मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मुना कुँवर काठमाडाैं
२०७९ पौष २८ बिहीबार ०६:२०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभुसँग सहमति तोडिएको अजोड इन्स्योरेन्स युनाइटेडसँग मर्जरमा जाँदै

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ पौष २८ बिहीबार ०६:२०:००

मर्जरका लागि नेपाल बिमा प्राधिकरणसँग पहिलो चरणको सहमति लिएका प्रभु इन्स्योरेन्स र अजोड इन्स्यारेन्सको सहमति मंगलबार तोडिएको छ । तर, प्रभुसँगको सहमति तोडिनासाथ अजोडले युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको छ । प्रभु र अजोडले गत १ भदौमा मर्जरका लागि प्राधिकरणबाट पहिलो चरणको सहमति पाएका थिए ।

फागुन अन्तिमदेखि एकीकृत कारोबार गर्ने योजना प्राधिरकणमा बुझाएका कम्पनीहरूले समझदारी नमिलेको भन्दै मर्जर प्रक्रिया नै रद्द गर्न प्राधिकरणमा निवेदन पेस गरेका छन् । निवेदन प्राप्त भएपछि दुवै कम्पनीलाई बोलाएर छलफल गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता राजुरमण पौडेलले बताए । छलफलका क्रममा मर्जर समितिका सदस्यले दुवै कम्पनीबीच तादाम्यता नमिलेको भन्दै मर्जर भंग गराउन चाहेको बताएको उनले जानकारी दिए ।

अजोड र युनाइटेडबीच मर्जर सम्झौता 
प्रभुसँग मर्जर प्रक्रिया तोडेको अजोड इन्स्योरेन्स बुधबार नै युनाइटेड इन्स्योरेन्स कम्पनीसँग मर्जर सम्झौता गरेको छ । १००:९० को अनुपातमा कम्पनीबीच सहमति भएको स्रोतले बताएको छ । त्यस्तै, मर्जरपछि कम्पनीको नाम युनाइटेड अजोड हुनेछ भने कम्पनीको सिइओ कुमारबहादुर खत्री हुने सहमति भएको छ । त्यस्तै, डिडिएपछि कम्पनीको स्वाप रेसियामा परिवर्तन गर्न सकिने विषयमा दुवै कम्पनी सहमत भएका छन् । 

 स्वाप रेसियोदेखि नामको विषयमा सहमति जुटेन
डिडिएपछि कम्पनीको स्वाप रेसियो र मर्जरपछिको नामको विषयमा पनि सहमति जुट्न नसकेको अनौपचारिक जानकारी प्राप्त भएको प्राधिकरणका प्रवक्ता पौडेलले बताए । स्रोतका अनुसार डिडिएपछि अजोड इन्स्यारेन्सको ६३ रुपैयाँ कायम भएको थियो । तर, कम्पनीको साधारणसभाले ८० भन्दा तल झरेर मर्जरमा नजाने निर्णय गरेपछि समस्या भएको स्रोतको भनाइ छ । त्यस्तै, मर्जरपछि कम्पनीको नाम प्रभु इन्स्योरेन्स राखिने निर्णय भए पनि अजोडले आफ्नो नाम पनि जोडिनुपर्ने अडान राखेको थियो । दुवै पक्षबीच नामको विषयमा पनि सहमति जुट्न नसकेको स्रोतको जिकिर छ ।

 ६ कम्पनीको मर्जर सम्पन्न, सिद्धार्थ र प्रिमियरले लिए अन्तिम सहमति
नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी वृद्धि गर्न १५ बिमा कम्पनीले मर्जरमा जाने प्रस्ताव गरेका थिए । प्रस्ताव गरेकामध्ये ६ कम्पनी मर्जरमा गएर एकीकृत कारोबार गरिसकेका छन् । हिमालयन र एभरेष्टले सबैभन्दा पहिला मर्जर प्रक्रिया सम्पन्न गरेर हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाममा १ भदौबाट एकीकृत कारोबार सुरु गरेका हुन् । त्यस्तै, सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच मर्जर भएर गत कात्तिकदेखि एकीकृत कारोबार सुरु भइसकेको छ । सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले पनि मंसिरदेखि एकीकृत कारोबार सुरु गरेका छन् । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको पनि मर्जरका लागि अन्तिम सहमति भइसकेको प्राधिकरणले जनाएको छ । 

मर्जरमा नजाने कम्पनीले पुँजी थप गर्दै 
बिमा प्राधिकरणले आगामी चैत अन्तिमसम्ममा पुँजी कायम गर्न कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणको निर्देशनअनुसार जीवन बिमा कम्पनीले पाँच अर्ब र निर्जीवन बिमा कम्पनीले साढे दुई अर्ब पुँजी कायम गर्नुपर्नेछ । पुँजी कायम गर्न प्राधिकरणले कम्पनीहरूलाई मर्जर जान र पुँजी थप गर्न सक्ने विकल्प दिएको थियो ।

प्राधिकरणले दिएको विकल्पअनुसार ३९ बिमा कम्पनीमध्ये १५ वटाले मर्जरको विकल्प रोजेका छन् । शिखर इन्स्योरेन्स, नेपाल लाइफ, नेसनल लाइफ र नेको इन्स्योरेन्स आफैँले पुँजी पु¥याउने अवस्थामा रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, विदेशी कम्पनीको शाखाको रूपमा रहेका मेट लाइफ, नेसनल जनरल र ओरियन्टल इन्स्योरेन्स कम्पनीको हकमा भने प्राधिकरणले असाइन क्यापिटल निर्धारण गरेको छ । 

यद्यपि, सो अवधिसम्ममा पुँजी कायम नगर्ने कम्पनीको हकमा फोर्स मर्जरको पनि निर्देशन दिन सक्ने प्राधिकरणका प्रवक्ता पौडेलले बताए । ‘नयाँ ऐनले प्राधिकरणलाई फोर्स मर्जरका लागि निर्देशन दिन सक्ने अधिकार दिएको छ । सोही अधिकारको प्रयोग पनि गर्न सकिनेछ,’ उनले भने । यद्यपि, समयअघि नै कम्पनीहरूले पुँजी कायम गरिसक्ने प्राधिकरणका प्रवक्ता पौडेलले बताए ।

 सहमति गरेका सात कम्पनीले प्रक्रिया अगाडि बढाएनन् 
 मर्जरका लागि स्वीकृति लिएका सातवटा कम्पनीले अझै प्रक्रिया अगाडि बढाएका छैनन् । ३ जेठमा प्राधिकरणबाट मर्जर स्वीकृति लिएका प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको मर्जर प्रक्रिया अझै अन्यालमा छ । कम्पनीले १५ पुसदेखि एकीकृत कारोबार गर्ने विवरण प्राधिकरणमा बुझाए पनि मर्जरको प्रक्रिया अझै अलमलमै छ ।

तीनमध्ये गुराँस लाइफ पुरानो कम्पनी हो भने प्राइम लाइफको पोर्टफोलियो  ठूलो छ । त्यस्तै, युनियन लाइफको व्यवस्थापन समूह बलियो छ । तीनवटा कम्पनीको आ–आफ्नै विषेशता भएका कारण पनि मर्जरमा समस्या भएको  प्राधिकरणले जनाएको छ ।

तीनवटै कम्पनी आ–आफनै अडानका कारण मर्जर प्रक्रिया अगाडि बढ्न नसकेको हो । रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सबीच भने मर्जरका लागि डिडिए भइरहेको छ । कम्पनीले पुसदेखि एकीकृत कारोबार गर्ने विवरण प्राधिकरणमा बुझाएको थियो । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले माघदेखि एकीकृत कारोबार गर्ने विवरण पेस गरेका छन् । कम्पनीहरूले गत असार अन्तिममा मर्जरका लागि प्राधिकरणबाट पहिलो चरणको अनुमति लिएका थिए ।