मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर २१ बुधबार १०:४८:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रसूतिगृहमा मात्रै पुग्छन् बर्सेनि सात सयभन्दा बढी हिंसापीडित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर २१ बुधबार १०:४८:००

परोपकार प्रसूतिगृहमा उपचारका लागि मात्रै बर्सेनि झन्डै सात सय बिरामी उपचारका लागि पुग्ने गरेका छन् । अस्पतालको तथ्यांकअनुसार पछिल्लो चार महिनामा मात्रै हिंसापीडित एक सय ३५ जना उपचारका लागि अस्पताल पुगेका छन् । लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार कात्तिकमा मात्रै ४४ जना अस्पताल भर्ना भएका थिए ।

असोजमा २५, भदौमा २८ र साउनमा ३८ हिंसापीडित अस्पताल पुगेको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षमा प्रसूतिगृहमा मात्रै ६ सय ६६ हिंसापीडित महिला उपचारका लागि पुगेका थिए । जसमध्ये सबैभन्दा धेरै अर्थात् ६ सय ३६ जना यौनहिंसाबाट पीडित छन् । 

गोरखाबाट गत साता १९ हप्ताको गर्भपतनका लागि एक किशोरी परोपकार प्रसूतिगृह पुगिन् । गोरखा जिल्ला अस्पतालमा १९ हप्ताको गर्भपतन गर्ने जनशक्ति र सुविधा उपलब्ध नहुँदा उनलाई काठमाडाैं रिफर गरियो । प्रसूतिगृहमा चिकित्सकहरूले अभिभावकको सल्लाहमा १७ वर्षीया किशोरीको गर्भपतन गराए । ती किशोरी आफन्तबाट बलात्कारमा परेर गर्भवती भएकी थिइन् । 

नावालिग बलात्कारबाट गर्भवती भएकाले प्रहरीको रोहवरमा उनको सुरक्षित गर्भपतन गरियो । सामान्यतया गर्भवतीको मञ्जुरीमा १२ हप्तासम्मको मात्रै गर्भपतन गर्न पाउने व्यवस्था भए पनि हिंसापीडितका आधारमा गर्भपतन गराइएको थियो । सुरक्षित गर्भपतनपछि केही दिन अस्पतालमै राखेर काउन्सिलिङ गर्नुपरेकाले उनी चार दिन अस्पतालमै बसिन् । स्वास्थ्यमा सुधार आएसँगै अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार व्यवस्थापन केन्द्रको सहयोगमा उनलाई घर फर्काइयो ।

गत चैतमा बुटवलबाट पाँच वर्षीया बालिका बलात्कारपछि शरीरमा घाउ र चोटपटकसहित प्रसूतिगृह अस्पताल पुगिन् । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार यौनांगसहित अनुहार, घाँटी, छाती र तिघ्रामा समेत गहिरो घाउ भएकाले प्रसूतिगृहले थप उपचारका लागि टिचिङ अस्पताल रिफर गर्‍यो । उनलाई आवश्यक उपचारपछि थप शल्यक्रियाका लागि टिचिङ पठाइएको थियो । लामो समयको उपचारपछि हाल उनको स्वास्थ्यमा सुधार देखिएको चिकित्सकहरूले बताएका छन् । 

देशभरिबाट गम्भीर स्वास्थ्य समस्या लिएर पुग्ने रिफरल केसहरूको भिडभाड रहने प्रसूतिगृहको ओसिएमसी वार्डमा लैंगिक हिंसापीडित दैनिक आठजनासम्म बिरामी पुग्ने गरेका छन् । जसमध्ये अधिकांश महिला यौन हिंसापीडित हुने गरेका छन् । हिंसाबाट पीडित महिलाहरू अधिकांश उपचारको सहज पहुँचका लागि सरकारले अस्पतालमा आधारित ८८ वटा ओसिएमसी सञ्चालनमा छन् । अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार सबैभन्दा बढी १८ वर्षमुनिका बालिका हिंसापछि गम्भीर स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने गरेका हुन् ।

परोपकार प्रसूतिगृहका ओसिएमसी इन्चार्ज सिनियर नर्स सुकु लामाका अनुसार बलात्कार, बलात्कारबाट गर्भधारण र अन्य यौनजन्य हिंसामा परेका महिला तथा बालिका दैनिकजसो अस्पताल पुग्ने गरेका छन् ।

याे पनि पढ्नुहाेस् : ६३ महिनामा महिला हिंसाका ९६१४१ घटना  तर, न्याय प्रवाहमा राज्य संयन्त्र नै तगारो