मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १८ आइतबार १०:१०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सहुलियतपूर्ण कर्जामा सरकारको पौने तीन अर्ब खर्च

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १८ आइतबार १०:१०:००

तीन महिनामा सरकारी ढुकुटीबाट सहुलियतपूर्ण कर्जामा दुई अर्ब ८४ करोड खर्च भएको छ । सरकारले ब्याज अनुदानबापत सो रकम अनुदान दिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत असारसम्म १६ अर्ब ९६ करोड रुपैयाँ ब्याज अनुदान दिएको सरकारले असोज मसान्तसम्म आइपुग्दा १९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । तर, यसरी सरकारले ब्याज अनुदानमा पैसा लगाइरहँदा कुल स्वीकृत सहुलियत कर्जा भने घटेको देखिन्छ । असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले एक लाख ४७ हजार ६ सय ४२ जना ऋणीलाई दुई खर्ब ५८ अर्ब सहुलियतपूर्ण ऋण प्रवाह गरेका छन् । जबकि, गत असार मसान्तसम्म यस्तो ऋणीको संख्या एक लाख ४७ हजार तीन सय ९३ थियो भने कर्जा दुई खर्ब ५९ अर्ब ५५ करोड रुपैयाँ थियो । अर्थात्, झन्डै एक अर्बले स्वीकृत सहुलियतपूर्ण ऋणको आकार घटेको छ । यद्यपि, ऋणीको संख्या भने थपिएका छन् ।

सरकारले सहुलियतपूर्ण कर्जाको सदुपयोगिताबारे अध्ययन सुरु गरेसँगै बैंक तथा वित्तीय संस्थाहरूले यस्तो कर्जा प्रवाहमा सजगता अपनाउँदै आइरहेका छन् । राष्ट्र बैंकको एक अध्ययनले सहुलियतपूर्ण कर्जाको लगानी गाडी, जग्गाजस्ता अनुत्पादक क्षेत्रमा भइरहेको देखाएको थियो । त्यसयता राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जामा कडाइसमेत गर्दै आइरहेको छ । राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा लिनेको संख्या ६० हजार पुगेको छ । उनीहरूको एक खर्ब ६३ अर्बबराबरको कर्जा स्वीकृत भएको छ । जसमध्ये तीन अर्ब २३ करोड रुपैयाँ विनाधितोको कर्जा स्वीकृत भएको छ । धितोमा यस्तो कर्जा एक खर्ब ६० अर्ब पुगेको छ । तीन महिनामा यस्तो कर्जा करिब दुई अर्बले घटेको देखिन्छ ।

असोज मसान्तसम्म शिक्षित युवा स्वरोजगार कर्जाअन्तर्गत ५४ हजार पाँच सय ४२ जनाले यस्तो ऋण लिएका छन् । उनीहरूको एक खर्ब ६० अर्बको ऋण स्वीकृत भएको छ । महिला उद्यमशील कर्जाबापत ४९ हजार पाँच सय ८७ जनाले ८९ अर्ब ४७ करोड रुपैयाँ लिएका छन् । असोज मसान्तसम्म कुल एक लाख ४७ हजार ६ सय ४२ ऋणीलाई दुई खर्ब १० अर्ब ४७ करोड कर्जा बक्यौतामा छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय शीर्षकमा ६० हजार ६१ ऋणीलाई एक खर्ब ३८ अर्ब २१ करोड र महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार सात सय ५० महिला उद्यमीलाई ६८ अर्ब ६९ करोड कर्जा लगानीमा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य आठ शीर्षकअन्तर्गत कुल दुई हजार आठ सय ३१ ऋणीलाई तीन अर्ब ५७ करोड कर्जा बक्यौता छ । 

साउन मसान्तसम्ममा एक लाख ४७ हजार २३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब १३ अर्ब ६६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ५९ हजार आठ सय ७९ ऋणीलाई प्रवाह भएको एक खर्ब ३९ अर्ब ४८ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार तीन सय पाँच महिला उद्यमीलाई प्रवाह भएको ७० अर्ब ५२ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार आठ सय ३९ ऋणीको तीन अर्ब ६६ करोड बक्यौता छ ।