कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा ऐलानी जग्गा नापजाँच सुरु गरिएको छ। बेलडाँडी गाउँपालिकाले बुधबारदेखि ऐलानी जग्गा नापजाँच सुरु गरेको हो।
भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउन जग्गा नापजाँच सुरु गरेको गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले बताए। वडा नम्बर ५ झिलमिलाबाट नापजाँच सुरु गरिएको हो। यसअघि अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन नापजाँच गरिने रानाले बताए।
उनका अनुसार एक सर्वेक्षकसहित पाँच अमिनले ऐलानी जमिन नापजाँच गर्नेछन्। ‘अहिले हामीले ६ जना मात्रै जनशक्ति फिल्डमा खटाएका छौँ। यो टोलीको कामको गतिअनुरूप अन्य जनशक्ति थप्छौँ वा यसैलाई निरन्तरता दिन्छौँ,’ रानाले भने, ‘जमिन भएका, तर वर्षौँदेखि लालपुर्जाविहीन अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउँछौँ। भूमिहीन दलित र सुकुमबासीलाई समेत जमिन धनी बनाउँछौँ।’
गाउँपालिका उपप्रमुख शान्ति नाथले अब बेलडाँडीका भूमिहीन दलित, सुकुमबासी र जमिन भएर पनि स्वामित्व नभएका अव्यवस्थित बसोवासी नागरिक जमिनका मालिक बन्ने बताइन्। ‘चुनावका वेला जनतासँग लालपुर्जा वितरण गर्ने वाचा थियो,’ उनले भनिन्, ‘त्यही वाचाअनुरूप हामी निरन्तर जनताको काममा जुटेका छौँ।’
नापजाँच कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख रामकुमारी रानाले नापी कार्यलाई तीव्र अघि बढाउँदै वर्षौँदेखि जमिनको स्वामित्वबाट वञ्चित रहेकालाई जमिन दिनुपर्ने बताइन्। गाउँपालिकाको उक्त योजनासँगै साढे चार हजार घरपरिवार जमिनको मालिक बन्ने भएका छन्। बेलडाँडीमा यसअघि भूमिहीन दलित एक सय ५५, भूमिहीन सुकुमबासी एक सय ९४ र अव्यवस्थित बसोवासी चार हजार तीन सय ३३ जनाले छुट्टाछुट्टै फारम परेका छन्।