१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ पौष २८ बिहीबार १२:३५:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

गुल्मीमा सुन्तला उत्पादन बढ्यो, मूल्य घट्दा किसान चिन्तित

Read Time : > 2 मिनेट
२०७९ पौष २८ बिहीबार १२:३५:००

धुर्कोट गाउँपालिका– १ नयाँगाउँका ५७ वर्षीय दलबहादुर खत्रीको मुख्य आम्दानीको स्रोत सुन्तला हो। ०५७ सालमा मलेसियाबाट फर्किएर गाउँमा बारी र सुन्तलाका बोट थपेका उनीसँग अहिले सुन्तला फल्ने दुई सय ५० वटा बोट छन्। उनीसँग सुन्तलाको नर्सरी पनि छ। कलमी तीन हजार पाँच सय र बिज बिरुवा १५ हजार छन्। सुन्तलाबाट वार्षिक दुई लाखभन्दा बढी र बिरुवाबाट दोब्बर कमाइ हुने गरेको दलबहादुरले बताए। उनले सुन्तलाकै कमाइबाट परिवारको जीविकोपार्जनसहित छोरालाई बिएस्सी–एजी पढाइरहेका छन्।

सोही गाउँका पीताम्बर कोइराला पनि सुन्तला र बिरुवाको व्यावसायिक कृषक हुन्। वर्षको दुई लाख मूल्यबराबरको सुन्तला र साढे चार लाखभन्दा बढीका बिरुवा बिक्री गर्छन् गर्ने उनले सुन्तला उत्पादन गर्न थालेको करिब २० वर्ष भयो। गत वर्षको तुलनामा यो वर्ष दोब्बर सुन्तला फलेको कोइरालाले बताए। मल, जल र कटिङसहितको राम्रो हेरचाह भए वर्षौँ कमाइ गर्न सकिने भएकाले सुन्तला आम्दानीको गतिलो स्रोत भएको उनको भनाइ छ।

टीकाबहादुर हमाल धुर्कोट गाउँपालिकाकै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने व्यावसायिक कृषक हुन्। ५३ वर्षीय हमालले ३१ वर्षदेखि सुन्तला खेती गर्दै आएका छन्। उनले कुल १२ रोपनी जग्गामा सुन्तला खेती गरेका छन्। सुन्तला र कागतीका ४० हजार बिरुवा नर्सरीमा छन् । अहिले सुन्तला टिप्ने वेला भएकाले हमाल निकै व्यस्त छन्। सुन्तला र बिरुवाबाट हमालले वर्षमा सातदेखि आठ लाख आम्दानी गर्छन् । अहिले प्रतिकिलो ५० देखि ६० रुपैयाँमा सुन्तला बिक्री भइरहेको छ। नयाँगाउँका धेरै कृषकले ठेक्कामा बगैँचा नै बिक्री गर्ने गरेका छन्।

बुटवल पुर्‍याउन व्यापारीलाई भ्याइनभ्याई
नयाँगाउँको सुन्तलाको मुख्य बजार बुटवल हो। तम्घास र अर्घाखाँचीका बजारमा पनि सुन्तला पुग्ने भए पनि धेरै व्यापारीले बुटवलको मण्डीसँग सीधा कारोबार गर्छन्। मीनराज र प्रकाश पोख्रेलले वर्षौँदेखि सुन्तलाको ठेक्का व्यापार गर्दै आएका छन्। उनीहरूको घरमै पनि अढाई लाखको सुन्तला उत्पादन हुन्छ।

उनीहरूले भर्खरै मात्र स्थानीय जनक पोख्रेल र नारायण कोइरालाबाट ५० क्विन्टल सुन्तला बुटवल पुर्‍याए। उनीहरूले व्यक्तिका बगैँचा ५० हजारदेखि तीन–चार लाखसम्म ठेक्कामा लिने र टिपेर ट्रकमा बुटवल पुर्‍याउँछन्। व्यापारीले सरदरमा गाउँमा ५० देखि ५५ रुपैयाँमा सुन्तला खरिद गर्छन्। वर्षमा ३५ देखि ४० लाखको सुन्तला कारोबार हुने मीनराज पोख्रेलले बताए।

सोही गाउँका तारा र चुराबहादुर जिसी पनि सुन्तला व्यापारी हुन्। उनीहरूले वर्षमा ७० देखि ८० लाखको सुन्तला बुटवलसम्म पुर्‍याउँछन्। किसानको सुन्तला बगैँचा बोट र किलोअनुसार व्यापारीले खरिद गर्छन्। उनीहरू दुई वर्ष पहिले कोभिडका कारण चार लाख घाटा खाएको बताउँछन्। गत वर्ष घाटापूर्ति भएकाले अहिले राम्रै आम्दानी हुने आशा गरेको ताराबहादुर घर्तीले बताए। उनले ठेक्का लिने भएकाले घाटा र नाफा स्वाभाविक भएको प्रतिक्रिया दिए।

२९ करोड बढीको सुन्तला उत्पादन
जिल्लामा यस वर्ष २९ करोड ३७ लाख दुई हजार भन्दा बढीका सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । जसमध्ये १३ करोडको सुन्तला जिल्लाबाहिर निर्यात भएको छ । सुन्तलाको क्षेत्रफल विस्तार भइरहेकाले उत्पादन र निर्यात दोब्बर हुने कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए ।

गत वर्ष २५ करोडको सुन्तला उत्पादन भएको थियो । जिल्लामा अहिले कुल पाँच सय ८८ हेक्टर जमिनमा सुन्तला उत्पादन भइरहेको छ । मुसिकोट र रेसुंगा नगरपालिका, छत्रकोट, धुर्कोट र रुरु गाउँपालिकाका विभिन्न ठाउँमा सुन्तला उत्पादन राम्रो हुने गरेको छ । छत्रकोट गाउँपालिका–३, रेसुंगा नगरपालिका–३ र धुर्कोट गाउँपालिका–१ जिल्लामा सवैभन्दा बढि सुन्तला उत्पादन हुने ठाउँ हुन् । धुर्कोट– १ को नयाँगाउँमा मात्रै दुई करोडबराबरको सुन्तला उत्पादन हुने धुर्कोट गाउँपालिकाकी कृषि प्राविधिक भावना महतले जानकारी दिइन् ।

किसानलाई मूल्यको चिन्ता
नयाँगाउँमा कात्तिक अन्तिमतिरबाट सुन्तला टिप्न सुरु हुन्छ। व्यापारी घरमै आउने भएकाले बजारको पिर नभए पनि किसानलाई मूल्यको पिरालो छ। डोकोमा बोकेर बेच्न जान नपरेकाले मन अमिलो बनाएरै भए पनि सस्तोमा सुन्तला बिक्री गर्नुपर्ने बाध्यता रहेको सुन्तला कृषक मीना घिमिरेले गुनासो गरिन्।

गत वर्ष ६० रुपैयाँमा बिक्री भएका सुन्तला अहिले ५० रुपैयाँमा व्यापारीले माग्दा चित्त दुख्ने घिमिरेले बताइन्। गोमादेवी पोख्रेलले अहिले ३२ क्विन्टल सुन्तला बेचिन्। सुन्तला लगाएपछि अरू उत्पादन खासै नहुने भएकाले व्यापारीले दुःख बिर्सेर मनोमानी मूल्य गर्ने गरेका पोख्रेलले दुखेसो गरिन्।

उत्पादनमा किसानलाई उत्साहित बनाउँदै परियोजना
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गुल्मीले सुन्तला जोनका कृषकहरुलाई गुणस्तरीय बिरुवा उत्पादन गर्न प्रविधी र सीप प्रदान गर्दै आएको छ । परियोजना प्रमुख गंगाकुमारी पोख्रेलका अनुसार कार्यालयले कफि, सुन्तला, मकै र बाख्रापालनको क्षेत्रमा विशेष काम गर्दै आएको छ ।

नयाँ प्रविधिको विकास गरेर गुणस्तरीय बिरुवा र फल उत्पादन गरी सुन्तलाई जिल्लाबाहिरका बजारमा प्रतिस्पर्धा गराउन आफूहरु प्रयासरत रहेको पोख्रेलले बताइन् । क्षेत्रफल विस्तारअन्तरगत बिरुवा वितरण र क्षेत्रफल बढाउने, चक्लाबन्दीअन्तरगत प्रविधिमैत्री गह्रा बनाएर एकीकृत रुपमा सुन्तला उत्पादन तथा बगैँचा सुदृढीकरणअन्तरगत निलोतुथो, चुन, सुक्ष्म खाद्य तत्व र प्रांगारिक मल वितरण गरिने उनले जानकारी दिइन् । त्यस्तै यान्त्रीकरणअन्तरगत हाते ट्याक्टर, सिकेचर, आरी, भ¥याङलगायत साना सिंचाइका योजना कृषकलाई प्रदान गर्ने उनले बताइन् ।