छन्, अभिव्यक्त गर्ने माध्यम पाएका छन् । तर, सामाजिक सञ्जालका ‘अल्गोरिदम’ले हामीलाई एकोहोरो बनाइरहेको छ । हामीले एउटा व्यक्ति वा विषयको भिडियो हे¥यौँ भने हामीलाई त्यही व्यक्ति र विषयको भिडियो सञ्जालले देखाउँछ । त्यही आधारमा हाम्रा धारणा बन्छन् । त्यसैले, आउँदो पाँच वर्षमा हुँदै गरेको डिजिटल क्रान्ति विशेषगरी भिडियो क्रान्ति, त्यही प्रयोग गरेर अँगालिरहेको ‘पपुलिज्म’ र उग्र राष्ट्रवादको कक्टेलले हाम्रो राजनीतिलाई निकै तरल बनाउनेवाला छ ।
उग्र–राष्ट्रवादको ‘स्टन्ट’ अलि फिक्का पर्न थाले यी दलले धर्मको हतियार प्रयोग गर्न थाल्नेछन् । प्रचण्डले पनि ‘शान्ति–स्वस्ति र चण्डीपाठ’ थालेका छन् । भोलि देउवा, ओली र प्रचण्डमध्ये धर्मको राजनीति कसले पहिला गर्ने भन्ने जुहारी चले अचम्म हुनेछैन । भारतको सिको गर्ने हामी नेपालीले धर्मको राजनीतिको सिको गर्न आइतबार कुर्नुपरेन ।
हामी सतही राजनीतिको दलदलमा फसेका छौँ । हामी ‘स्टन्ट’ मा आएका लाइक र कमेन्टमा बहकिरहेका छौँ । संगठन, विचार र नागरिकसँग जोडिएका मुद्दा उठाएर गरिने राजनीति हामीलाई बोरिङ लाग्न थालेको छ । हामी त्यसैले ‘फास्ट फुड’ मोडेलको राजनीति गर्न तम्सिएका छौँ ।
हामीले राजनीतिमा पनि ‘सर्ट कट’ लिन थालेका छौँ । माओवादी, जसले ज्यान बाजी राखेर विभेदविरुद्ध लड्यो, सामन्तवादविरुद्ध उभियो, आज तिनै नेता सीमित व्यापारीको घेरामा देखिन्छन् । उसलाई एउटा मधेसी, एउटा महिला र एउटा दलितको मुद्दामा बोल्ने फुर्सद छैन । नयाँ दलहरू मात्र होइन, पुरानै दलहरूसँग पनि अब एजेन्डा छैन । उनीहरू पनि चटक नै गरिरहेका छन् । राजनीति अनैतिक र विचारहीन हुँदै गर्दा संसद्मा ९९ प्रतिशत विश्वासको मत पाएका प्रचण्ड सबैभन्दा कमजोर प्रधानमन्त्री बन्न पुगेका छन् ।
दलहरू आफ्नै नेताको कब्जाबाट फुत्किन सकिरहेका छैनन् । कांग्रेसको संसदीय दलको निर्वाचन नतिजा त्यसको एउटा उदाहरण हो । गगन थापाहरूलाई आफ्नै गुटका नेताहरूले समेत भोट दिएनन् । अब आउने महाधिवेशनमा पनि यही परिणाम दोहोरिने सम्भावना धेरै छ । अनि, कसरी नयाँ बन्छ कांग्रेस ? एमालेको दुःख भनेको केपीपछिको नेता नहुनु हो । एमालेमा ओलीका कारणले बाँधिएको टिम उनीपछि कसरी संगठित हुन्छ, यकिन छैन । साथै, एमालेसँग अब राजनीति गर्ने मुद्दा पनि छैन । माओवादी अहिले पनि ६३ अघिको ब्याजमै टिकिरहेको छ । शक्ति र सत्ताको लोभबाहेक माओवादीमा आजको दिनमा अरू केही बाँकी छैन ।
यदि यसपालि प्रचण्ड असफल भए भने हाम्रो व्यवस्थामै प्रश्न उठ्नेछ र यो व्यवस्था ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका माओवादी सुप्रिमोको असफलताले संविधानविरोधी शक्ति हाबी हुनेछन्
नयाँ आएका दल र व्यक्तिले आजको दिनमा मौका र शंकाको सुविधा पक्कै पाउनुपर्छ । हामी सबैको साथ पनि पाउनुपर्छ । तर, बिहानीले दिनको संकेत गर्छ भनेझैँ दिन त्यति राम्रो नहुने हो कि भन्ने डर पैदा हुन थालेको छ । वैकल्पिक राजनीतिको अभियन्ता भएको नाताले पनि बालेन, रविहरू सफल हुनैपर्छ भन्ने सोच राख्छु ।
उनीहरूको सफलता हाम्रो राजनीतिसँग जोडिएको छ । उनीहरूलाई सहयोग गर्न निःसर्त तयार पनि छौँ । त्यहाँका केही सांसद र नेतालाई व्यक्तिगत चिनेअनुरूप आशावादी पनि छौँ तर यी साथी पनि कतै सत्ताको चरम भोकमा डुब्ने हुन् कि भन्ने पनि डर पनि उत्तिकै लाग्छ ।
यद्यपि बालेन र रविहरूबारे धारणा बनाउन हामीले उनीहरूको काम हेर्नैपर्छ ।पुराना र नयाँ दलहरूले डेलिभरीको राजनीतिको अभ्यास गर्दा मन्त्रालय हाँकेर समस्या समाधान गर्ने अभ्यास गरिरहेका छैनन् । जबसम्म दलले मन्त्रालय हाँक्न सक्ने अभ्यास आफ्ना नेताहरूलाई गराउँदैन, तबसम्म मन्त्रीहरूले कि ‘स्टन्ट’मै बाँच्नुपर्छ कि असफल भएर मन्त्रालय छोड्नुपर्छ । तसर्थ, जबसम्म नेताहरूले आफ्नो तयारी र योग्यताविना अध्यक्षले दिएको ‘सरप्राइज गिफ्ट’ का रूपमा मन्त्रालय पाउँछन्, तबसम्म नागरिकको जीवनमा प्रभाव पर्ने परिवर्तन हुँदैन ।
केही वर्षअघिको न्युयोर्क टाइम्समा प्रकाशित फिलिप पी प्यानको आलेख ‘द ल्यान्ड द्याट फेल्ड टु फेल’मा चीनले कसरी प्रगति ग¥यो भन्ने महत्वपूर्ण सन्दर्भ दर्साइएका छन् । सन् असीको दशकको मध्यतिर चिनियाँ कम्युनिस्ट पार्टीसँग आबद्ध केही युवा विद्यार्थीको एउटा समूह सांघाईभन्दा अलि पर मोगानसानको पहाडमा भेला भए । उनीहरूको एउटै एजेन्डा थियो, चीनलाई कसरी अगाडि बढाउने भन्ने ।
विभिन्न विषयमा अध्ययनरत विद्यार्थीसँग विज्ञता र अनुभव थिएन, थियो त ऊर्जा अनि उत्सुकता मात्र । उनीहरू अर्थतन्त्र डुब्नेमा चिन्तित थिए अनि पार्टी नेतृत्वलाई पनि सजग गराउँदै थिए । एक रात उनीहरूले एउटा प्रस्ताव राखे, ‘उद्योगहरूले राज्यले तोकेको उत्पादनको न्यूनतम लक्ष्य पूरा गरेपछि उनीहरूले बाँकी सामान चाहेको पैसामा बेच्न पाउँछन् ।’ यो तत्कालीन अर्थतन्त्रको मोडेलभन्दा पृथक् प्रस्ताव थियो । यस विचारले त्यही कोठामा रहेका पार्टी अधिकारीलाई समेत सोच्न बाध्य बनायो । यो विचार नै पछि चीनको आर्थिक क्रान्तिको कोसेढुंगो साबित भयो ।
त्यो टोलीले लामो समय देशको नीति अनि कार्यक्रमबारे पर्दापछाडि मिलेर काम गरे । फलस्वरूप, देश पनि सफल भयो अनि उनीहरू पनि सफल भए । त्यही कोठामा रहेका सु चिङ केही वर्षपछि अर्थनीति विज्ञका रूपमा अगाडि आए । अर्का युवाले चीनको केन्द्रीय बैंकमा १५ वर्ष नेतृत्व गरे । अर्का एक युवा अर्थमन्त्री बने । वङ क्विसान सबैभन्दा सफल साबित भए, उनले सुरुमा कृषिविज्ञ भएर योगदान गरे र पछि चीनको पहिलो लगानी बैंकको नेतृत्व गरे । सन् १९९७ मा सुरु भएको एसियाको आर्थिक मन्दीबाट पनि देशलाई पार लगाए । उनी बेइजिङको मेयर हुँदै अहिले पनि दोस्रो प्रमुख व्यक्तित्वका रूपमा चीनका उपराष्ट्रपति छन् ।
मोगानसानको भेलामा सम्मिलित यी युवाको योगदान अनि नेतृत्वको चीनको विकासमा निकै ठूलो योगदान छ । यिनैले चीनको सफलताको नक्सा कोरे । मैले यो सन्दर्भ यहाँ किन उठाएँ भने टिम, तयारी, योग्यता र क्षमताविना नागरिकका मुद्दामा नागरिकले महसुस गर्ने गरी परिणाम आउन सक्दैन । प्रत्येक पार्टीका युवा नेताले यो बुझ्न जरुरी छ ।
अहिले एउटा सचेत नागरिकले तीनवटा काम गर्न जरुरी छ । पहिलो, हामीले विधिको शासनका लागि वकालत गर्न छोड्नुहुँदैन । त्यसका निम्ति निरन्तर खबरदारी गर्न र दलहरूलाई प्रश्न गर्न छोड्नुहुँदैन । दोस्रो, दल र संस्थालाई बलियो बनाउनुपर्छ । यो काम दुई किसिमबाट गर्न सकिन्छ । एउटा, नयाँ दललाई बलियो बनाएर । अर्को, पुराना दललाई नै सुधार गरेर । अनि, तेस्रो काम भने आज सत्ताका लागि जसरी सबै दलका नेताहरू मिलिरहेका छन्, त्यसैगरी सत्यका लागि बोल्न विभिन्न दलका नेता, स्वतन्त्र युवा, अभियन्ताले पनि संगठित भएर काम गर्न जरुरी छ । सही के हो भनेर भाष्य तयार गर्दै नागरिकलाई सुसूचित गर्न जरुरी छ ।
भर्खरै नागार्जुनका केही साथीहरूसँग गफिँदै गर्दा एकजना दाइले भने, ‘हाम्रो गाउँका दाइ सांसद भ’का छन् । उनले मन्त्रीको गाडीमा झन्डा फर्फराएर हिँडेको हेर्न मन छ ।’ मलाई अचम्म लाग्यो । हाम्रा नेतालाई नागरिकको चाहना मज्जाले थाहा छ । जब नागरिकलाई बाटो–घाटो, स्कुल, पानीमा नेताले नेतृत्व लिएको भन्दा झन्डा फर्फराएर हिँडेको हेर्ने चाहना र त्यसबाट लाभ लिने लोभ छ भने नेताले त्यही गर्छ । अब नागरिकले आफ्नो चाहना बदल्ने वेला आएको छ । नत्र, नेता झन्डा फर्फराएर हिँडिरहनेछन्, नागरिक गाडीले उडाएको धुलोको भिडियो टिकटक र फेसबुकमा हालेर लाइक बटुल्दै बस्नेछन् । अनि, नेताले अर्को निर्वाचनमा अर्को स्टन्ट गर्नेछ । अनि, फेरि जित्नेछ । अनि, हामी फेरि निराश हुनेछौँ ।