Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अलपाइन म्यागले फेक पुष्टि गरेको फोटो र फोटोग्राफर कित्तिया पावलोस्की ।
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ११ आइतबार ०८:१२:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको ‘भाइरल’ फोटो नक्कली

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ११ आइतबार ०८:१२:००

हिउँ चितुवाको फोटो फेक पुष्टि भएपछि फोटोग्राफर कित्तिया पावलोस्की सामाजिक सञ्जालबाट गायब 

आफूलाई अमेरिकी फोटोग्राफर भनेर चिनाउने कित्तिया पावलोस्कीका हिउँ चितुवाको फोटो केही समय समाजिक सञ्जालमा निकै सेयर भए । उनको बेबसाइट र समाजिक सञ्जालका अकाउन्टमा राखिएका ती तस्बिर सगरमाथा र पुमोरी हिमालवरपर खिचिएको उनले बताएकी थिइन् । उनका यी फोटाले नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय जगत्मा समेत चर्चा पायो । बेलायतबाट निस्किने द टाइम्सले समेत छापेको उक्त तस्बिर नेपालका लागि अमेरिकी दूतावासले आफ्नो समाजिक सञ्जालमा सेयर गरेको थियो । 

तर, अहिले आएर फ्रेन्च अनलाइन म्यागेजिन अलपाइन म्यागको अन्तर्राष्ट्रिय संस्करणले ती तस्बिर सम्पादित वा फेक भएको खुलासा गरेको छ । फ्रेन्च जोडी उलिसी लेफेब्रे र जोसलिन चाभीले चलाउने म्यागेजिनले पावलोस्कीको हिउँबाट घेरिएको हिउँ चितुवाको फोटो केही अनौठो महसुस भएपछि तस्बिरको सूक्ष्म विश्लेषण गरेको बताएको छ । छानबिनबाट अलपाइन म्यागले पावलोस्कीको वेबसाइटमा रहेका चितुवाका चारवटा फोटामध्ये कम्तीमा तीनवटामा छेडछाड भएको निचोड निकालेको हो । त्यसबाहेक आलेखमा फोटोग्राफरको वास्तविक परिचयमै पनि शंका रहेको उक्त फ्याक्ट चेकमा उल्लेख छ । यसका लागि केही प्रमाण दिइएको छ । 

अमेरिकी फोटोग्राफर भनिएकी कित्तियाका बारेमा फोटोग्राफी अथवा हिमाली तथा वन्यजन्तु फोटोग्राफी क्षेत्रका कसैले पनि अहिलेसम्म नसुनेको म्यागमा उल्लेख गरिएको छ । उनी नयाँ फोटोग्राफर भएकाले नाम नचलेको शंकाको लाभ दिन सकिने भन्दै छानबिन गर्दा कित्तिया पाव्लोभ्स्कीको नाममा रहेको बेवसाइटमा जम्मा चारमात्रै फोटो फेला परेको म्यागको आलेखमा उल्लेख छ । र, ती सबै यही सगरमाथा–पुमोरी हिमालअसापासका चितुवाका फोटा हुन् । उनको इन्स्टाग्राममा चार चितुवाको फोटोबाहेक पावलोस्कीले आफ्नो बताएको फोटो गरी पाँचवटा फोटा मात्र छन् । 

अर्को समस्या जुन ठाउँमा चितुवा खिचिएको भनिएको छ, त्यो ठाउँमा हिउँ चितुवा पाइने सम्भावना निकै कम हुने अलपाइन म्यागले दाबी गरेको छ । यसका लागि म्यागेजिनले हिउँ चितुवाविज्ञ भिन्सेन्ट मुनियरको राय पनि लिइएको छ । पाव्लोभ्स्कीको फोटोमा चितुवा तुप्त्सेको पूर्वी पाखोमा बसिरहेको देखिन्छ, जुन समुद्र सतहदेखि ६३०० मिटर उचाइमा अवस्थित छ । जब कि हिउँ चितुवा समुद्री सतहबाट ५५०० मिटरभन्दा माथिको उचाइमा नजाने मुनियर बताउँछन् । ‘नाम हिउँ चितुवा भए पनि उनीहरू कहिल्यै पनि हिउँमा जाँदैनन्... ती चट्टानी भागमा बस्छन्,’ हिउँ चितुवाविज्ञ भिन्सेन्ट मुनिएरले बताएका छन् । त्यसमाथि ती लजालु प्रकृतिका हिउँ चितुवा हिमालको सबैभन्दा धेरै व्यस्त स्थान गोरक सेपमा पाइने सम्भावनामा मुनियरले शंका व्यक्त गरेका छन् । त्यो भेग हुँदै हेलिकोप्टर निरन्तर सगरमाथाको बेसक्याम्प आउँजाउँ गरिरहेका हुन्छन् यस्तो कोलाहल वातावरणमा यो विरलै बस्छ । 

फोटोमा देखिएको हिउँ चितुवाको अर्को स्वभावका बारेमा मुनियरले प्रश्न उठाएका छन् । पावलोस्कीको फोटोमा देखिएजस्तो हिउँ चितुवा स्थिर बस्ने स्वभावको नहुने मुनियर बताउँछन् । ‘फोटो हेर्नासाथ मलाई असम्भव भन्ने भाव आयो । चितुवा त्यसरी बसेको भेटिनु असम्भव छ,’ मुनियरले भने । पाव्लोभ्स्कीले उल्लेख गरेको क्षेत्रमा गएका अधिकांश पर्वतारोहीले पछिल्लो तीन दशकमा हिउँ चितुवा बसेको देख्नु त परको कुरा झुलुक्क पनि देखेका छैनन् । पाव्लोस्कीका कुनै फोटोमा मिति नहुनुले पनि त्यसमा छेडाछाड भएको संकेत गर्ने बताइएको छ । फ्याक्ट चेक गर्ने अलपाइन म्यागले फोटोग्राफर पावलोस्कीलाई फोटोको सोर्स फाइल आरएडब्लू वा एनइएफ फम्र्याटमा पठाउन भनेको, तर जवाफ नदिएको लेखेका छन् । तथ्य जाँच गर्नेहरूमध्ये एक, फोटोग्राफर भिन्सेन्ट मुनियरले तस्बिरहरू फोटोसपजस्ता सफ्टवेयरहरूको प्रयोग गरेर बनाइएको भएको बताएका छन् । 

अलपाइन म्यागले समग्रमा पावलोस्कीको फोटोको प्रकृति, संयोजन, प्रकाश, स्थानमा समस्या औँल्याएको छ । अर्को शब्दमा भन्दा तिनको सत्यतामा प्रश्न गरेको छ । पावलोस्कीको फोटो असाधारण भए पनि त्यो फोटो नभएर सिर्जना भएको र त्यसमा कैयौँ फोटोलाई फोटोसपजस्ता सफ्टवेयरमार्फत जोडेर बनाइएको विश्लेषणको निष्कर्षमा सुनाइएको छ । 

फ्याक्ट चेकरहरूले यी फोटाको सबैभन्दा मुख्य समस्या यिनलाई सिर्जना नभएर फोटोका रूपमा प्रस्तुत गर्नु रहेको बताएका छन् । फोटोग्राफर पावलोस्कीले उनको वेबसाइटमा फोटोसँगै चितुवा खोज्दै सगरमाथा मुनी अवस्थित गोराक सेपको ट्रेक गरेको अनुभव लेखेकाले पनि त्यसप्रति सहजै अविश्वास उत्पन्न नभएको उल्लेख गरिएको छ । पावलोस्कीले उनको वेबसाइटमा हिउँ चितुवाका तस्बीर खिच्दाको क्षण र यात्रा वर्णन गर्दै ‘घोस्ट अफ द हिमालयज’ शीर्षकको आलेख राखेकी छिन् । अलपाइन म्यागले कित्तियाका हिउँ चितुवाका फोटा सम्पादित वा फेक भएको पुष्टि गरेपछि उनी सामाजिक सञ्जालहरूबाट गायब भएकी छिन् । उनले इन्स्टाग्राम र फेसबुकका खाता बन्द गरेकी छिन् ।