Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर १३ मंगलबार ०६:२८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री बन्न कांग्रेस नेताहरूको दौडधुप 

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर १३ मंगलबार ०६:२८:००

पार्टीभित्र मात्र होइन, अन्य दलका नेताहरूसँग पनि छलफल

वरिष्ठ नेता रामचन्द्र पौडेलले १० मंसिरमा बालुवाटार पुगेर सभापति शेरबहादुर देउवासँग र सोमबार कोटेश्वर पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरे । उनी माओवादी अध्यक्ष प्रचण्ड र पार्टीका नेताहरूसँग निरन्तर टेलिफोन सम्पर्कमा छन् । ५ मंसिरमा सभापति देउवालाई भेटेका नेता प्रकाशमान सिंहले ११ मंसिरमा बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग पनि छलफल गरे । पूर्वमहामन्त्री शशांक कोइरालाले पनि चुनाव जितेर काठमाडौं फर्किएलगत्तै सोमबार आफूनिकटसँग छलफल गरेका छन् । अर्का नेता शेखर कोइराला अहिले मोरङमै छन्, काठमाडौं फर्किएपछि छलफल गर्ने उनको तयारी छ । महामन्त्री गगन थापा ‘ब्याक’ नहुने रणनीतिसहित अगाडि बढेका छन् । शेखर काठमाडौं फर्केपछि छलफल गर्ने उनको योजना छ ।

...                                  ...

संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने दौडमा रहेका कांग्रेस नेताहरूले दौडधुप बढाएका छन् । आन्तरिक छलफल मात्र होइन, उनीहरूले सरकार गठनमा सहकार्य गर्न सकिने अन्य दलका नेताहरूसँग पनि भेटवार्ता जारी राखेका छन् । अहिलेसम्मको चुनावी परिणामले कांग्रेस पहिलो दल बन्ने देखाएको छ । 

प्रधानमन्त्रीका आकांक्षीहरूले पार्टीभित्र र बाहिर आफ्नो पक्षमा अनुकूल माहोल बनाउन दौडधुप तीव्र पारेका हुन् । निर्वाचनको पूर्ण परिणाम आइनसक्दै तथा संसदीय दलको नेता छनोटको प्रक्रिया सुरु नहुँदै कांग्रेस नेताहरूले एक–अर्कामाथि दबाब बनाउने रणनीतिअनुसार यस्ता भेटवार्ता गरिरहेका छन् । कांग्रेसमा संसदीय दलको नेता प्रधानमन्त्रीको दाबेदार रहन्छन् । 

कांग्रेस नेताहरूले पार्टीमा दबाब बनाउन र आफ्नो पक्षमा निर्णय गराउन सत्तागठबन्धन दलका शीर्ष नेता र एमाले अध्यक्ष ओलीसँग भेट गरिरहेका छन् । सभापति देउवाले आफ्ना विश्वासपात्रमार्फत आन्तरिक रूपमा तयारी सुरु गरिरहेका छन् । देउवाले गठबन्धमा रहेका दलका शीर्ष नेतासँगको छलफल कायमै राखेका छन् । 

प्रधानमन्त्री देउवालाई दलको नेता हुँदै प्रधानमन्त्री बनाउने गृहकार्यमा उपसभापति पूर्णबहादुर खड्कालगायतका निकट नेताहरू लागेका छन् । देउवालाई दलको नेता र प्रधानमन्त्री बनाउन पार्टीभित्र, सत्तागठबन्धन र गठबन्धनबाहिरका दलसँग छलफल भइरहेको परराष्ट्र सल्लाहकार अरुण सुवेदीले बताए । ‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले प्रतिस्पर्धामा अरू पनि आउन सक्नुहुन्छ, तर संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने उहाँ नै हो,’ सुवेदीले नयाँ पत्रिकासँग भने, ‘पार्टीमा आन्तरिक तयारी र सत्तासमीकरणका लागि गठबन्धन र गठबन्धनबाहेकका दलसँग छलफल गरिरहनुभएको छ ।’

तनहुँ १ बाट निर्वाचित भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो दाबी राखेका छन् । सभापतिबाहेक उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर टेलिफोन सम्पर्कमा छन् । सोमबार पौडेलले एकीकृत समाजजादीका अध्यक्ष माधव नेपाललाई भेटेर छलफल गरेका थिए । पौडेल पार्टीका नेताहरूसँग पनि निरन्तर सम्पर्कमा छन् । नेता पौडेल आफूले सभापति देउवासहित अध्यक्ष प्रचण्ड र अध्यक्ष नेपालबाट सकारात्मक जवाफ पाएको दाबी गरे । 

महामन्त्री गगन थापाले पार्टीभित्रको छलफललाई तीव्र बनाएका छन् । उनले कांग्रेसबाहेकका दलका नेतासँग औपचारिक रूपमा छलफल गरेका छैनन् । थापाको सचिवालयले मोरङमा रहेका नेता डा. शेखर कोइराला काठमाडौं फर्किएपछि छलफल गरेर तयारीलाई तीव्रता दिने जानकारी दियो । थापाको सचिवालयका सदस्य सविन मुडभरीले जस्तोसुकै अवस्थामा पनि ‘ब्याक’ नहुने गरी थापाले आन्तरिक तयारी गरिरहेको बताए । ‘आन्तरिक तयारीमा लागिरहनुभएको छ । अहिलेसम्म पार्टीबाहिरका नेतासँग उहाँले भेटघाट र छलफल गर्नुभएको छैन,’ उनले भने, ‘सबैभन्दा पहिला डा. शेखर कोइराला काठमाडौं फर्किएपछि छलफल गरेर तयारीलाई तीव्रता दिने पक्षमा हुनुहुन्छ । जित–हार जे होला संसदीय दलको नेतामा लड्नेमै हुुनुहुन्छ ।’

नेता कोइराला काठमाडौं आएपछि महामन्त्री थापासहितका नेतासँग छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने इतर समूहका नेता बताउँछन् । यसबाहेक निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पनि आफूनिकटसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्रीमा इच्छा राखेका पूर्वउपसभापति प्रकाशमान सिंहले सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग भेटेर छलफल गरिसकेका छन् । 

मैले अहिले पनि अवसर  नपाए कहिले पाउने ?  

रामचन्द्र पौडेल, वरिष्ठ नेता, कांग्रेस

अन्तर्वार्ता

प्रधानमन्त्रीका लागि दलको नेता बन्ने योजनामा हुनुहुन्छ ? तपाईंको दाबी केका लागि ? 
निर्वाचनअघि नै मैले प्रधानमन्त्रीमा दाबी रहन्छ भनेको हुँ, साथीहरूले मनन गरिरहनुभएको छ । अब मेरो पालो हो । धेरै दुःख गरेको छु र राष्ट्रिय राजनीतिमा ठूलो योगदान गरेको छु । मसँग विकासको भिजन पनि छ । देशलाई सुशासन दिन सक्ने नैतिक सामथ्र्य पनि ममा छ । म सबैभन्दा वरिष्ठ राजनीतिज्ञ पनि हो । अब पनि मैले अवसर नपाए कहिले पाउने ? मैले नपाए कसले पाउने ? योगदान, इतिहास र बलिदानको केही कदर छैन ?

निर्वाचित भएपछि पार्टी र पार्टीबाहिर के–कसरी दाबी राख्नुभएको छ ? 
सभापतिसँग कुरा राख्नु मेरो कर्तव्य हो, राखेँ । उहाँले सहज रूपमा लिनुभएको छ । ‘हेरौँला नि’ भन्नुभएको छ । यसबाहेक प्रचण्डजी, माधवजीसँग कुरा राख्नुपर्ने हो, राखेको छु । मसँग कुरा गर्दा उहाँहरूले सकारात्मक रूपमा लिनुभएको छ । चुनावमा पनि उहाँहरूले घोषणा नै गर्नुभएको हो ।

नयाँ र युवालाई अवसर दिनुपर्छ भन्ने आवाज पार्टीभित्र सुनिन्छ, तपाईंलाई कति सहज छ ?
गगन होनहार युवा नेता हुनुहुन्छ, उहाँहरूको पनि अवसर आउँछ, आउनुपर्छ । तर, हाम्रोबीचमा को उपयुक्त हुन्छ भन्ने पनि सल्लाह गर्नुपर्छ । सबै कुरा कांग्रेसका आमकार्यकर्ताले मूल्यांकन गर्ने हो भने पनि अर्को सोच्ने कुरै छैन । इतर पक्ष भन्ने साथीले १४औँ महाधिवेशनमा जे भूमिका खेले, त्यो हेर्नुपर्छ । परिस्थिति दोहोर्‍याउने हो कि के हो ? सोच्नुपर्छ ।