मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १५ आइतबार
  • Sunday, 29 January, 2023
लार्बी सदिकी
२०७९ मङ्सिर ६ मंगलबार ०७:३३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भत्काउँदै छ कतार विश्वकपले औपनिवेशिक मिथकहरू

Read Time : > 2 मिनेट
लार्बी सदिकी
२०७९ मङ्सिर ६ मंगलबार ०७:३३:००

देश/विदेश

पूर्वऔपनिवेशिक शक्तिहरूको नक्कल गर्नुको सट्टा कतार विश्वकपले अरब र मुस्लिम संस्कृतिप्रति कायम पूर्वाग्रही सोचलाई भत्काउन मद्दत गर्न सक्छ

आइतबार विश्वकप सुरु भएसँगै कतार संसारको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता आयोजना गर्ने सबैभन्दा सानो देश बनेको छ । कतारको कूटनीतिक ‘सफ्ट पावर’ र ‘स्मार्ट पावर’को समय–समयमा बहस हुने गर्छ, तर विश्वकपलाई अन्तर्राष्ट्रिय सम्बन्धको चस्माबाट मात्र हेर्नु उपयुक्त हुँदैन । एडवर्ड सइद र गायत्री स्पिभाकजस्ता उत्तर–औपनिवेशिक विद्वान्का अनुसार युरोप–अमेरिकी कल्पनाले लामो समयदेखि ‘राम्रो’ के भन्नेदेखि पूर्वलाई ‘अन्य’का रूपमा कसरी प्रतिनिधित्व गर्ने भनेर निर्धारण गर्दै आएको छ । 

विश्वकपले यस कथ्यलाई बदल्ने मौका प्रदान गरेको छ । विश्वकपको २२औँ संस्करणको आयोजक राष्ट्र बनेदेखि कतारले उसको पेट्रोलियम स्रोतबाट प्राप्त आम्दानीलाई देशको पूर्वाधार– विशेष गरी सडक, यातायात र प्रविधिको आधुनिकीकरणमा प्रयोग गर्‍यो । पूर्वाधारमा भएका यी लगानी विश्वव्यापी प्रदर्शनमा आफूलाई अब्बल देखाउन प्रयोग गरिएको थियो । हुन त विश्वकपअघिदेखि नै त्यस्तै दोहा पनि मोती बिक्री गर्ने एक गाउँबाट स्मार्ट सहर तथा विश्वभरबाट आएका प्रवासी समुदायको घरका रूपमा द्रूत गतिमा आधुनिकीकरण भइरहेको थियो । फुटबलले वैश्विक एकताको भावनालाई उत्प्रेरित गर्ने विश्वास गरिन्छ । तर, सो खेलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजक बनेदेखि पश्चिममा कतारलाई भने एक्लो बनाउने प्रयास सुरु भयो । पश्चिममा कतारविरुद्ध यसअघि कुनै आयोजकविरुद्ध नदेखिएको स्तरको व्यवस्थित, निरन्तर र नश्लीय पूर्वाग्रहपूर्ण अभियान चल्यो । यसलाई कसरी व्याख्या गर्ने ? 

विषम मौसम भएको सानो मुलुक स्विट्जरल्यान्डले सन् १९५४ मा विश्वकप आयोजना गर्दा कतारको जस्तो आलोचना भएको थिएन । त्यस्तै, अमेरिकाले सन् १९९४ को विश्वकप फाइनल आयोजना गरेको लस एन्जल्स क्षेत्रमा दुई वर्षअघि मात्र दशकपछिको सबैभन्दा खराब नश्लीय दंगा भएको थियो । तर, अमेरिकाविरुद्ध अहिले कतारविरुद्ध उठेजस्तो विरोध उठेन । मुसोलिनीको फासिवादी शासन र अर्जेन्टिनाको क्रूर सैनिक सरकारले पनि विश्वकप आयोजना गर्दासमेत त्यति ठूलो विरोध भएन । त्यस्तै, ब्राजिलले सन् २०१४ मा फुटबल आयोजना गर्दा उसको गरिब बस्ती ‘फाभेला’मा लुकाउने पूर्वाधार बनाउँदा पनि कसैले केही भनेन । न त समलिंगीविरोधी भावना बढिरहेको समयमा रुसमा भएको खेल गराउने विषयमै कतारविरुद्धजस्तो विषवमन भयो । 

उल्लिखित मुलुकले जे गरे पनि तिनलाई वैध आयोजकका रूपमा हेरिएको थियो । किनभने, कुनै न कुनै रूपमा फुटबलमाथि तिनको हक लाग्ने सोचिएको थियो र अझै सोचिन्छ । तर, जसै कतार विश्वकप आयोजक बन्यो, उसविरुद्ध घृणा अभियान सुरु भयो । अन्य अरब, एसियाली, अफ्रिकी र दक्षिण तथा मध्य–अमेरिकी राष्ट्रहरूमा जस्तै कतारमा पनि फुटबल खेल्ने चलन औपनिवेशिक शासकहरूले नै ल्याएका थिए । सन् १९१६ देखि सन् १९७१ बीच बेलायतको संरक्षित राज्य हुँदा यहाँ फुटबल खेल्न थालियो । फुटबलको विकाससँगै कतारमा खाडी क्षेत्रको पहिलो घाँसे मैदानयुक्त दोहा रंगशाला बन्यो । सन् १९६० को दशकसम्म देशमा लिग प्रतियोगिता सुरु भइसकेको थियो । विडम्बना नै भन्नुपर्छ, उत्तर औपनिवेशिक अध्ययनहरूले फुटबलबारेमा धेरै भन्दैनन् । जब कि पूर्वउपनिवेश मुलुकका गरिब बस्तीहरूमा पेलेदेखि किंग्स्टनजस्ता स्टार उत्पादन भए । 

फुटबल विश्वकप आयोजना पूर्वऔपनिवेशिक शक्तिहरूको सांस्कृतिक नक्कलको नयाँ स्वरूप मात्र हुनु हुँदैन । पश्चिममा फुटबलभित्र अझै नस्लवाद व्याप्त छ । ब्राजिलियन खेलाडी रिचार्लिसनलाई भर्खरै पेरिसमा मैत्रीपूर्ण खेल भइरहँदा केरा फ्याँकिनु यही नश्लवादको एक उदाहरण हो । विश्वकपको कतार संस्करणले फुटबलको वैश्विक अनुभवलाई समृद्ध बनाउँदै अरब र मुस्लिम समाजविरुद्ध कायम पूर्वाग्रही सोचलाई धक्का दिन सक्छ । 

कतार विश्वकपमा रक्सीविहीन रंगशालाले एक उदाहरण स्थापित गर्न सक्छ । यसले रक्सीप्रेरित हिंसा, जातिवादी गाली र युरोपेली फुटबल मैदानमा देखिने गालीगलोजका कारण रंगशाला जान डराउनेहरूलाई राहत दिनेछ । कतारमा फुटबल फ्यानहरूले यस खेलको आनन्द लिने वैकल्पिक तरिका अनुभव गर्नेछन् । त्यसअतिरिक्त कतारमा आउने पश्चिमी फ्यानहरूको मनमा कायम ‘मुस्लिमहरू धर्मान्ध’ हुन्छन् भन्ने विश्वासमा प्रश्न उठ्न सक्छ । तिनले कतारमा अभ्यासमा रहेको बहुसांस्कृतिकतासँग साक्षात्कार गर्ने मौका पाउनेछन् । 

पश्चिममा मुस्लिम विश्व र फुटबल दुवैलाई हेर्ने दृष्टिकोणको वैकल्पिक कथ्य प्रस्तुत गरेर यो विश्वकपले खेलको भाष्यलाई ‘औपनिवेशिक प्रभाव हटाउन’ मद्दत गर्न सक्छ । ‘युरोपियन फुटबल’ सेतो छैन र ‘अफ्रिकी’ वा ‘अरब’ फुटबल जातीय हुँदैन । तथ्य यो भए पनि यी बिल्ला प्रभावशाली जातिले विभिन्न क्षेत्रको फुटबललाई जनाउन प्रयोग गर्छ । फिफा विश्वकप नयाँ आधुनिकताका लागि साझा स्थान हुनुपर्छ, जुन श्वेत वा औपनिवेशिक हुनुहुँदैन । यो यस्तो आधुनिकता हुनुपर्छ, जसले एसियाली, अफ्रिकी, आदिवासी र ल्याटिनहरूसँगको सहिष्णुतालाई महŒव देओस् । विश्वव्यापी शोषितहरूविरुद्ध थोपरिएका पूर्वाग्रहलाई चुनौती देओस् । कतार विश्वकपमार्फत यस ‘सुन्दर खेल’ले हाम्रो बहुसांस्कृतिक संसारमा उपनिवेशवादी प्रवृत्ति र सांस्कृतिक उच्चता भाव हटाउन मद्दत गर्न सक्छ ।

(सदिकी ‘मिडल इस्ट काउन्सिल अन ग्लोबल एफेयर्स’का प्राध्यापक हुन्)
अल जजिराबाट