१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १८ सोमबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १८ सोमबार २१:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादी र जसपाबीच एकताबारे छलफल सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १८ सोमबार २१:४६:oo

जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने-नजानेबारे पार्टीभित्र छलफल गरिरहेका दुवै दलले पार्टी एकता गरेर संसद्को चौथो शक्ति बन्न गृहकार्य थालेका हुन् । 

संसदमा जसपाको अहिले १२  र एकीकृत समाजवादीको १० सिट छ । दुई दलबीच एकता भए कुल सिट संख्या २२ पुग्छ । संसदमा अहिले २० सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो शक्ति छ ।

नयाँ बनेको राजनीतिक समीकरणको सरकारलाई समर्थन गरेपछि तीन दिनअघि शुक्रबार बिहान जसपाका अध्यक्ष उपेन्द्र यादव एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई भेट्न उनको निवास डल्लु पुगेका थिए । 

सरकारमा जानेबारे औपचारिक निर्णय गर्न ढिलाइ गरिरहेका यादवको उक्त भेटघाटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपले हेरिएको थियो ।
स्रोतका अनुसार सरकारमा जानेबारे अलमलमा देखिएका दुई दलका नेताबीचको भेटघाटमा पार्टी एकताबारे छलफल भएको थियो । 

जसपा अध्यक्ष यादवसँगको भेटबारे एकीकृत समाजवादीका नेता खनालले नयाँ पत्रिकासँग भने, ‘भेटघाटमा पार्टी एकताबारे छलफल भएको हो । तर, कसरी एकता गर्ने भन्ने विषयमा ठोस प्रगति भएको छैन । बलियो शक्ति निर्माण गरौँ भन्नेमा दुवै दलको मत मिलेको छ ।’

सोमबार काठमाडौंमा सुरु भएको जसपाको राजनीतिक समितिको बैठकमा पार्टी एकताको विषय पनि एजेन्डाका रूपमा प्रस्तुत भएको छ । बैठकमा प्रस्तुत ८ एजेन्डामध्ये चौथो बुँदामा ‘विभिन्न राजनीतिक दल-संगठनहरूसँग एकता सहकार्य तथा गठबन्धनसम्बन्धी वार्ता गर्नका लागि वार्ता समिति गठन गर्ने सम्बन्धमा’ उल्लेख छ ।

तीन दिनअघि खनालसँगको भेटघाट, पार्टी एकताबारे छलफल अनि बैठकमा पार्टी एकताबारे एजेन्डा प्रस्तुत भएपछि पत्रकारले जसपाका प्रवक्ता मनिष सुमनसँग एकीकृत समाजवादीसँग पार्टी एकताको सम्भावनाबारे जिज्ञासा राखेका थिए । जवाफमा उनले भने, ‘नेकपा एससँग एकता भयो भने कुनै आश्चर्य नमान्दा हुन्छ ।’

लगत्तै एकीकृत समाजवादीको पोलिटब्युरोको बैठकमा पुगेका पत्रकारहरूले जसपाका प्रवक्ताको भनाइ उद्धृत गर्दै एकीकृत समाजवादीका प्रवक्तासँग जसपासँग पार्टी एकताको छलफलबारे जिज्ञासा राखे । जवाफमा उनले भने, ‘कस्तो राम्रो कुरा गर्नुभएछ । एकताका लागि हाम्रो छलफल भइरहेको छ ।’

जसपाका एक नेताका अनुसार शुक्रबार बसेको राजनीतिक समितिको बैठकमा समेत अध्यक्ष यादवले एकीकृत समाजवादीबाट एकताबारे प्रस्ताव आएको सुनाएका थिए । 

नयाँ पत्रिकासँगको कुराकानीमा समेत अध्यक्ष यादवले सामान्य छलफल भएको स्विकारे तर छलफल परिपक्व रूपमा विकसित भइनसकेको बताए । ‘सामान्य गफसफ भएको हो । त्यस्तो केही अघि बढिसकेको छैन । मंगलबारको बैठकमा पार्टी एकताबारे एजेन्डा नै छ । यसमा छलफल हुन्छ,’ उनले भने । 

एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले पनि जसपासँग सहकार्यबारे कुरा चलेको स्विकारे । ‘सहकार्यको कुरा चलेको हो,’ उनले भने, ‘जसपाका कतिपय साथीहरू हिजो हामीसँगै हुनुहुन्थ्यो । मोर्चा बनाएर जाने कि भन्ने हिसाबमा कुरा भएको थियो । तर, ठोस रूपमा कुरा अगाडि बढेको छैन ।  स्थायी कमिटी र पोलिटब्युराेमा पनि यो विषय उठेको छैन । वामपन्थी शक्तिहरूलाई एकत्रित गर्दै अगाडि बढ्ने कुरा उठेको छ । बैठकमा मुख्यतः नयाँ खालको परिस्थितिमा कसरी जाने, सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल भएको छ ।’

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य आलोक रायमाझीले जसपालगायतका दललाई समेटेर समाजवादी केन्द्र बनाउने विषयमा पार्टीभित्र छलफल भएको बताए । 

‘छरिएर रहेका वामपन्थी शक्तिहरूसँग एकीकरणको कुरा छ । तर, पोलिटब्युरो बैठकमा जसपासँग एकता गर्ने विषय उठेको छैन । समाजवादी, क्रान्तिकारीहरूसँग एकता गरेर जाने विषय भने उठेको छ । वैद्य, विप्लवको पार्टी र जसपालाई समेटेर जान सकिन्छ । समाजवादी केन्द्र बनाएर जाने भन्ने पनि छ,’ उनले भने । 

ad
ad
ad
ad