मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ११ आइतबार
  • Saturday, 12 July, 2025
कमलराज भट्ट काठमाडौं
२o७९ मङ्सिर ११ आइतबार १६:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाँचबुझ टोलीकाे निष्कर्ष- दोलखामा निष्पक्ष मतदान भएन, ७ केन्द्रमा पुनः मतदान 

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर ११ आइतबार १६:१६:oo

निर्वाचन आयोगको जाँचबुझ टोलीले दोलखामा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ। 

४ मंसिरमा भएको चुनावमा बैतेश्वर, तामाकोसी, शैलुङ र मेलुङका ८ वटा मतदान केन्द्रमा मतदान निष्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगमा रिपोर्ट पठाएको थियो। 

थप वस्तुस्थिति बुझ्न आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा तीनसदस्यीय जाँचबुझ टोली खटाएर छानबिन गरेको थियो। 

आयोगको छानबिनमा दोलखाका ७ केन्द्रमा निष्पक्ष र स्वतन्त्र मतदान नभएको पाइएको हो। जाँचबुझ टोलीले आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनको सारांशमा ७ केन्द्रमा पुन: मतदान गर्न सिफारिस गरिएको छ। 

प्रतिवेदनमा टेकेर निर्णय लिन आयोगमा आयुक्तहरूको बैठक बसिरहेको छ। ‘७ ठाउँमा पुन: मतदानको सिफारिस आएको छ। आयोगले उपयुक्त निर्णय गर्छ,’ एक आयुक्तले भने। 

प्रतिवेदनमा मतदान केन्द्र अनधिकृत कब्जा गरिएको, हुलहुज्जत गरेर स्वतन्त्र र निष्पक्ष मतदान हुन नदिएको उल्लेख छ। 

जाँचबुझ टोलीले मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षा निकाय, स्थानीय प्रशासन, निर्वाचन अधिकृत, दल, उम्मेदवार, मतदातासँग छलफल गरेर प्राप्त तथ्य प्रमाणका आधारमा प्रतिवेदन तयार पारेको हो। 

स्वतन्त्र र निष्पक्ष मतदान नहुनुमा दलहरू मुख्य जिम्मेवार रहेको प्रतिवेदनमा औँल्याइएको छ। सुरक्षा व्यवस्था राम्रो भए पनि हुलहुज्जत गरेर मतदान प्रभावित पारिएको प्रतिवेदनको निष्कर्ष छ।