मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १७ मंगलबार
  • Tuesday, 31 January, 2023
ग्लेन ब्य्राम्ले
२०७९ मङ्सिर १६ शुक्रबार ०८:१४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बेलायतमा बढ्दै घरबारविहीन

महामारीका समयमा लागू गरिएका विशेष प्रावधानले अस्थायी रूपमा घरबारविहीनलाई न्यूनीकरण गरे पनि इंग्ल्यान्डले घरबारविहीनको संख्यामा बढोत्तरी अनुभव गरेको छ

Read Time : > 2 मिनेट
ग्लेन ब्य्राम्ले
२०७९ मङ्सिर १६ शुक्रबार ०८:१४:००

‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानका कारण बेलायतमा विद्यमान जातीय असमानता पनि चासोको विषय बनेको छ । महामारीको सन्दर्भमा आवासीय समस्यामा थुप्रै अनुसन्धान भए । यद्यपि, नश्लीय असमानता र घरबारविहीनताको अन्तरसम्बन्धमा निकै कम ध्यान दिइयो । हालको जीविकाका लागि चाहिने लागत र ऊर्जा संकटभन्दा पहिले नै घरबारविहीनताको समस्या बढिरहेकै थियो ।

सन् २००९ देखि बढिरहेको आवास संकटले घरबारविहीनताका सबै आयाममा असर पार्दै आएको छ । महामारीका समयमा लागू गरिएका विशेष प्रावधानले अस्थायी रूपमा घरबारविहीनताका केही आयामलाई न्यूनीकरण गरे पनि इंग्ल्यान्डले घरबारविहीनताको संख्यामा बढोत्तरी अनुभव गरेको छ ।

हामीले घरबारविहीनताको बृहत् एवं समावेशी परिभाषा गरेका छौँ । अति घरबारविहीनताले चरम एवं तात्कालिक प्रभाव जनाउँछ, जसमा सडकमा सुत्ने, होस्टेल वा टहरो वा प्रतिकूल अस्थायी ठाउँमा बस्ने मानिस पर्छन् । त्यसैगरी ‘वैधानिक घरबारविहीनता’ शब्दले सहायता खोज्ने र घरबारविहीन हुन सक्ने जोखिममा रहेका व्यक्तिलाई जनाउँछ । अदृश्य घरबारविहीनताले अनौपचारिक तरिकाले आवासको व्यवस्था गर्ने मानिसलाई जनाउँछ । जसमा अत्यधिक भिडभाडयुक्त घरमा बस्ने घरपरिवार पर्छन् । यसबाहेक घरबारविहीन हुने खतरामा भएका विशेषतः अत्यधिक महँगो घरभाडामा बसिरहेका मानिस पर्छन् ।   

हाम्रो विश्लेषणमा १० तथ्यांक स्रोत प्रयोग गरिएका छन् । सन् २०११ को जनगणना, आधिकारिक एवं अनुसन्धान सर्वेक्षण र सरकारी प्रशासनिक जानकारी यीमध्येका केही स्रोत हुन् । हामीले मुख्यतः राष्ट्रिय तथ्यांकको कार्यालय (ओएनएस) र जातीय अल्पसंख्यकबारे अन्य सरकारी निकायबाट तथ्यांक लिई बेलायतका अल्पसंख्यक एवं बेलायतमा जन्मेका श्वेत समुदायबीच तुलना गरेका थियौँ ।

अध्ययनको पहिलो खोजले अश्वेत र अल्पसंख्यक जातीय समुदायले बेलायतमा घरबारविहीनता असमान ढंगले अनुभव गरेका छन् । घरबारविहीनताको आनुपातिक जोखिम जातीय समूह र विभिन्न प्रकारका घरबारविहीनबीच भिन्न हुने गर्छ । अश्वेत र मिश्रित जातीय पृष्ठभूमिका मानिसले विशेषगरी वैधानिक र अति घरबारविहीन अवस्थाको उच्च जोखिम अनुभव गर्छन्, जुन बेलायतमै जन्मेका श्वेत मानिसको तुलनामा साढे तीन गुणा बढी हो । सामान्यतया एसियालीले विविध किसिमका घरबारविहीनताको सामना गर्ने सम्भावना कम हुन्छ । तर, भारतीय, चिनियाँ र अन्य एसियाली समूहको तुलनामा पाकिस्तानी र बंगलादेशी बढी जोखिममा छन् । 

यसबाहेक जातीय असमानता भौगोलिक भिन्नता पनि आनुपातिक रूपमा देख्न सकिन्छ । लन्डनमा चरम असमानता देखिन्छ, जहाँ अश्वेत समुदायका मानिस औपचारिक रूपमा श्वेत समुदायभन्दा पाँच गुणा बढीले घरबारविहीन छन्, अनौपचारिक रूपमा हेर्ने हो भने आँकडा बढ्ने देखिन्छ । स्कटल्यान्डमा भने यो अनुपात लगभग एक दशमलव पाँच गुणा रहेको छ ।

बृहत् एवं अदृश्य घरबारविहीनताको मामिलामा पनि अश्वेत र अन्यको साथसाथै एसियाली घरपरिवार थप प्रतिकूल अवस्थामा छन् । अश्वेत, बंगलादेशी र पाकिस्तानी घरधुरी गोरा घरधुरीका तुलनामा चारगुणा बढी भिडभाडमा बस्ने र बढी भाडा तिर्ने सम्भावनामा पर्छन् । एसियाली मूलका मानिसका घरमा आफ्नै वयस्क सन्तानबाहेक अतिरिक्त वयस्क मानिस पनि बस्छन्, जुन श्वेत बेलायतीका तुलनामा दुई गुणाले बढी हो ।

हालैको इंग्लिस आवासीय सर्वेक्षणअनुसार नश्लीय भेदभाव, उत्पीडन वा दुव्र्यवहारको अनुभव गरेका व्यक्तिको घरबारविहीन हुने सम्भावना बढी हुन्छ । यो प्रवृत्ति विशेषतः अश्वेत व्यक्तिका सन्दर्भमा सत्य हो र यो समुदायका एकतिहाइले सार्वजनिक वा निजी जग्गा मालिकबाट विभेद भोगेको बताएका छन् । 

सन् २०२१ मा प्रकाशित जातीय र नश्लीय असमानतासम्बन्धी बेलायत सरकारको आधिकारिक प्रतिवेदनअनुसार शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा रहेका भिन्नता मुख्यतया जातीय भेदभावबाहेक अन्य कारणले भएको हो । सर्वाधिक आलोचना भएको यो प्रतिवेदनमा आवास वा घरबारविहीनता थिएन । 

सरकारी प्रतिवेदनविपरीत हाम्रो अनुसन्धानले जातीयता, बसाइँसराइ पृष्ठभूमि र भेदभावले घरबारविहीनताको जोखिम बढाउँछ भन्ने देखाएको छ । अश्वेत, मिश्रित नश्ल र अन्य समुदायका साथै पाकिस्तानी–बंगलादेशी मानिस यसबाट गम्भीर रूपमा प्रभावित छन् । हामीले जातीय र भेदभावसँग सम्बन्धित अवयवले घरबारविहीनताको जोखिममा महŒवपूर्ण अप्रत्यक्ष प्रभाव पारेको छ भन्ने पाएका छौँ । यसमा घरबारसम्बन्धी असुरक्षा, निजी भाडा र गरिबी समावेश छ । यी अप्रत्यक्ष प्रभावको हिसाबलाई जोड्ने हो भने अश्वेत र अन्य अल्पसंख्यक जातीय परिवारको जोखिम थप बढ्छ । 

यसले हाम्रो समग्र मूल्यांकनमा जोखिममा रहेका समूहको समावेशिता समर्थन गर्छ । हामीले थाहा पाएसम्म मेडिएसन मोडल प्रयोग गरेर बेलायतको घरबारविहीनताको विश्लेषण गर्ने अनुसन्धान छैन । सन् २०११ देखि हामीले बेलायती परोपकारी संस्था क्राइसिस र जोसेफ राउन्टरी फाउन्डेसनसँगको सहकार्यमा घरबारविहीनताका प्रवृत्ति र उत्प्रेरक कारकबारे ‘होमलेसनेस मनिटर रिपोर्ट’ तयार गर्दै आएका छौँ । यो चलिरहेको अनुसन्धानले अश्वेत र अन्य जातीय अल्पसंख्यक समुदायलाई सहयोग हुने गरी घरबारविहीनताको समग्र दरलाई कम गर्न सक्ने धेरै तात्कालिक सुझाब दिएको छ । सुझाब मानिए निजी भाडाको स्तरसँग मिलाउन स्थानीय आवास भत्ता बढाइनेछ र अकारण घरनिकाला गर्न पाइनेछैन । 

हामीले दीर्घकालीन रूपमा सामाजिक आवासको आपूर्ति बढाउनुपर्छ । लन्डनमा घरजग्गा बजारलाई दबाब दिन हामीले 
राष्ट्रलाई स्तरबद्ध गर्नुपर्छ । हामीलाई जटिल आवश्यकता भएका घरबारविहीन मानिसका लागि राम्रो सहयोग र शरण खोज्नेप्रति थप मानवीय नीति पनि आवश्यक छ । तर, यदि केही गरिएन भने हालको संकट, बढ्दो भाडा र आवासको घट्दो आपूर्तिले थप मानिसले आफ्नो घर गुमाउनेछन् । र, अश्वेत एवं अन्य अल्पसंख्यक समुदाय असमान ढंगले प्रभावित भइरहनेछन् । 

(ब्य्राम्ले ह्यारियोट वाट विश्विद्यालयका सहरी अध्ययनका प्राध्यापक हुन्) द कन्भर्सेसनबाट