मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १४ शनिबार
  • Saturday, 28 January, 2023
श्रवण थापा सर्लाही
२०७९ पौष २४ आइतबार १६:२४:००
Read Time : > 2 मिनेट
फिचर डिजिटल संस्करण

७१ वर्षमा ‘नागरिक’ बन्दाको मुस्कान 

Read Time : > 2 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ पौष २४ आइतबार १६:२४:००

‘नागरिकता मिल्लै, अब दाल, चाउर मिल्तै’ सर्लाहीको चन्द्रनगर गाउँपालिका– ६, कामत टोलमा बस्दै आएकी बनियादेवी माझीले आइतबार नयाँ पत्रिकाकर्मीसँग भेट हुनेबित्तिकै सुनाएको शब्द हो, यो। 

७१ वर्षको उमेर नागरिकता हात परेपछि बनियादेवीको मन औधी पुलकित भएको छ। उनकाे कुराकानी र हाउभाउबाट नागरिकता उनकाे जीवनको पहिलो र अन्तिम सम्पत्ति रहेको प्रस्ट बुझिन्थ्यो। 

बनियादेवीले हर्षित हुँदै बोलेको पहिलो हरफले पंक्तिकारको ध्यान खिच्यो। त्यसपछि नयाँ पत्रिकाकर्मीले उनलाई प्रश्न गरे। अब कसरी दाल चाउर मिल्छ ? नेपाली भाषा राम्रो नबुझ्ने बनियादेवीले भाव बुझ्छिन्। तत्काल जवाफ फर्काइन्। कसरी हुनु नगरिकता भएकालाई दाल–चामल दिन्छन् नि। तर, दाल–चामल कस्ले ?, किन ? र कसरी दिन्छ ? उनलाई थाहा हुने कुरै भएन। 

त्यसपछि बनियादेवीले पंक्तिकारसँग अनागरिकबाट नागरिक बनेको कहानी यसरी बताइन् । छिमेकी पालिका हरिपुर नगरपालिका– ९, माझीटोलमा २००८ सालमा जन्मिएकी बनियाँको विवाह कहिले भयो ? स्मरण छैन। तर, उनी सर्लाहीको हरिपुरमा जन्मिएको दाबी गर्छिन्। बनियाको चन्द्रनगर– ६, कामत टोलनिवासी बुधवा माझीसँग विवाह भएको थियो। 

श्रीमान् बुधवाको समेत १० वर्ष पहिले मृत्यु भइसकेको छ। उनीहराको बालबच्चा भएनन्। बनियाको श्रीमानकाे नागरिकता रहेको उनलाई सम्झना छ। 

उनले पनि श्रीमानसँग नागरिकताका लागि निकै आग्रह गरेकी थिइन्, श्रीमानले संसार छाडे, तर नागरिकता नबनाइदिने ढिपी छाडिनन्। ‘श्रीमानलाई नागरिकता बनाइदिनु भन्दा, तिमीलाई नागरिकता के काम भन्ने र टार्ने मात्र गरेनन्।’ 

‘उल्टै हप्कीदप्कीदेखि कैयनपटक कुटाइसमेत खानुपर्‍याे।’ सम्पत्तिको नाममा बनियादेवीको कामत टोलमा एक धुर ऐलानी जग्गा छ। परिवार र आफन्तको नाममा उनी एक्ली छिन्। छरछिमेकमा आफूले सकेको खेतबारी र घरायसी काम गरिदिएबापत उनीहरूले दुई छाक खान दिन्छन्। कसैकसैले दया लागेर आङ ढाक्न एकसरो कपडासमेत दिने गरेका उनले सुनाइन्। 

गाउँमा विभिन्न संघसंस्था र पालिकाले बाँडेको राहत नागरिकता नभएको कारण नपाएको सम्झना उनीसँग अझै ताजै छ । ‘मजस्तो मान्छेलाई सबैजनाले  नागरिकता देखाऊ अनि दाल–चामल दिन्छौँ भनेर, फर्काए,’ उनले गहभरि आँसु पार्दै सुनाइन्।

‘त्यसैका लागि भए पनि नागरिकता बनाउने सपना बोकेर हिँडेकी हुँ,’ नागरिकता दिलाइदिने आसमा पाँच वर्ष त गाउँका विभिन्न साहुको घरमा कमारो बसेको दुखेसो पोखिन्।

तैपनि उनलाई कसैले नागरिकता दिलाइदिएनन्। विपन्न सोझो एक्ली उनकाे फाइदा मात्र लिएका स्थानीयको भनाइ छ। नागरिकता बनाइदिन भन्दै उनी ठूलाबडाको घरघर चहार्ने गरेकी थिइन्। 

सोही स्थानका रामकेवल माझीको पहलकदमीमा उनले आइतबार नागरिकता पाएको सुनाइन्। उनकाे एकधुर जग्गा र छिमेकीको एक धुर मिलाएर दुई धुरमा जनता आवासले दुईकोठे घर बनाइदिएको छ । 

त्यसमध्ये एउटा कोठामा उनी र एउटामा छिमेकीको परिवार बस्ने गरेका छन्। बनियादेवीको कोठामा थोरै दाउरा र एक गुजुल्टो परालबाहेक केही छैन। खाट, पलङ, सिरक, डसना जे भने पनि उनकाे लागि त्यही पराल हो। काम गरेको ठाउँमा दिएको खाएर आउँछिन्। थोरै पराल ओछ्याउँछिन् र थोरै ओडेर सुत्छिन्। बिहान फेरि परालको गुजुल्टो पारेर छिँडीमा राख्छिन् अनि गाउँतिर काम खोज्न निस्किन्छिन्। 

नागरिकता लिएर मर्ने आफ्नो सपनासमेत पूरा भएको वृद्धा बनियादेवीले सुनाइन्। अनागरिकबाट नागरिक बनेकी ७१ वर्षकी बनियादेवीले वृद्ध पेन्सन पाउने आस जागेको सुनाइन्। पेन्सन पाए बाँकी बुढेसकाल केही सजिलोसँग बित्ने अपेक्षा उनकाे छ। यस कामत टोलमा मात्र यसरी अनागरिक बनेर बसिरहेका २०–२५ जना हेका छन्। उनी सबैजना राज्यको सामान्य सुविधाबाट समेत वञ्चित रहेका छन्।

उनीहरूले समेत पटकपटक वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र गाउँकै प्रहरी कार्यालय धाउँदाधाउँदै आजित भएर पछि हटेको बताए । गैरकानुनी रूपमा धेरै भारतीय नागरिकले नेपाली नागरिकता बनाएको कुरा यस क्षेत्रमा नौलो हाेइन। 

तर, पुर्खौँदेखि बसोवास गर्दै आएका माझी, मुसहरका परिवार पहुँच नपुगेकै कारण पुस्तौँदेखि अनागरिकको जीवन बाँचिरहेका युवा अगुवा पाँचु माझीको भनाइ छ। 

यस समुदायका कैयनले अझै अनागरिक भएर मर्नुपर्ने बाध्यता कायम रहेको उनले गुनासो गरे। यसरी गाउँपालिकामा रहेका नागरिकताको समस्यामा पालिकाले सक्ने पहल कदमी गरिरहेको चन्द्रनगर गाउँपालिकाका प्रमुख राजकुमार महतोले बताए। सम्बन्धित निकायसम्म पुगेर आफैँले पनि मुसहर, माझीलगायत समुदायका व्यक्तिको नागरिकताको समस्या राखेको उनकाे दाबी छ।  

जनप्रतिनिधिमा निर्वाचित हुनुपुर्व एक संस्थाको सहयोगमा महतोले मुसहर, माझी बस्तीमा रहेका नागरिकको नागरिकता बनाउने, प्रतिलिपि निकाल्नसमेत अभियान नै सञ्चालन गरेका थिए। 

उनीहरूको नेपालको संविधानले निदृष्ट गरेको प्रक्रिया पूरा गरेर नागरिकता प्राप्त गरेकाे जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख थानेश्वर गौतमले जानकारी दिए ।

गाैतमले भने, ‘कसैलाई नागरिकताबाट वञ्चित गर्ने राज्यकाे नियत हाेइन। प्रक्रिया पूरा गर्ने नेपालीले नागरिकता लिन कुनै रोकतोक हुँदैन । तर, प्रक्रिया पुर्‍याउन उनीहरूलाई केही समस्या भएको हामीले बुझेका छौँ।’ यस विषयमा स्थानीय सरकारको सहकार्यमा व्यवस्थापनको पहल भइरहेको उनले बताए।