मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर ९ शुक्रबार ०६:५०:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

संसदीय दलको नेता बन्न र आगामी सरकारको नेतृत्व लिन देउवाले थाले समानान्तर पहल

Read Time : > 4 मिनेट
२०७९ मङ्सिर ९ शुक्रबार ०६:५०:००

- प्रधानमन्त्री देउवाले दलको नेता बन्न पार्टीभित्र र सरकारको नेतृत्वका लागि सत्तागठबन्धनका नेतासँग छलफल थालेका छन् । उता, एमाले अध्यक्ष ओलीले करिब तीन वर्षयता तिक्ततापूर्ण सम्बन्ध रहेका माओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन गर्दै चुनावी समीक्षासहित संवाद र सहकार्यको प्रस्ताव गरेका छन् ।

- दलको नेताका लागि उपसभापति पूर्णबहादुर खड्का र पत्नी आरजु राणामार्फत समन्वय

निर्वाचनको पूर्ण नतिजा नआउ“दै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता बन्न र आगामी सरकारको नेतृत्वका लागि समानान्तर पहल थालेका छन् । कांग्रेस विधानमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था छ । 

देउवाले संसदीय दलको नेताका लागि पार्टीभित्र र सरकारको नेतृत्वका लागि सत्तागठबन्धनमा आबद्ध दलका नेतासँगको छलफल थालेका हुन् । स्रोतका अनुसार संसदीय दलका नेताका लागि देउवाले विश्वासपात्र उपसभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्यसमेत रहेकी पत्नी आरजु राणामार्फत छलफल सुरुवात गरेका छन् । 

पार्टी र गठबन्धनबाहेकका दलसँग भने देउवाले कुनै छलफल गरेका छैनन् । ‘संसदीय दलको नेताका लागि पार्टीबाट धेरैजनाको दाबी भएका कारण उहाँले उपसभापति पूर्णबहादुर खड्का र पत्नी आरजु राणामार्फत समन्वय अगाडि बढाउनुभएको छ,’ बालुवाटार स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘उहाँहरूमार्फत निर्वाचित सांसद्हरूसँग छलफल भइरहेको छ । सरकारको समीकरणका लागि भने निर्वाचनको पूर्ण नतिजा स्पष्ट भएपछि मात्रै गठबन्धनबाहेकका दलसँग छलफल गर्ने तयारी छ ।’ 

तर, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने निर्वाचन परिणाम आइनसकेकाले यस विषयमा कुनै तयारी नभएको दाबी गरे । उनले सभापति देउवा निर्वाचनको पूर्ण परिणाम आइसकेपछि मात्रै अगाडि बढ्ने बताए । ‘सँगै निर्वाचन लडिरहेको गठबन्धनमा आबद्ध दलका नेताहरूसँग छलफल नहुने भन्ने भएन । सभापतिज्यूले छलफल गरिरहनु नै भएको होला । तर, संसदीय दल र सरकारको नेतृत्वको तयारी पूर्ण परिणाम आएपछि मात्रै अघि बढ्छ, अहिले खासै केही भएको छैन,’ उनले भने । 

कांग्रेसमा संसदीय दलको नेताका लागि संस्थापन समूहबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति प्रकाशमान सिंह, पूर्वमहामन्त्री शशांक कोइरालाको दाबी छ भने इतर समूहबाट महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले दाबी गर्दै आएका छन् । पछिल्लो निर्वाचन परिणामको विषयमा सभापति देउवाले कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् । 

६ जनाको दाबी रहेपछि देउवा नेताहरूलाई आफ्नो पक्षमा ल्याएर संसदीय दलको नेता बन्ने र सरकारको नेतृत्व गर्ने रणनीतिका साथ अघि बढेका छन् । प्रधानमन्त्रीमा दाबी गर्ने सबैजना निर्वाचित भइसकेका छन् । निर्वाचित भएलगत्तै महामन्त्री थापाले संसदीय दलको नेताका लागि तयारी थाल्ने घोषणासहित औपचारिक र अनौपचारिक छलफल सुरु गरेका छन् । सिंहले पनि निर्वाचनलगत्तै देउवालाई भेटेर छलफल गरिसकेका छन् । 

शशांक कोइरालाले पनि बुधबार निर्वाचित भएलगत्तै प्रधानमन्त्रीमा आफ्नो दाबी रहने उद्घोष गरेका छन् । पूर्वी नवलपरासी १ बाट लगातार चौथो जितपछि पूर्वमहामन्त्री कोइरालाले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भनेका थिए–‘प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवा पनि लड्नुहोला, गगनजीको पनि दाबी छ, मेरो पनि रहन्छ । अब मिलिजुली सरकार बन्ने भएकाले स्थायित्वका लागि ध्यान दिनुपर्ने अवस्था छ ।’ 

त्यस्तै वरिष्ठ नेता पौडेलले निर्वाचनअघि नै निर्वाचनपछि प्रधानमन्त्रीमा आफ्नो स्वाभाविक हस्तक्षेप रहने बताइसकेका छन् । 

तर, देउवालाई संसदीय दलको नेताबाट रोक्न भने चुनौती देखिन्छ । देउवाले टिकट वितरण गर्दा र समानुपातिकको बन्दसूची तयार गर्दा आफ्नो पक्षमा बहुमत आउने आकलनसहित टिकट वितरण गरेका छन् । देशभर कांग्रेसले १६५ मध्ये ९१ स्थानमा उम्मेदवार उठाएकोमा संस्थापनतर्फका ६२ जना र इतरका २९ जना थिए । त्यस्तै समानुपातिकको बन्दसूचीमा ११० मध्ये ३२ इतरका नाम समेटिएका छन् । 

बुधबार साँझ साँढे सात बजेसम्ममा कांग्रेसले ३२ स्थानमा जित निकालेको छ भने २१ स्थानमा अग्रता लिइरहेको छ । निर्वाचितमध्ये २३ संस्थापन र नौ इतर समूहका छन् । अग्रता लिनेमा पनि अधिकांश संस्थापन पक्षका छन् । समानुपातिकतर्फको प्रारम्भिक नतिजाको आकलनबाट २७ सिट पाउने सम्भावना देखिन्छ । जसमा अधिकांश संस्थापन समूहका छन् । 

प्रचण्डलाई ओलीको प्रस्ताव चुनावी समीक्षासहित संवाद र सहकार्य गरौँ

फाइल तस्बिर : नयाँ पत्रिका

‘मंसिर ४, ओली सरकार’ भन्ने नारासहित चुनावमा होमिए पनि सोचेअनुरूप परिणाम नआएपछि एमाले अध्यक्ष केपी ओलीले राजनीतिमा सहमति र सहकार्यका निम्ति वाम पार्टीहरूसँग संवादको अग्रसरता देखाएका छन् । करिब तीन वर्षयता उतारचढावको तिक्त सम्बन्धमा रहेका माओवादी अध्यक्ष प्रचण्डलाई बिहीबार टेलिफोन गरेर ओलीले चुनावी समीक्षासहित संवाद र सहकार्यको प्रस्ताव राखेका छन् । गोरखाबाट निर्वाचित प्रचण्डलाई बधाई दिँदै ओलीले त्यस्तो प्रस्ताव राखेका हुन् । 

‘तिक्तता बढ्दै जाँदा निकै परपर भइएजस्तो छ, अब बसेर कुरा गरौँ,’ ओलीको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीलाई टाढा पार्ने शक्तिहरू अहिले पनि सक्रिय नै छन् ।’ जवाफमा प्रचण्डले चुनावी परिणाम आइसकेपछि समीक्षासहित छलफलका लागि तयार रहेको बताएका थिए । ‘प्रचण्ड कमरेडले परिणामप्रति सन्तुष्टि व्यक्त गर्नुभएन, उहाँले पनि सबै परिणाम आएपछि भेटेरै सबै समीक्षा गरौँला भन्नुभएको छ,’ ओलीको सचिवालय स्रोतले भन्यो । ओलीका पूर्वप्रेस संयोजक चेतन अधिकारीले दुई नेताले टेलिफोनमार्फत बधाई साटासाट गर्दै तीन–चार मिनेट संवाद गरेको बताए । ‘उहाँहरूले चुनावी परिणाम आइसकेपछि छलफल गर्ने सहमति जनाउनुभएको छ,’ उनले भने । 

चुनावले पाठ सिकायो, गम्भीर समीक्षा हुन्छ : नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी नतिजाले आफूहरूलाई पाठ सिकाएको बताएका छन् । रौतहट १ बाट निर्वाचित भएपछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले चुनावी परिणामले फेरि वाम एकता गरेर सरकार बनाउनुपर्ने संकेत गरेको, तर केही गलत प्रवृत्तिका कारण त्यसो हुन नसक्ने बताए ।

‘वामहरू सिद्धान्तका निम्ति, आदर्शका निम्ति अगाडि बढ्न चाहेका हुन् भने तिनीहरूबीच एकता हुन्छ,’ नेता नेपालको भनाइ थियो, ‘वामको नाममा गलत प्रवृत्ति बोकेर हिँड्छन् भने त्यो प्रवृत्तिसँग एकता सम्भव छैन ।’ कांग्रेसले गठबन्धनका नाममा फाइदा लिएको उनको आरोप थियो । ‘गठबन्धनका नाममा एकीकृत समाजवादी र माओवादीलाई घाटा भयो,’ उनले भने, ‘हाम्रै कारण कांग्रेसले नाफा लियो ।’

नेपालले अब बन्ने सरकारको विषयमा अहिले नै आफूले केही भन्न नसक्ने बताए । आफू इमानदार भएकाले रौतहटका जनताले आफूलाई विजय गराएको बताउँदै उनले अपेक्षा गरेअनुसार परिणाम नआएकाले गम्भीर भएर सोच्नुपर्ने उल्लेख गरे । 

रवि लामिछानेलाई ५ प्रश्न

तपाईं र तपाईंको पार्टीको जितलाई कसरी लिनुभएको छ ?
ऐतिहासिक नतिजा आएको छ । यो विजय देशमा परिवर्तन चाहने आमनेपालीको हो । एउटा उम्मेदवारले जितेर केही पनि हुँदैन । जबसम्म आमनागरिकले जित्दैनन्, तबसम्म केही हुँदैन । त्यसैले म यो विजयलाई आमनागरिकको विजय बनाउन तल्लीन हुन्छु । यो मेरो विजय होइन कि आममतदाताले अपेक्षासहित मत खसालेको हो । म र हाम्रो पार्टीको विजयलाई आमनागरिकमा समर्पित गर्न चाहन्छु । 

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान्छ कि जाँदैन ?
अहिलेसम्म हामीले सरकारमा जाने निर्णय गरेका छैनौँ । देशैभरिको निर्वाचन परिणाम आएपछि पार्टीको बैठक बस्छ र हामी छलफलबाट त्यसबारे निर्णय लिन्छौँ । हामी के गर्दा देश र नागरिकको हित हुन्छ, जिम्मेवार दलका रूपमा कसरी कर्तव्य पूरा गर्नुपर्छ, त्यसमा अडिक रहन्छौँ । सरकारमा जाने विषय पनि देशहितमा हुनुपर्‍यो, हामीले जुन मुद्दाबारे आमनागरिकलाई वाचा गरेका छौँ, ती पूरा हुने ग्यारेन्टी हुनुपर्‍यो । आमनागरिकको दैनिकीका सवाल छन्, त्यसमा स्पष्टता चाहियो, भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्धता चाहियो । यसअघि भएका सम्पूर्ण भ्रष्टाचार काण्डहरूको छानबिन गरी कानुनी प्रक्रियाअनुसार अगाडि बढ्नेलगायत विषय पनि छन् । त्यसैले यी सबै विषय के हुन्छन् भन्ने विचार गरेर मात्रै सरकारमा सहभागी हुने–नहुनेबारे निर्णय लिन्छौँ । 

जनताको यो अभिमतको कदर गर्दै हामी उहाँहरूले दिएको जिम्मेवारी पूरा गर्न सक्छौँ भन्ने विश्वास छ । हामी बोलेको कुरा पूरा गर्छौं ।

सरकारमा जाँदा ‘पुरानै अनुहार’सँग सहकार्य गर्नुहुुन्छ कि नयाँ अनुहार खोज्नुहुन्छ ?
व्यक्ति होइन, हाम्रो लडाइँ प्रवृत्तिविरुद्ध हो । जनताले अनुमोदन गरेका व्यक्ति नै संसद्मा जाने हो । त्यसकारण जनताले चुनेर पठाएका मानिसको हामीले सम्मान गर्नुपर्छ । निर्वाचन परिणाम आउँदै गर्दा हरेक कोणबाट हेरिरहेका छौँ, नियालिरहेका छौँ र अन्तिम नतिजा कुरिरहेका छौँ । हामी कस्ता किसिमका साथी निर्वाचित हुनुभएको छ, आफ्नो दलका मात्र होइन, अरू दलका साथीलाई पनि हेरिरहेका छौँ । समानुपातिकको नतिजा आउने क्रममा छ । पूर्ण रूपमा नतिजा आएपछि राजनीतिक छलफल गर्छौं ।

सरकारमा सहभागी हुँदा तपाईंले प्रधानमन्त्रीकै दाबी गर्ने सम्भावना हुन्छ कि हुँदैन ?
सम्भावना हरेक कोणबाट हेरिन्छ नै । राजनीति सम्भावना नै सम्भावनाको खेल हो भनिन्छ पनि । तर, पूर्ण नतिजा नआएकाले यो विषयमा विश्लेषण गर्ने अवस्था आइसकेको छैन । सम्भावना त सरकारमा हुने, विपक्षमा रहने सबै हुन्छ । 

अहिले पाएको मतलाई स्थायित्व दिनका लागि कसरी अघि बढ्नुहुन्छ ?
पक्कै पनि यो मत आशा, अपेक्षा र निराशाबीचको मत हो । अघिल्लो पुस्तासँग अपेक्षा टुट्दा बढेको निराशा र हामीसँग भएको आशासँगै अपेक्षा हो । जनताको यो अभिमतको कदर गर्दै हामी उहाँहरूले दिएको जिम्मेवारी पूरा गर्न सक्छौँ भन्ने विश्वास छ । हामी बोलेको कुरा पूरा गर्छौं ।