१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर १३ मंगलबार ११:५५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

एमसिसी कार्यान्वयन सुरु : ३१५ किमि लामो प्रसारण लाइन बनाउन टेन्डर

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर १३ मंगलबार ११:५५:००

अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अन्तर्गत बन्ने चार प्रसारण लाइन निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरिएको छ । एमसिसी कार्यान्वयन गर्ने निकाय मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले सोमबार एक सूचना जारी गर्दै प्रसारण लाइन निर्माणको टेन्डर आह्वान गरेको हो । पहिलो चरणमा प्रसारण लाइन निर्माणको टेन्डर आह्वान गरेको एमसिए नेपालका कार्यकारी निर्देशक खड्ग विष्टले बताए । उक्त प्रसारण लाइनहरूको प्लान्ट डिजाइन, सप्लाई, डेलिभरी, इन्स्टलेसन, टेस्टिङलगायतका कामसमेत गर्ने गरी टेन्डर आह्वान गरेको उनको भनाइ छ । 

एमसिसीअन्तर्गत चार विद्युत् प्रसारण लाइन, तीन सबस्टेसन र महेन्द्र राजमार्गको ७७ किमि सडकखण्ड मर्मत गर्ने परियोजना छन् । त्यसमा पहिलो चरणमा प्रसारण लाइन निर्माण गर्ने टेन्डर आह्वान भएको हो । यसअन्तर्गत चार सय केभी डबल सर्किट क्षमताका तीन सय १५ किलोमिटर लम्बाइको चार प्रसारण लाइन बनाइनेछन् । त्यसमा लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा (११७ किमि), रातमाटे–न्यु दमौली (९० किमि), न्यु दमौली–न्यु बुटुवल (९० किमि) प्रसारण लाइन बन्नेछन् । साथै, नेपाल–भारत दोस्रो अन्तरदेशीय प्रसारण लाइन (न्यु बुटुवल–गोरखपुर) अन्तर्गतको नेपाल खण्ड (१८ किमि) समेत बनाउने गरी अप्सनमा टेन्डर आह्वान गरिएको छ । यी चार प्रसारण लाइनमा आठ सय ५६ वटा टावर बन्नेछन् ।

एमसिए नेपालले चार प्रसारण लाइनलाई तीन समूह (लट)मा विभाजन गरेर टेन्डर आह्वान गरेको छ । त्यसमा समूह १ मा लप्सीफेदी–रातमाटे–न्यु हेटौँडा, समूह २ मा रातमाटे–न्यु दमौली र समूह ३ मा न्यु दमौली–न्यु बुटवल तथा न्यु बुटवल–नेपाल÷भारत बोर्डर प्रसारण लाइन रहेका छन् । एक कम्पनीले बढीमा दुई लटसम्मको ठेक्का पाउन सक्ने व्यवस्था छ ।

नेपाल–भारत दोस्रो अन्तर्राष्ट्रिय प्रसारण लाइन (न्यु बुटवल–गोरखपुर) अन्तर्गतको नेपाल खण्डको निर्माण नेपाल विद्युत् प्राधिकरणले पनि बनाउने गरी एमसिए नेपालमा प्रस्ताव पेस गरिएको छ । सोही अवस्थालाई दृष्टिगत गर्दै न्यु बुटवल–नेपाल÷भारत बोर्डरसम्मको प्रसारण लाइनको टेन्डर भने अप्सनमा राखिएको छ । प्राधिकरणको प्रस्तावबारे छलफल भइरहेकाले अप्सनका रूपमा टेन्डर आह्वान गरेको कार्यकारी निर्देशक विष्टले बताए । 

‘यस प्रसारण लाइन एमसिए नेपालले बनाउने कि प्राधिकरणलाई नै दिने भन्ने विषयमा निर्णय भइसकेको छैन । त्यो अवस्थामा यसलाई छुट्याएर टेन्डर आह्वान गर्दा परियोजना अलपत्र हुन पनि हुन सक्छ,’ उनले भने, ‘त्यसैले उक्त परियोजनालाई अप्सनमा राखेर टेन्डर आह्वान गरेका छौँ । अब अध्ययन गर्दा, जसले उक्त परियोजना बनाउँदा राम्रो हुन्छ । सोहीअनुसार उचित निर्णय गर्नेछौँ । यदि प्राधिकरणले बनाउने भएमा उक्त आयोजना टेन्डरबाट बाहिरिनेछ ।’ एमसिसी अगस्ट २०२३ देखि कार्यान्वयनमा जाने कार्यतालिका बनाइएको छ । सोहीअनुसार आगामी अगस्टदेखि नै परियोजनाको निर्माण कार्य अघि बढाउने एमसिए नेपालको तयारी छ ।

टेन्डरमा सहभागी हुन चाहने कम्पनीले २७ मार्च ०२३ भित्र प्रस्ताव पेस गर्नुपर्नेछ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर कम्पनी छनोट गरिने बताइएको छ । समूह (लट)अनुसार फरक–फरक ठेक्का सम्झौता गरिनेछ । उक्त प्रसारण लाइनहरू बनाउन कुल १९८ मिलियन डलर खर्च लाग्ने अनुमान गरेको छ । 

 सडक मर्मतको टेन्डरमा ढिलाइ 
  सडक मर्मतको टेन्डर आह्वान गर्न भने ढिलाइ हुने बताइएको छ । एमसिसीअन्तर्गत महेन्द्र राजमार्गको अर्घाखाँची, कपिलवस्तु र दाङमा पर्ने धारखोला–शिवखोला खण्ड (७७ किमि) मर्मत गर्ने योजना छ । तर, त्यसको टेन्डर आह्वान गर्ने विषयमा टुंगो नलागेको विष्टले बताए । हाल त्यसका लागि डिजाइन बनाउनेलगायत काम भइरहेको छ । आन्तरिक तयारी पूरा गरेर टेन्डर आह्वान गर्दा केही ढिलाइ हुने उनको भनाइ छ । सडक मर्मतमा ४४ मिलियन डलर खर्च हुने अनुमान छ । 

 जग्गा प्राप्तिको काम जारी 
एमसिए नेपालले सबस्टेसन तथा प्रसारण लाइनलाई चाहिने जग्गा प्राप्तिको काम भने अघि बढाएको छ । परियोजना निर्माणमा जानुअघि नै जग्गा प्राप्तिको काम सम्पन्न गर्ने एमसिए नेपालको तयारी छ । जग्गा प्राप्तिमा १० अर्बदेखि १२ अर्ब नेपाली रुपैयाँ खर्च हुने एमसिए नेपालको प्रारम्भिक अनुमान छ ।