मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका दार्चुला
२०७९ मङ्सिर १९ सोमबार ०८:५३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तटबन्धको विषयलाई लिएर दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
२०७९ मङ्सिर १९ सोमबार ०८:५३:००

 भारतले एकपक्षीय रूपमा नेपाललाई क्षति पुग्ने गरी तटबन्ध निर्माण गर्न थालेपछि दार्चुलामा तनाव भएको छ । महाकाली नदीको बीच भागमा ग्याबिन जाली लगाएर तटबन्ध निर्माण गरेपछि तनाव भएको हो । 

नेपालतिर क्षति पुग्ने गरी नदीको धार परिवर्तन गरेको भन्दै स्थानीयले नेपाल–भारत जोड्ने झोलुङे पुलमा आइतबार अढाई घन्टा तालाबन्दी गरेका छन् । गत वर्षबाटै निर्माण कार्य थालेको भारतीय कम्पनी अरुण कन्स्ट्रक्सनले सीमा नदी महाकालीको पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध निर्माण गरिरहेको छ । भारतीय पक्षले एक किलोमिटर लम्बाइ र आठ मिटर चौडाइमा पक्की तटबन्ध निर्माण गरिरहेको हो । 

दिउँसो भारतीय पक्षको डोजरले बंगाबगड क्षेत्रमा नदीको बहाव नेपाल फर्काउने गरी काम थालेको भन्दै दुर्वतर्फबाट ढुंगा हानाहान भएको थियो । ढुंगा लागेर नेपालतर्फ प्रेमसिंह कुँवर र पुष्कर सिंह घाइते भएका छन् । भारतीय नागरिक घाइते भए पनि नाम खुलेको छैन । 

‘तटबन्ध निर्माणको विषयमा भारतले एकतर्फी गर्न थालेपछि विवाद भएको हो,’ स्थानीय अमनसिंह बोहराले भने, ‘विगतदेखि नै हामीले नेपालतिर क्षति पुग्ने गरी काम नगर भन्दा पनि भारतले बलमिच्याइँ गरेपछि अवरोध गरेका हौँ । पूरै नदीको धार नेपालतर्फ फर्काउने काम भएको छ । बर्खामा यस्तै अवस्था रहे खलंगा पूरै क्षति हुनेछ ।’

तनाव उत्पन्न हुन थालेपछि सुरक्षाकर्मी आएर रोकेका थिए । पुल बन्द भएर वारिपारि स्थानीय रोकिएपछि प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय नेतृत्वको टोलीले भारततर्फ निर्माण गरिरहेको तटबन्धको स्थलगत निरीक्षण गरेको थियो । ‘नेपालतिर क्षति पुग्ने गरी तटबन्ध निर्माणको कार्य नगरौँ,’ उनले भने । दुवैको सहमतिमा काम गर्दा सहज हुने भन्दै उनले आगामी दिनमा सावधानी अपनाउन आग्रह गरे । ‘सीमामा तटबन्ध बनाउँदा दुवै पक्षको सहमति आवश्यक हुन्छ ।

एकतर्फबाट मात्र क्षति हुने गरी काम नगर्ने सहमति भएको छ,’ उनले भने, ‘भोलिबाट दुवै पक्षले संरचना बनाउँदा निरीक्षण गरेर काम अघि बढाउन भनेका छौँ ।’