Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
श्रवण थापा सर्लाही
२०७९ मङ्सिर २१ बुधबार २०:५५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धुलाम्मे सडकले दिनहुँ सास्ती, कालोपत्रे माग्दै चक्काजाम

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ मङ्सिर २१ बुधबार २०:५५:००

लामो समयदेखि अलपत्र हुलाकी सडकखण्ड कालोपत्रे गर्नुपर्ने मागसहित सर्लाहीमा स्थानीयले चक्काजाम गरेका छन्। 

बुधबार युवाहरूको सक्रियतामा हुलाकी सडकखण्डअन्तर्गत जिल्लाको मलंगवा नगरपालिका– ६ मुसाैलीमा स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेका हुन्। 

उक्त सडकखण्डमा कालोपत्रेको माग राखेर स्थानीयले यसभन्दा पहिला पनि सडक अवरुद्ध पारेका थिए। त्यसवेला स्थानीयसँग प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको पहलमा ठेकेदार कम्पनीले तत्काल कालोपत्रेको काम सुरु गर्ने, धुलो उड्ने ठाउँमा पानी हाल्ने सहमति भएको थियो। 

छिमेकी जिल्ला रौतहट र महोत्तरीसम्म हुलाकी सडक कालोपत्रे भइसक्दा सर्लाहीतर्फको सडक अलपत्र छ। ठेकेदार कम्पनीले पटकपटक काम सुरु गर्ने भन्दै बेवास्ता गर्दै आएको छ। 

समयमै सडक कालोपत्रे नहुँदा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ। सडकमा गाडीको आवागमनमा उडेको कुहिरीमण्डल धुलोले छेउछाउका घरहरूमा बस्नै नसकिने अवस्था रहेको गोडैता नगरपालिकाका स्थानीय राजननारायण रायले गुनासो गरे। 

धुलोका कारण साइकल, मोटरसाइकल तथा पैदल यात्रुले सास्ती भोग्नुपरिरहेको कौडेना गाउँपालिका– ५ का वीरेन्द्र दासले बताए। 
‘यो सडक भन्नु मात्रको छ,’ उनले भने, ‘यो रोगको भण्डार बनेको छ। सडकमा यात्रा गर्नेले मात्र होइन, सडक छेउका घरमा बस्नेहरूले समेत सास्ती पाएका छन्। घरभित्र राखिएका खाना, लुगाफाटा सबै धुलाम्मे हुने गरेको छ।

यस सडकखण्डका विभिन्न स्थानका स्थानीयले दिनहुँजस्तै सडकमा प्रदर्शन गरिरहेका छन्। ठेकेदार, राजनीतिक दल तथा स्थानीय प्रशासनबाटसमेत पटक-पटक आश्वासन मात्र पाएको उनीहरूको भनाइ छ। 

यसअघि प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले मंसिर तेस्रो सातापहिले सडक कालोपत्रे काम सुरु हुने प्रतिबद्धता व्यक्त गरेका उनीहरूको आरोप छ। तर, अवस्था ज्युँकात्यूँ भएपछि स्थानीय पुनः आन्दोलित बनेका हुन्। 

प्रजिअ गौतमले भने, ‘आन्दोलको कुनै औचित्य नरहेको बताएका छन् । नयाँ पत्रिकासँग कुरा गर्दै गौतमले सहमतिअनुसार काम भइरहेको दाबी गरे।’ 

‘उनीहरूको आफ्नो मनलाग्दी गरेका छन्,’ उनले भने, ‘यसमा हामी केही गर्न सक्दैनौँ। यसअघि ठेकेदार कम्पनी र स्थानीयबीच केही सहमति भएकै हो। कौडेना बजारतर्फबाट काम भइरहेको छ।’ 

केही दिनअघि कौडेना बजारका स्थानीयले पनि चक्काजाम गरेका थिए। स्थानीयको प्रदर्शनपछि त्यहाँ सडक कालोपत्रेको थोरै काम भएको छ। 

हेमडुङ एन्ड थोकर/ हीरा एन्ड नमिता जेभी कम्पनीले मलंगवाबाट महोत्तरीको सिमाना शीतलपुर हर्दी खोलासम्मको १५ किलोमिटर सडकको निर्माण ठेक्का लिएको थियो।    

जिल्लामा पर्ने ५१ किलोमिटर हुलाकी सडक तीन खण्डमा ठेक्का लागेको छ। जसमध्ये केही किलोमिटर सडक मात्र कालोपत्रे बनेको छ। बाँकी यसै अलपत्र छ। हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतोले हुलाकी सडक निर्माणको कामअघि बढेको दाबी गरे।

सडक निर्माणमा दबाब सिर्जना गर्ने उद्देश्यले गत वर्ष जिल्लाका सांसद, पालिका प्रमुख, नागरिक समाजका अगुवालगायत धर्नामा बसेका थिए। सरकारका मन्त्रीहरूले पटक–पटक जिल्ला आएर आश्वासन दिँदासमेत हुलाकी सडकको अवस्था उस्तै रहँदा यहाँका बासिन्दा निराश भइरहेका छन्।