Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ पौष ५ मंगलबार १६:५३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अम्रिसोबाट कुचो उत्पादन गर्दै सामुदायिक वनका उपभोक्ता 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ पौष ५ मंगलबार १६:५३:००

कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ पहरियास्थित ऐश्वर्या सामुदायिक वनका उपभोक्ता अम्रिसो खेतीतर्फ आकर्षित भएका छन्। कुचो बनाएर आम्दानी गर्न थालेपछि उनीहरू एकल तथा सामूहिक रूपमा अम्रिसो खेतीतर्फ उन्मुख भएका हुन्।

सामुदायिक वनकी उपभोक्ता पदमा बुढाले आफ्नै निजी जमिन र सामुदायिक वनका उपभोक्तासँगै सामूहिक अम्रिसो खेती गरेको बताइन्। ‘विगतमा हामी घर, आँगन सरसफाइका लागि बजारबाट अम्रिसोको कुचो किनेर ल्याउँथ्यौँ,’ उनले भनिन्, ‘आजभोलि आफैँ खेती गरेर कुचो बनाएर बेच्न थालेका छौँ।’ उनले कुचो बिक्री गरेर घरायसी खर्च पुर्‍याएकी छिन्।

ऐश्वर्या सामुदायिक वन कार्यालयका सचिव दामोदर जोशीले स्थानीयले सामुदायिक वन र निजी रूपमा अम्रिसो खेती गरेको बताए। ‘हामीले अहिले समुदायिक वनमा ४० हेक्टरमा खेती गरेका छौँ,’ उनले भने। डोरी र प्लास्टिक दुई थरीका कुचो बनाएर बिक्री गर्दै आएको उनले बताए।

जोशीका अनुसार डोरीको पिँध राखेर बनाइएको कुचो प्रतिगोटा ५० रुपैयाँ र प्लास्टिकको पिँध राखेर बनाइएको कुचो प्रतिगोटा ७० रुपैयाँमा बिक्री–वितरण गर्दै आएका छन्। डोरीबाट बन्ने कुचोमा १२ रुपैयाँ र प्लास्टिकबाट बन्ने कुचोमा ३० रुपैयाँ लागत पर्ने उनले बताए। ‘समुदायको खर्च समुदायमै प्रयोग गर्छौँ,’ कार्यालय सचिव जोशीले भने।

उनका अनुसार यहाँ डेढ दशकदेखि अम्रिसो खेती हुँदै आएको छ। सुरुका वर्षहरूमा १० देखि २५ हजारको मात्रै कुचो बिक्री भए पनि हाल दुई लाखभन्दा बढीको बिक्री भइरहेको उनले बताए। ‘गत वर्ष हामीले दुई लाख १८ हजारका कुचा बिक्री गर्थ्याैँ,’ उनले भने, ‘चालू वर्षमा चार लाखको बिक्री गर्ने लक्ष्य छ।’ उत्पादित कुचो स्थानीय झलारी, महेन्द्रनगर, अत्तरिया र धनगढीलगायतका बजारका व्यवसायीले खरिद गरेर लैजाने गरेका छन्।

ऐश्वर्या सामुदायिक वनका अध्यक्ष इन्द्रबहादुर बुढाले तराई भूपरिधि कार्यक्रम (ताल)मार्फत सहयोग पाएपछि सामुदायिक वनमा अम्रिसो खेती गर्न लागेको बताए। ‘यो अम्रिसो खेतीबाट एकातिर वन्यजन्तु संरक्षण भइरहेको छ भने अर्कातिर उपभोक्ताले आम्दानी गरिरहेका छन्,’ उनले भने। सुरुवाती चरणमा सामुदायिक वनका चारजनालाई कुचो बनाउने तालिम दिएसँगै आफूहरूले पनि डेढ दशकदेखि कुचो उत्पादन गर्न लागेको उनले बताए।

अम्रिसो खेती गरेपछि हात्तीको आहारा उत्पादन भएकाले ठूला वन्यजन्तु संरक्षण भइरहेको अध्यक्ष बुढाको दाबी छ। ‘कहिल्यै नदेखिने हात्ती अम्रिसो खेती गरेपछि आउन थालेका छन्। लामो समय बसेर जान्छन्,’ उनले भने, ‘पात हात्तीको आहारा हुन्छ, फुलबाट कुचो बनाउँछौँ।’

कञ्चनपुरका सहायक वन संरक्षण अधिकृत दिनेशकुमार यादवले सामुदायिक वनको प्रयासबाट उपभोक्ताको आम्दानी बढ्नुका साथै वन र वन्यजन्तु संरक्षणका साथै मानव–वन्यजन्तुबीचको द्वन्द्वसमेत न्यूनीकरण हुने बताए।