मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १२ मंगलबार
  • Monday, 16 December, 2024
रासस काठमाडौं
२o७९ पौष १२ मंगलबार १५:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने आयोगको तयारी

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १२ मंगलबार १५:o४:oo

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

आयोगले निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ। वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको छ। नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ।

संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकैपटक नभई फरक–फरक मितिमा निर्वाचन हुनेछ। यस निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता हुनेछन्। मुलुकको विद्यमान जनसंख्याअनुसार यी पदको निर्वाचनका लागि संघीय संसद्का प्रति सदस्यको मतभार ७९ र प्रदेश सभाका प्रतिसदस्यको मतभार ४८ हुनेछ।

आयोगले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन गत मंसिर २९ गते प्रतिवेदन बुझाएको थियो। राष्ट्रपतिको आह्वानबमोजिम दुईभन्दा बढी दलको समर्थनमा यही पुस १० गते नयाँ सरकार गठन भइसकेको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा सम्पादन गर्नुपर्ने कामका लागि आयोगले न्यायपरिषद्को परामर्शमा उच्च अदालतको न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गर्नेछ। निर्वाचनमा उम्मेदवार हुन संघीय संसद्को सदस्यका लागि हुनुपर्ने योग्यताका साथै कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने तथा कुनै कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्नेछ। निर्वाचनमा मनोनयनका लागि मतदाता नामावलीमा नाम समावेश भएका पाँचजना प्रस्तावक र पाँचजना समर्थक आवश्यक पर्ने कानुनी व्यवस्था छ। रासस