
वीरगन्ज सुक्खा बन्दरगाहमा डस्टी कार्गो स्टेसन (डस्टी कार्गो झार्ने ठाउँ) तयार गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले सुक्खा बन्दरगाहमा डस्टी कार्गोको पूर्वाधार तयार पारेको हो । यससँगै डस्टी कार्गो भारतको रक्सौलमा झारेर त्यहाँबाट ट्रकमा नेपाल ल्याउनुपर्ने बाध्यता हटेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।
डस्टी कार्गोमा क्किंकर, सिमेन्ट, कोइला, डन्डी, सिआर सिट, मलखाद, नुनलगायत वस्तुहरू ल्याइन्छन् । नेपालमा डस्टी कार्गो स्टेसन नहुँदा भारतमै झारेर ल्याइने गरिएको थियो । तर, अब भने नेपालले आफ्नै डस्टी कार्गो स्टेसन बनाएको हो । अहिले व्यवसायीहरूले कोइला, क्लिंकरलगायत अत्यावश्यक डस्टी कार्गो सडकमार्ग (ट्रक)बाट ल्याइरहेका छन् । यसरी ट्रकबाट सामग्री आयात गर्दा प्रतिकेजी १० रुपैयाँभन्दा बढी लागत महँगो हुने व्यवसायीले बताएका छन् । ‘डस्टी कार्गो रक्सौलमा झारेर पुनः नेपाल ल्याउँदा झन्झट हुने एवं खर्च पनि बढी लाग्ने गरेको थियो,’ गजुरेलले भने, ‘अब नेपालले आफ्नो डस्टी कार्गो स्टेसन बनाएको छ, अब रेलबाट सीधै नेपालमा डस्टी कार्गो ल्याउन सकिन्छ ।’
ठूला डस्टी कार्गो स्टेसन निर्माणको तयारी
समितिले ठूलो र पूर्ण क्षमताको डस्टी कार्गो निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाएको छ । सुक्खा बन्दरगाहमै जोडिएको ६२ बिघा जग्गा अधिग्रहण गर्ने कार्य भइरहेको गजुरेलले बताए । जग्गा अधिग्रहण सकिएपछि पूर्ण क्षमताको डस्टी कार्गो निर्माण गरिने उनले बताए । नेपालले प्रयोग गर्दै आएको भारतको रक्सौलस्थित ‘डस्टी कार्गो साइडिङ’मा वेला–वेलामा स्थानीयले अवरोधसमेत गर्ने गरेका छन् । तोकिएको समयमा मालवस्तु उठाउन नसक्दा डस्टी कार्गो स्टेसनमै करोडौँ रुपैयाँ अतिरिक्त शुल्क बुझाउनुपर्ने गरेको व्यवसायीले गुनासोसमेत गर्दै आएका छन् । ‘नेपालमै तत्कालै डस्टी कार्गो स्टेसनको अत्यावश्यक देखिएकाले समितिले अहिलेलाई सुक्खा बन्दरगाहमै स्टेसन तयार गरेको हो,’ उनले भने, ‘अब पूर्ण क्षमताको डस्टी कार्गो स्टेसन पनि छिटोभन्दा छिटो निर्माण गर्नेछौँ ।’