
हाल सञ्चालन भइरहेको नेपाल टी—२० लिग किन विवादमा परिरहेको छ ?
क्यानका पदाधिकारीले जतिखेर सेभेन थ्री स्पोर्टससँगको सम्झौता पत्र बोर्डमा ल्याउनुभयो, त्यतिखेरै त्यो पूर्ण थिएन । हामीलाई राम्ररी पढ्न र छलफल गर्न पनि दिइएन । सम्झौता पत्र अध्ययनका लागि उपलब्ध नै गराइएन । हामीले त्यतिखेरै भनेका थियौँ— यो सम्झौता अपारदर्शी भयो । यदि यो सम्झौता खेलकुद ऐनअनुसार हुँदै छ भने सरकारको स्वीकृति लिनुपर्छ । यो सम्झौता नेपाली क्रिकेटको हितमा छैन । तर, त्यतिखेर हाम्रो कुरा सुनिएन । पदाधिकारीले उतिवेलादेखि नै उल्टोउल्टो काम गर्दै आउनुको परिणाम अहिलेको लिगमा देखिएको हो ।
अहिलेको ‘म्याच फिक्सिङ’ प्रकरणलाई कसरी हेर्नुभएको छ ?
म्याच फिक्सिङको विषय छानबिन प्रक्रियामा गइसकेको छ । यसबारे यहाँ धेरै बोल्नु ठिक नहोला । तर, हाम्रो नेपाल टिमकै क्याप्टेन रोहित पौडेललाई फ्रेन्चाइज टिमको क्याप्टेन नबनाइएको घटनालगायत परिस्थिति हेर्दा प्रश्न गर्ने ठाउँ धेरै देखिन्छन् ।
यस्ता विवादले नेपाली क्रिकेटलाई कहाँ पुर्याउला ?
लामो संघर्ष र मिहिनेतपछि नेपाली क्रिकेट अन्तर्राष्ट्रिय जगत्मा परिचित हुँदै गरेको छ । त्यसैको परिणामस्वरूप नेपालले एक दिवसीय मान्यता पाएको छ । यसलाई जोगाउनु छ । क्यानको कार्य सम्पादन समितिमा रहेको ‘कोर टिम’का गलत क्रियाकलापले नेपाली क्रिकेट दुर्घटनातिर जान सक्छ । अहिलेसम्म प्राप्त उपलब्धि गुम्न सक्छ ।