मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुना कुँवर काठमाडौं
२०७९ मङ्सिर १९ सोमबार १३:०५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

कतारमा व्यवसाय गर्ने नेपाली नागरिकले पाउने भए व्यवसाय कार्ड

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौं
२०७९ मङ्सिर १९ सोमबार १३:०५:००

कतारमा व्यवसाय गर्दै आएका नेपाली नागरिकले व्यवसाय कार्ड पाउने भएका छन् । कतार र नेपाल ओहोर–दोहोर गर्न सहज होस् भनी कतारमा व्यवसाय गर्दै आएका नेपाली नागरिकले धेरै समयदेखि सरकारसँग व्यवसाय कार्डको माग गर्दै आएका थिए ।

गत शुक्रबार वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड र नेपाल व्यवसायी संघ कतारबीच भएको त्रिपक्षीय सम्झौताअनुसार कतारमा व्यवसाय गर्दै आएका नेपाली नागरिकलाई सरकारले दुई वर्षका लागि व्यवसाय कार्ड दिने भएको हो । कार्ड पाएर कतारमा व्यवसाय गर्ने नेपाली नागरिकले नेपाल आएर कतार फर्कंदा बारम्बार श्रम स्वीकृति गर्नुपर्नेछैन । त्यस्तै, विमानस्थलमा कामदारको लाइनमा बस्नुपर्नेछैन भने हवाईजहाजको टिकटको वर्गअनुसारको सबै सुविधा प्राप्त गर्नेछन् । 

 ६५ नेपाली व्यवसायीले व्यवसाय कार्ड पाउने
तत्काल ६५ नेपाली व्यवसायीले व्यवसाय कार्ड पाउने नेपाल व्यवसाय संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईंले बताए । कतारस्थित नेपाली दूतावासले प्रमाणीकरण गरेको सिफारिसपत्रका आधारमा व्यवसायीले व्यवसायी कार्ड पाउनेछन् । यसका लागि सबैभन्दा पहिला नेपाली व्यवसायी संघ कतारले नै कतारस्थित दूतावासमा व्यवसायीको नाम विवरण पठाउनेछ ।

 आफ्नै मुलुकमा लज्जित हुन्छन्, कतारका नेपाली व्यवसायी
लामो समयदेखि कतारमा बसेर व्यवसाय गर्दै आएका नेपाली नागरिकहरू आफ्नै मुलुकमा लज्जित हुनुपरेको व्यवसायीहरूले गुनासो गरेका छन् । कतारबाट नेपाल आउँदा कुनै समस्या हुँदैन, तर नेपालबाट कतार फर्कंदा आफ्नै मुलुकमा लज्जित हुनुपर्ने नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईंले गुनासो गरे । उनका अनुसार कतारमा करिब साढे तीन लाख नेपाली कामदार छन् । जसमध्ये करिब दुई सय नेपालीले आफैँले व्यवसाय गर्दै आएका छन् । तर, कतारमा व्यवसाय गर्ने नेपालीले भने कतारमा कुनै पनि सम्पत्ति खरिद गर्न पाउँदैनन् ।

व्यवसायीले आम्दानीको नाफा पनि नेपालमा नै पठाउनुपर्छ । धेरै रेमिट्यान्स पठाउने मुलुकमध्ये कतार पनि एक हो । ‘हामी नेपाल आउँदै पिच्छे श्रम स्वीकृति लिनुपर्छ । त्यति मात्रै होइन, विमानस्थलमा कामदारको लामो लाइनमा बस्नुपर्छ । जबकि हामीले त वर्षौँपहिला नै यो लाइन बस्ने प्रक्रिया सकिसक्यौँ । हामी कतारमा व्यवसाय गर्छौँ र आफ्नै मुलुकमा रेमिट्यान्स पठाउँछौँ । तर, सरकारले हामीलाई कुनै पनि प्रोत्साहन गर्दैन । बरु, लज्जित बनाएर नेपाल आउनै मन नलाग्ने बनाउँछ,’ उनले भने । यही कारण कतार बस्ने नेपाली व्यवसायी घुम्नका लागि विभिन्न मुलुक जान्छन् । नेपाल आउने इच्छा हुँदाहुँदै पनि झन्झटिलो प्रक्रियाका कारण उनीहरू नेपाल आउन नचाहने उनले बताए । विश्वको कुनै पनि मुलुकमा जाँदा यस्तो समस्या भोग्नुपर्दैन, तर आफ्नै मुलुकमा लज्जित हुुनुपरेको उनले बताए ।  

 नेपाली व्यवसायीलाई सरकारले सम्मान गर्नुपर्छ
 सरकारले नेपालमा लाखौँ पर्यटक भित्र्याउने योजना राखेको छ । व्यवसायीलाई प्रोत्साहन गर्ने हो भने नेपाली व्यवसायीले नै कतारलगायतका मुलुकबाट पर्यटक भित्र्याउन सहयोग गर्ने नेपाल व्यवसाय संघ कतारका अध्यक्ष चौलागाईंले बताए । घुम्नका लागि होस् वा सभा–सम्मेलनका लागि होस्, नेपाली व्यवसायीबाट नै पर्यटक भित्रिने उनको दाबी छ । कतार सरकारको नियमअनुसार विदेशी नागरिकको ४९ प्रतिशत र स्थानीयको ५१ प्रतिशत लगानीमा कतारमा व्यवसाय सञ्चालन गर्न पाइन्छ । कतारमा रहेका नेपाली व्यवसायीमध्ये ९० प्रतिशतले निर्माण क्षेत्रमा लगानी गरेका छन् भने १० प्रतिशतले रेस्टुरेन्ट क्षेत्रमा लगानी गरेका छन् । नेपाली व्यवसायीले कतारमा १० प्रतिशत कर भुक्तानी गर्नुपर्ने हुन्छ । 

 दु्रत प्रतिक्रिया कार्यदल गठन गर्ने सहमति
नेपाल वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड र नेपाल–कतार व्यवसाय संघ कतारबीच कतारमा रहेका नेपाली कामदारको सहयोगका लागि दु्रत प्रतिक्रिया कार्यदल गठन गर्ने सहमति भएको छ । सम्झौताअनुसार प्रवासी नेपाली कामदारको राहत, उद्धार र स्वदेश फिर्ताका लागि द्रुत प्रतिक्रिया कार्यदल गठन परिचालन गर्न संघले आवश्यक पहल गर्नेछ । 

प्रवासी कामदारको राहत, उद्धार तथा स्वदेश फिर्ता, पुनर्एकीकरण र सामाजिक सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालनका लागि दुवै पक्षको संयुक्त कोष निर्माण र स्रोत परिचालनका लागि नीति एवं कानुन निर्माणका लागि संघले पहल गर्ने सहमति भएको छ । कतारमा अलपत्र परेका महिला कामदारका लागि अस्थायी सुरक्षित गृह स्थापना वा सञ्चालन व्यवस्थाका लागि सहयोग संघले सहमति जनाएको छ । 

त्यस्तै, सम्झौताअनुसार नेपाल व्यवसाय संघ कतारले नेपाली कामदारलाई कतारस्थित सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सहयोग पुर्‍याउनेछ । साथै, कामदार बिमा, उपचार सुविधालगायतका सुविधा प्रदान गर्न कतारस्थित रोजगारदातासँग वार्ता गर्ने वातावरण तयार पार्नेछन् । 

रेमिट्यान्समा योगदान गर्ने व्यवसायीलाई सरकारले प्रोत्साहन गर्नुपर्छ
महेन्द्र चौलागाईं, अध्यक्ष, नेपाल व्यवसाय संघ कतार 

कतारमा विगत ३० वर्षदेखि बसेर व्यवसाय गर्ने नेपाली छन् । उनीहरूले नेपालबाट लगानी लगेका छैनन् । सुरुवातमा कामदारकै रूपमा गएका नेपालीले त्यहाँ आफैँले दुःख गरी ठूलो व्यवसाय गर्न सफल भएका छन् । यस्ता नेपालीले कतारमा केही खरिद गर्न पाउँदैनन् । कतारबाट सीधै कुनै पनि मुलुकमा रकम पठाउन पाउँदैनन् ।

उनीहरूले जे गरे पनि नेपालमा गर्नुपर्ने हुन्छ । त्यसैले धेरै रेमिट्यान्स पठाउने मुलुकमा कतार पनि पर्छ । तर, यस्तो व्यवसायीलाई सरकारले लज्जित बनाउँछ । सरकारको व्यवहारले हामीलाई नेपाल आउन निरुत्साहित गराउँछ । तसर्थ, सरकारले व्यवसायीलाई सम्मान गरोस् । यसो भयो भने हामी पर्यटक भित्र्याउन ठूलो सहयोग गर्न सक्छौँ । हामी विभिन्न मुलुकमा गएर सभा–सम्मेलन गर्छौँ । हामीलाई नेपाल आउजाउमा सहज भयो भने हामी नेपालमा नै आउँछौँ । विदेशीलाई नेपालमा नै ल्याउँछौँ ।