मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ पौष १३ बुधबार ०८:४५:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

सन् २०२२ मा एक करोड मानिस विस्थापित : राष्ट्रसंघ

Read Time : > 1 मिनेट
२०७९ पौष १३ बुधबार ०८:४५:००

युद्ध, सशस्त्र द्वन्द्व, दैवी विपत्ति र जलवायु संकटका कारण विश्वका दसौँ लाख मानिस देशभित्रै वा बाह्य रूपमा विस्थापित भएको राष्ट्रसंघले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले देखाएको छ ।शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकाय (युएनएचसिआर)ले सन् २०२२ मा विश्वका एक करोड मानिस आफ्नो घर छोड्न बाध्य भएको जानकारी दिएको हो ।

युएनएचसिआरले उनीहरूलाई विभिन्न तरिकाले सहयोग गरिरहेको पनि बताएको छ । युएनएचसिआरका अनुसार यो वर्षको जाडो विश्वभरका लाखौँ ‘आप्रवासी शरणार्थी’का लागि निकै चुनौतीपूर्ण र कठोर हुनेछ । ‘हाम्रो विश्वले आन्तरिक विस्थापनको संकट सामना गरिरहेको छ । द्वन्द्व, विपत्ति र जलवायु संकटजस्ता त्रासदीका कारण विश्वमा देशभित्रै पनि मानिस उच्च संख्यामा मानिस विस्थापित भएका छन्,’ युएनएचसिआरले भनेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत जुनमा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय विस्थापनसम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै आवश्यकता परेका मानिसलाई सहयोग पुर्‍याउनु सबैको जिम्मेवारी भएको बताएका थिए । युक्रेन, इथियोपिया, बुर्किना फासो, सिरिया र म्यानमारलगायत विश्वका धेरै भागमा हिंसा, गरिबी र लामो द्वन्द्व आप्रवासन विस्थापनका प्रमुख कारक हुन् ।

‘हजारौँ निराश आप्रवासीले युरोपलाई आफ्नो रोजाइको गन्तव्यका रूपमा हेरेका छन् । यसका लागि उनीहरूले मानव तस्करहरूको हातमा आफ्नो जीवन सुम्पेका छन् र भूमध्यसागर पार गर्न खतरनाक यात्रामा निस्केका छन्,’ युएनएचसिआरले भनेको छ ।

यमनमा लामो द्वन्द्व सुरु भएको सात वर्षभन्दा बढी भइसकेको छ । यहाँ द्वन्द्वका कारण ४३ लाखभन्दा बढी मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् । गत मे महिनामा संयुक्त राष्ट्रसंघको आप्रवासन एजेन्सी आइओएम र युरोपेली संघको मानवीय सहायता शाखा इकोले द्वन्द्वका कारण विस्थापित भएका तीन लाख २५ हजारभन्दा बढी आप्रवासी र उनीहरूलाई आश्रय दिने समुदायको आवश्यकता पूरा गर्ने प्रयासलाई तीव्रता दिने घोषणा गरेको थियो ।

यमनस्थित आइओएम अभियानकी प्रमुख क्रिस्टा रोटेनस्टाइनरले भनिन्, ‘यमनमा आप्रवासीहरू र विशेषगरी महिलाहरूको स्थिति थप खराब हुँदै गइरहेको छ । उनीहरू यमनमा स्वतन्त्रताविहीन भएर गम्भीर अवस्थामा बाँचिरहेका छन् ।’

सिरियामा युद्धले ११ वर्षदेखि जनजीवनलाई भयावह बनाइरहेको छ । सिरियामा जन्मिएका करिब ५० लाख बालबालिकाले देशमा कहिल्यै शान्ति देखेका छैनन् । जोर्डनले सिरियाबाट आएका ६ लाख ७५ हजार दर्ता भएका शरणार्थीलाई आश्रय दिन्छ । उनीहरूमध्ये अधिकांश स्थानीय समुदायको बीचमा जोर्डनका सहर र गाउँमा बस्छन् । जोर्डनको राजधानी अम्मानस्थित युएनएचसिआरका प्रतिनिधि डोमिनिक बार्ट्सले बताएअनुसार तत्काल उनीहरूको स्वदेश फिर्तीको सम्भावना छैन ।

सन् २०२० को नोभेम्बरमा सुरु भएको इथियोपियाको टिग्रे क्षेत्रको सशस्त्र द्वन्द्वका कारण त्यहाँबाट पनि लाखौँ मानिस विस्थापित छन् । पाँच वर्षअघि म्यानमारबाट आफ्नो घर छाडेर भागेका लाखौँ रोहिंग्या छिमेकी देश बंगलादेशको कक्स बजारस्थित शरणार्थी शिविरमा बसेका छन् । त्यहाँ करिब १० लाख शरणार्थी बस्छन् ।