
हर्क साउद सामाजिक परिवेशलाई ध्यानमा राखेर मानिसका कथा–व्यथालाई गीतमा उतार्न खप्पिस छन् । त्यही कारण उनका गीतमा मानिसले आफ्नोपन पाउँछन् । सुन साइँली, के माया लाग्छ र ?, घुमी–घुमी, तीनपातेलगायत उनका धेरै गीत चर्चित छन् । नयाँ गीतकारहरूलाई उनको सुझाव यस्तो छ :
पहिलो कुरा त लेखकले श्रोतालाई के दिन खोजेको भन्ने कुरामा स्पष्टता हुनुपर्छ । कुनै पनि गीत लेख्नुअघि किन लेख्ने र मैले नै किन लेख्ने भन्ने कुरामा प्रस्ट हुनुपर्छ ।
अर्को महत्वपूर्ण विषय सामाजिक परिवेश हो । पात्र, घटना, संस्कृति वा भूगोल पनि समेटिएको हुनुपर्छ । जस्तो– म गीत लेख्दा समाजको परिवेश र प्रकृतिलाई जोड दिन्छु । गीतको पात्र जुराउँदा चरित्रसुहाउँदो दिनुपर्छ । समाज र पात्रको मनोविज्ञानलाई बुझेर गीत लेख्न जरुरी छ ।
- लेख्नुअघि अनुसन्धान अनिवार्य हुन्छ । समाजको जानकारीविना लेख्न गाह्रो हुन्छ । आफूले लेख्ने विषयवस्तुमा आत्मविश्वासी हुन जरुरी छ ।
- कम्तीमा संगीतको सामान्य ज्ञान हुनु जरुरी छ । त्यसले तपाईंलाई लेखाइमा मद्दत गराउँछ ।
- गीतकारले विभिन्न क्षेत्रका पुस्तक पढ्नुपर्छ । तर, कुनै एक विषयमा भने हस्तक्षेप गर्न सक्ने गरी अध्ययन गर्नुपर्छ । समाज, राजनीति, इतिहास, संस्कृति दर्शनशास्त्र, अध्यात्म वा विज्ञानजस्ता विषयमा हस्तक्षेप गर्ने गरी दक्षता हासिल गर्दा अझ राम्रो हुन्छ ।
नयाँ गीतकारले यसै गर्नुपर्छ भन्ने होइन । यी त मेरा सुझाव भए । गीतकारले आफ्नो क्षमताअनुसार लेख्ने हो । सबैले आफ्नो क्षमता चिन्न जरुरी छ । अध्ययन पनि उत्तिकै जरुरी छ ।