
लुसेल रंगशालामा रेफ्रीले जब लामो ह्विसल फुके, अधिकांश क्यामेराका लेन्स लियोनल मेसीतिर सोझिए । सर्वकालीन महान् खेलाडी मेसीको दोस्रोपटक फिफा विश्वकप प्रतियोगिताको फाइनल पुगेका थिए ।
यो ऐतिहासिक क्षणमा उनको हाउभाउ कस्तो होला ? क्यामेराका लेन्स त्यही कैद गर्न चाहिरहेका देखिन्थे । त्यसैले निकैबेरम्म तिनले मेसीलाई नै पछ्याइरहे ।
मेसी र अरु अर्जेन्टाइन प्लेयरहरू एकअर्काको अंगालोमा बाँधिए । भरिभराउ लुसेल अर्जेन्टिनाको जितमा जुरुक्कै उचालियो ।
कतारको भव्य लुसेल रंगशालामा प्रत्यक्ष उपस्थित मात्र होइनन्, अर्जेन्टिना र क्रोएसियाबीचको सेमिफाइनल खेल टेलिभिजन तथा अन्य अनलाइन माध्यमबाट प्रत्यक्ष हेरिरहेका विश्वभरका करोडौं खेलप्रेमीको लागि यो क्षण भावुकताले भरिएको थियो ।
खेलाडी र समर्थकहरूका आँखामा खुसी छचल्किएको स्पष्टै देखिन्थ्यो । पछिल्लो झन्डै चार वर्षदेखि अर्जेन्टिनाको प्रशिक्षण सम्हाल्दै आएका लियोनल स्कोलेनीका आँखा पनि रसाए ।
अर्जेन्टिनाको नयाँ पुस्ताका धेरै खेलाडी यो सपनाको साक्षी बन्न पाए । उनीहरूले मैदानका चारैतिर घुमेर आफ्नो परम्परागत शैलीमा दर्शकलाई अभिभादन गरे । कप्तान मेसी पनि निकै समयसम्म मैदानमै रमेको देखियो ।
सपना साकार हुन एक कदम मात्र दूर पुगेका वेला को खुसी नहोला । मेसी र उनका समकक्षीका लागि आजको साँझले त्यही खुसी दियो ।
विश्वफुटबलका सबैखाले उपाधि जितिसकेका मेसीले जित्न बाँकी यही एउटा उपाधि हो । २०१४ मा उनी त्यो सपना पूरा गर्ने यस्तै अन्तिम कदमसम्म पुगेका थिए । तर, दुर्भाग्य, अतिरिक्त समयमा मारियो गोड्जेको एक मात्र गोलले यी सर्वकालीन महान् खेलाडीका सपना तुषारापात गरिदिएको थियो ।
आठ वर्षको अन्तरालमा उनी पुनः उपाधिको निकट पुगेका छन् । मात्र, एक कदम दूर छन् । त्यो पनि मूलतः आफ्नै बलमा । जारी प्रतियोगितामा अर्जेन्टिनाले खेलेका ६ खेलमा मेसीले तीन असिष्टसहित पाँच गोल गरिसकेका छन् । तीनपटक गोलका लागि अवसर सिर्जना गरेका छन् ।
अर्जेन्टिनाको प्रत्येक खेलमा उनी छाएका छन् । अझ भनौँ, खेल उनले नै बुनिरहेका छन् । अब उनको त्यही कुशलता आइतबार पुनः देखिनुपर्नेछ । किनभने, करोडौँ मनहरू एक कदम दूर रहेको विश्वकप ट्रफी मेसीले उचालेको हेर्न आतुर छन् ।